झापा।
गएको बुधवार मोडलिङका लागि भन्दै काठमाडौंबाट विराटनगर पु¥याइएकी एक २२ वर्षीया युवतीलाई ‘तान्त्रिक पूजा’ गराउने तयारी गर्ने सात जनालाई प्रहरीले पक्राउ ग¥यो ।
सो घटनाले मानव बेचबिखनको एउटा नयाँ डरलाग्दो पाटो उजागर गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले युवती खोज्दा राखिएका शर्तहरू र पक्राउ परेकासँग भेटिएका पूजा सामग्रीहरू हेर्दा मोडलिङका नाममा ती युवतीलाई तान्त्रिक काममा दुरूपयोग गर्ने गरी भारत लैजान लागेको देखिने बताए ।
छ फिटको मोडल
मंसीर २९ गते एकजना चिनेको दिदीमार्फत् एउटा सांस्कृतिक कार्यक्रमको लागि छ फिट उचाइ भएका १० जना मोडल चाहिएको जानकारी आयो । मेरो उचाइ पाँच फिट ११ इञ्च भएकोले मेरो भिडिओ रेकर्ड गरेर लैजानु भयो ।
त्यसको चार दिनपछि अर्को एक व्यक्तिको फोन आयो ।
उसले भन्यो– कोटेश्वरमा एउटा कार्यक्रम हुन लागेको छ । भारत र कोरियाबाट मानिसहरू आउँदै छन् । कार्यक्रमको लागि छ फिटको मोडलहरू चाहिएको छ । तीनजना मलाई भेट्न आए । उनीहरूले मेरो उचाइ नाप्दै गरेको भिडिओ बनाए । पाँच फिट ११ इञ्च मात्र देखियो । तीमध्ये एकले भन्यो– अलिकति हिल भएको जुत्ता पनि लगाउनुपर्छ, समस्या हुँदैन ।
५० हजार पारिश्रमिक
त्यसको दुई दिनपछि मलाई फेरि फोन आयो । म छनोट भएछु । मेरो पारिश्रमिक २० हजार भनिएको थियो तर ५० हजारसम्म मिलाइ दिने वाचा गरे । २० हजारबाट एकैपटक ५० हजार रूपैयाँ दिने कुराले मलाई अचम्म लाग्यो ।
मलाई राम्ररी थाहा थियो कि एक ¥याम्प मोडलले एक दिनको पारिश्रमिक १०देखि १२ हजार मात्र पाउँछन् । अनि फेरि सोचेँ विदेशबाट प्रायोजन भएकोले राम्रै पैसा दिन लागेका होलान् । मैले कार्यक्रमको फर्मयाट र मैले लगाउने लुगाको फोटो सबै पठाउन भनेँ । तिनीहरू अभिमुखीकरण कक्षाका लागि बोलाउँछौँ भनेर बिदा भए । तर, कार्यक्रम कहिले हुने भन्नेबारे मलाइ केही जानकारी दिएनन् ।
पूजा जोडियो
उक्त सांस्कृतिक कार्यक्रममा पूजा पनि हुने भयो भनेर मलाई पुस ५ गते फोन आयो । मैले पहिले पनि एउटा सांस्कृतिक कार्यक्रम गरिसकेकी थिएँ, तर त्यस्तो पूजापाठ केही भएको थिएन । अनि फेरि सोचेँ विदेशीहरूले नेपालको पूजा हेर्न मन गरेका होलान् । मैले बारम्बार कार्यक्रमको ढाँचा मागिरहेकी थिएँ तर जानकारी केही पनि पाएकी थिइनँ ।
महिनावारीबारे चासो
पूजा हुने कुरा भए लगत्तै मेरो महिनावारी भएको छ कि छैन भनेर सोधियो । मलाई निकै अचम्म लाग्यो । स्थिति सामान्य लागेन ।
कार्यक्रममा पूजा पनि हुने भएकाले मेरो महिनावारी भइरहेको भए कार्यक्रम नै सार्नुपर्ने हुन्छ पो भन्छन् । म त पूरै अलमलिएँ । त्यो व्यक्तिलाई सिधै भनेँ– सांस्कृतिक कार्यक्रमको लागि मेरो महिनावारीको बारे सोधिराख्नु जरूरी छैन । उसले पूजा हुने भएकाले महिनावारी भए चल्दैन भन्यो । मैलै महिनावारी सकिएको कुरा बताएँ ।
डर र शंका
फोन राखेपछि मनमा अनेकौँ विचार खेलिरहे। मलाई छट्पटी भयो । मैले सुरक्षित महशुस गरिनँ । पाँच वर्ष मैले मोडलिङ क्षेत्रमा काम गरिसकेको थिएँ । तर मलाई यस्ता प्रश्नहरू पहिले कसैले सोधेका थिएनन् । मैले तुरुन्तै दाइलाई फोन गरेर सबै कुरा बताएँ । दाइ पनि अचम्मित हुनुभयो । उहाँले ‘राम्ररी बुझ्’ भन्नुभयो ।
कार्यक्रम विराटनगर स¥यो
कार्यक्रमको ढाँचा माग्न मैले त्यो व्यक्तिलाई फोन गरेँ । उसले कार्यक्रम काठमाडौं कि विराटनगरमा हुने बतायो । ‘कार्यक्रममा तपाईँ एक्लै मोडल हो’ समेत भन्यो । त्यसलगत्तै निकै सहजतापूर्वक अर्को प्रश्न सोधियो– तपाईँ मासु र रक्सी खानुहुन्छ ? तैपनि मैले सोचेँ कि विदेशी पाहुनाहरूले मोडलहरूले रक्सी खाएको मन पराउँदैनन् होला । मैले म राम्ररी काम गर्छु र ‘कार्यक्रमको दिन केही खाँदिन, चिन्ता नगर्नुस्’ भनेँ।
प्रहरीलाई खबर
भोलिपल्ट मैले दाइलाई सबै कुरा भनेँ । दाइलाई पनि ती सबै कुरा साह्रै अनौठो लाग्यो र उहाँले मलाई प्रहरीसँग सल्लाह गर्ने सुझाव दिनुभयो । म टेकू गएँ र प्रहरी अधिकारी उत्तम सुवेदीलाई भेटेर सबै कुरा बताएँ । मेरा कुरा सुनेर प्रहरी समेत चकित् भए । उहाँले एकमात्र सुझाव दिनुभयो– अझै बढी बुझ्नस् ।
स्टेजमा पूजा
त्यसपछि दुई महिलासँग भेट भयो । उनले भने– तपाईँलाई रातो साडी लगाइ दिएर लक्ष्मीमाता जस्तै बनाइन्छ । २५ तोलासम्मको सुनको गहना लगाइदिन्छ । उनीहरूले बिराटनगरमा पूजाको लागि एउटा ठूलो भवन भएको र एकजना गुरूले पूजा गरेर भिडिओ बनाउने बताए ।
मैले सुनिरहेँ । मैले पारिश्रमिकको कुरा गरेँ । ३० हजारमा सहमति भयो । कागज नगरी काम नगर्ने अडान राखेपछि उनीहरूले भोलिपल्ट २६ हजार पैसा दिए र कागज गरे । त्यो कागजमा कम्पनीको नाम थिएन ।
विमानस्थलमा कालो धागो
त्यही दिन एक नयाँ व्यक्तिले फोन ग¥यो र त्यसै दिन विराटनगर जानुपर्ने बतायो । त्यही दिन कसरी जानु ? म मानिनँ । भोलिपल्टको बुद्ध एअरको बिहान १०ः३०को उडानको टिकट काटिदिए र मेरो साथमा एक सहयात्री पठाइदिए । ती महिलाले विमानस्थलमा मलाई पूजाको लागि चाहिने भन्दै देब्रे खुट्टामा पाँच फन्को कालो धागो बाँधिदिइन् । फ्लाइट ढिला भएका कारण हामी दिउँसो १२ः३० मा विराटनगर पुग्यौँ ।
‘मासु खान दिएनन्’
त्यहाँ गाडी लिन आउन ढिला भयो । विराटनगरको विमानस्थलमा नै ३० मिनेट कुर्नु प¥यो । गाडी कुरिरहँदा दुई जना व्यक्तिले मलाई निगरानी गरिरहेको चाल पाएँ तर थाह नपाएजस्तो गरि बसेँ ।
मैले कालो चश्मा लगाएकी थिएँ । म शौचालय जाँदा पनि उनीहरूले पछ्याइरहेका थिए । भोक लागेपछि विमानस्थलको रेष्टुराँमा चाउमिन खान गएँ तर मसँगै आएकी महिलाले मलाई आज पूजा गर्नुपर्ने भन्दै मासु खान दिइनन् ।
डरको यात्रा
मैले दाइलाई मेसेजबाट सबै सूचना दिइरहेकी थिएँ । मलाई निकै डर पनि लागिरहेको थियो । निकै असजिलो पनि भइरहेको थियो । दाइले मलाई केही नहुने विश्वास दिलाइ रहनुभएको थियो ।
विमानस्थलबाट ४५ मिनेट गाडीमा यात्रा गरियो र कृष्ण मन्दिरको अगाडि एउटा चिया पसलमा खाजा खान रोकियौँ । खाजा खाने निहुँमा त्यहाँ एक घण्टाभन्दा बढी अल्झाइयो । कार्यक्रम आज नै हुने हैन भनेर सोध्दा एक व्यक्तिले भन्यो– ४५ मिनेटको मात्र कार्यक्रम हो, नआत्तिनुस् ।
धर्मशालामा लगियो
काली मन्दिर नजिकैको धर्मशालाको एउटा कोठामा मलाई राखियो । पूजाको लागि चाहिने सामान र गहना किन्न सीमापारी जोगबनी जानुपर्ने भन्दै मलाई त्यो होटलमा केहीबेर आराम गर्न भनियो ।
रात पर्न लागिसकेको थियो । मलाई निकै छट्पटी भइरहेको थियो र टाउको पनि दुखिरहेको थियो । आराम गर्ने क्रममा मसँगै गएकी सहयात्रीले फेरि एकपटक मेरो उचाइ नाप्न अनुरोध गरिन् । छ फिट नपुगे कार्यक्रम रद्द हुने भन्दै ती महिला अत्तालिइन् । ती महिलाले मलाई मोजाभित्र काठको टुक्रा राख्न लगाई उचाइ नापिन् । उनी फोनमा अनेक भाषामा कुरा गरिरहेकी थिइन् ।
प्रहरीको आगमन
कोठामा कसैले ढक्ढक ग¥यो । ढोका खोल्दा प्रहरी रहेछ । प्रहरीले मलाई पछ्याउने मानिसहरू सबैलाई समातिसकेको रहेछ । अनि मैले आनन्दको सास फेरेँ । मलाई प्रहरी सुरक्षामा नै राखियो र भोलिपल्ट काठमाडौं फर्काइयो ।
सजग रहनुपर्ने रहेछ
हामी महिला हरपल असुरक्षित हुने रहेछौँ । त्यसैले हामी निकै सजग हुनुपर्ने रहेछ । आर्थिक प्रलोभनमा परेर मैले मेरो परिवारमा केही पनि जानकारी नदिएको भए आज म विराटनगरबाट फर्किन्न थिएँ होला ।
आफूले कुनै अप्ठेरो स्थिति भोगेमा प्रहरीसँग सहयोग लिन हामी महिलाहरूले सक्नुपर्छ । कुनै पनि काम गर्दा हामीले परिवारजनलाई खबर गरिरहनु पर्ने रहेछ । मैले दाइलाई बेलैमा खबर नगरेको भए के हुथ्यो होला ? (बीबीसी न्यूज नेपालीका लागि सृजना श्रेष्ठले गरेको कुराकानीमा आधारित)