कर्णालीको सामाजिक काममा ६१ लाख

0
754

बिर्तामोड।

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको स्वास्थ्य उपचारको लागि २६ लाख ५० हजार तीन सय २५ रुपैयाँ खर्च गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सहकारीले बिरामी सदस्यको उपचारका लागि उक्त रकम खर्च गरेको अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिए । संस्थामा रहेका सदस्यलाई सहज रुपमा उपचार गर्न सकियोस् भन्ने उद्देश्यले सहकारीले पाँच करोड रुपैयाँको कोष स्थापना गर्न लागेको र जसबाट सदस्यको उपचार गर्ने कार्यको थालनी गरेको श्रेष्ठले बताए । कोषमा अहिले दुई करोड ५७ लाख रुपैयाँ रहेको बताइएको छ ।

सहकारीले स्थापना गरेको उपचार कोषको रकम पाँच करोड पुगेपछि बिरामी सदस्यको उपचारका लागि १० लाख रुपैयाँसम्म सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । अहिले आफ्ना शेयर सदस्य बिरामी भएको खण्डमा ओपीडी बाहेकको उपचार खर्चमा ४०प्रतिशत रकम प्रदान गर्दै आएको सचिव भूपाल बस्नेतले जानकारी दिए । सहकारीले आफ्ना सदस्यको मृत्यु हुँदा र सदस्यको परिवारमा मृत्युका घटना भएको खण्डमा समेत राहत सुविधा प्रदान गर्दै आएको छ । जसमा सहकारीले ९ लाख ३८ हजार रुपैयाँ शेयर सदस्य र सदस्यको परिवारको मृत्यु हुँदा मानो चामल शीर्षकमा सो रकम खर्च गरेको छ ।

त्यस्तै सुत्केरी सुविधाका लागि एक लाख ६६ हजार रुपैयाँ सहकारीले वितरण गरेको छ । सदस्यको मृत्यु हुँदा समेत सहकारीले सदस्यले लिएको ऋण मिनाह गर्दै आएको छ । २३ लाख ४७ हजार ८ सय १६ रुपैयाँ सदस्यले लिएको ऋण मिनाहा गर्दै सहकारीका सदस्यलाई मृत्युपछि ऋण मुक्त र परिवारलाई राहत पु¥याउने अभियान सञ्चालन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । सहकारीमा आवद्ध कर्मचारीको एक दिनको तलबले अर्जुनधारामा रहेको अपाङ्ग तथा अनाथ बालबालिकाका लागि ५० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको बताइएको छ ।

सहकारीमा आवद्ध सदस्यलाई तत्काल उपचारका लागि दुई लाख रुपैयाँसम्म कर्जाको व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताए । विपद् व्यवस्थापनमा सरल कर्जा र सहयोगको व्यवस्था गर्दै सोका लागि समेत दुई लाख कर्जा तत्काल सहकारीले उपलब्ध गराउने नीति अवलम्बन गरेको बताइएको छ ।

सदस्यको मृत्यु हुँदा वा सदस्यको परिवारको मृत्यु भएको खण्डमा एकाघरभित्र पाँच हजारदेखि ४० हजारसम्म राहत उपलब्ध गराउँदै आएको बताइएको छ । त्यस्तै सुत्केरी हुँदा दुई हजारदेखि ६ हजारसम्म उपलब्ध गराउँदै आएको र नवजात शिशुको तत्काल एक हजार रुपैयाँको खाता खोल्न बालबचत निःशुल्क खाता सञ्चालन अभियान शुरु गरेको बताइएको छ ।

सहकारीमा आवद्ध सदस्यका छोराछोरीलाई अध्ययनका लागि एसईई उत्तीर्ण भई कुनै पनि प्राविधिक शिक्षा अध्ययन गर्ने चार जना र १०+२ उत्तीर्ण गरी पहिलो बर्ष जुनसुकै विषय अध्ययन गर्ने चार जना विद्यार्थी गरी आठ जनालाई प्रत्येक बर्ष पचास हजारका दरले छात्रबृत्ति वितरण गर्दै आएको जनाइएको छ ।

सहकारीले स्वास्थ्य सेवाका लागि छुट्टै अस्पताल खोल्ने अवधारणा समेत अघि सारेको सहकारीका सचिव बस्नेतले बताए । उनले भने– प्रत्येक शेयर सदस्यबाट एक÷एक लाख रुपैयाँ शेयर रकम लिएर बिर्तामोडमा सुविधासम्पन्न अस्पताल खोल्ने योजना अघि सारेका छौं ।

जसका लागि संस्थाको १९औं साधारणसभामा छलफल हुन्छ– उनले भने– यो अस्पताल वीएण्डसीपछिकै ठूलो अस्पताल हुनेछ । अस्पतालमा उपचारका लागि आएका सबै सेवाग्राहीलाई सहज र शुलभ मूल्यमै औषधोपचार गरिनेछ ।

१८ वटा सेवाकेन्द्रमार्फत २९ हजार एक सय ९३ सदस्यमा सेवा विस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले सदस्यता बिस्तारमा भन्दा उत्पादनमुखी लगानीमा जोड दिएको छ ।

सरकारले आर्थिक बर्ष २०७७ कात्तिकदेखि कोकोमिस सफ्टवेयरमार्फत ‘एक व्यक्ति एक सहकारी नीति’ लागू गर्ने भएपछि सदस्यता विस्तारलाई कडाइ गर्दै भएका सदस्यको सुरक्षाका लागि व्यवसायिक तथा वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखेको अध्यक्ष प्रधानले बताए ।

सहकारीको १९औं साधारणसभाको तयारीबारे जानकारी दिन विर्तामोडमा शनिबार आयोजित पत्रकार भेटघाटमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रधानले सदस्यहरुको सामाजिक सुरक्षा, ऋण लगानीमा सहजता, ऋण प्रवाहमार्फत सदस्यलाई उद्यमशील र स्वरोजगार बनाउने बताउँदै वित्तीय साक्षरता कार्यक्रममा सदस्यहरुलाई संस्था रोज्न आह्वान गरिएको जानकारी दिए ।

कर्णाली साकोसले आगामी आर्थिक बर्षमा इलाम र मोरङसहित दुई जिल्लामा कार्यक्षेत्र विस्तार र ३५ हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ । अध्यक्ष प्रधानका अनुसार हाल संस्थामा ६५.६३ प्रतिशत महिला र ३४.३७ प्रतिशत पुरुष सदस्य रहेका छन् ।

सदस्य तथा सेवाकेन्द्रमार्फत संस्थागत उत्पादनतर्फ सहुलियत व्याजदरमा ऋण प्रवाह गरेर सदस्यहरुको हातमा सिप, घरघरमा व्यवसाय र रोजगारसहित समृद्ध सदस्य बनाउने लक्ष्य लिएको बताउँदै सचिव बस्नेतले शेयर सदस्यहरुको सामाजिक सुरक्षाका लागि उपचार, कर्जा सुरक्षण, उपचारमा सरल कर्जा प्रवाह, विपद् व्यवस्थापनमा सरल कर्जा र सहयोग, सदस्यको मृत्युमा राहत, सुत्केरी सुविधा, छात्रबृत्तिको व्यवस्था, ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

गत आ.ब.मा २६ करोड, ६८ लाख ३२ हजार २४ रुपैयाँ आम्दानी गरेको संस्थाले २१ करोड ६३ लाख ११ हजार ५ सय ६५ रुपैयाँ खर्च गरी ५ करोड ५ लाख २० हजार ४ सय ५९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सामुहिक उद्यमशिलतालाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्ने जानकारी दिए ।

अध्यक्षमा पुनः टसबहादुर

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः टसबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

संस्थाको १९औं बार्षिक साधारणसभा अगावै उनीसहित उपाध्यक्षमा ईश्वरीप्रसाद खरेल र सचिवमा भूपाल बस्नेत चयन भएका हुन् । सहकारीको स्थानीय साधारणसभाको कोषाध्यक्षमा एकराज विष्ट, सदस्यहरुमा गणेशप्रसाद पराजुली, जानुकादेवी ओली, कुमारीदेवी खड्का, गुञ्जन थापा र निर्मला पाठक लुइँटेल चयन भएका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रामकुमार गौतम र सदस्यमा मनकुमार वेघा, निलम प्रधान चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here