बिर्तामोड।
महाभारतकालीन इतिहास बोकेको झापाको वाह्रदशी–६स्थित साधुकुटीको बेग्लै महत्व छ । त्यसमाथि पनि १९९३ सालमा तहशील ठाना र बजारको व्यवस्था हुँदा त्यस ठाउँको विकास हुने निश्चित थियो ।
तर, २००७ सालको क्रान्तिपछि सरकारी कार्यालय र अड्डा झापा सार भएपछि यो ठाउँमा मिश्री नामका साधुको बसोबास रहेको भनाइ छ । बाह्रदशी अर्थात् कञ्चनगढ–साधुकुटी ऐतिहासिकस्थलसँगै शिवजीको वासस्थान मानिन्छ । यहाँ अहिले पनि भगवान शिवसहित विभिन्न देवीदेवताका मठमन्दिर छन् । २०३२ सालमा सट्टाभर्नाबाट यहाँ बसोवास गराइएपछि त्यहाँ बसोबास गर्ने साधु पलायन भएको बताइन्छ ।
जिल्लाकै पुरानो ठाना भएको यो ठाउँमा साप्ताहिक रुपमा हाट लाग्दै आएको जानकारहरु बताउँछन् । जंगलको बीचमा हाट लाग्ने गरेका कारण यस ठाउँमा असुरक्षा बढेको र २०१५ सालमा भिषण आगलागी भएपछि यहाँको हाट डाँगीवारी सारिएको स्थानीयवासी दलवहादुर राजवंशी बताउँछन् । जमिन्दार हंशनारायण राजवंशी ‘चौधरी’ले दुई विगाह जमिन प्रदान गरेपछि बाह्रदशी डाँडामा लाग्दै आएको साप्ताहिक हाट डाँगीवारी सारिएको हो । चौधरीले श्रीमती विमलादेवीको नामबाट विद्यालय स्थापना गर्न र बजारलाई जमिन प्रदान गरेका थिए ।
विद्यालयको स्वामित्वमा रहने गरी जमिन प्रदान गरेसंगै त्यहाँ २०१५ सालबाट बजार लाग्न शुरु भएको हो । राजवंशी समुदायको बाहुल्य रहेको डाँगीवारीमा अहिले पनि निरन्तर आइतबार हाट लाग्दै आएको छ । खसीबाख्रा बजारका रुपमा जिल्लामै कहलिएको डाँगीवारीको विकासका लागि धेरै पहल गरिए पनि अहिलेसम्म त्यस ठाउँको विकास हुन सकेको छैन । त्यसको कारण हो विरीङ नदी ।
हरेक वर्ष वर्षादको समयमा डुवान र कटानको उच्च जोखिममा पर्ने गरेको डाँगाीवारी बजार जिल्लाकै पुरानो मध्येको एक भए पनि हालसम्म यसले काँचुली फेर्न सकेको छैन । पूर्वपश्चिम महेन्द्र राजमार्गको लक्ष्मीपुरबाट सात किलोमिटर मात्र दक्षिण रहेको यस ठाउँको विकासका लागि यसअघिका सरकारको समेत आँखा नपुगेको राजवंशी बताउँछन् । पछिल्लो समय विरीङ नदी नियन्त्रणसँगै यहाँको विकासका लागि स्थानीय युवा र स्थानीय सरकार जुटेको छ । विरीङ नदीमा स्थायी तटवन्ध गरिएपछि गतवर्षबाट यहाँ डुवान र कटानको समस्या हल भएको छ । यस अघिका वर्षमा विरीङ खोलामा आएको वाढीले सयौं परिपरिवारलाई घरवारविहीन बनाउँदै विस्थापित गरेको राजवंशी बताउँछन् ।
बजारसंगै रहेको छ दुर्गा मन्दिर । २०२० सालमा स्थानीयकै अगुवाइमा निर्माण गरिएको यो मन्दिर आफैंमा ऐतिहासिक छ । जसका कारण बजारको बीचमा रहेको यो मन्दिरलाई अहिले व्यवस्थित गर्न पहल गरिँदैछ । विकासको दृष्टिले समेत पछि परेको यो ठाउँमा देवी दुर्गाको मन्दिर निर्माण गर्दै सामुदायिक भवन बनाउने लक्ष्य लिइएको स्थानीय देवेन्द्र चम्लागाँईले बताए । एक करोड २० लाख रुपैयाँको लागतमा मन्दिरसँगै सामुदायिक भवन निर्माण गरिने बताइएको छ ।
विभिन्न जातजातिको बसोबास रहेको यस ठाउँको विकासका लागि सवै एक जुट हुने र सामुदायिक भवन निर्माण गर्दै यहाँका हरेक गतिविधिलाई सामाजिकीकरण गरिने चम्लागाँईको भनाइ छ । डाँगीवारीवासीको मात्र नभई त्यस क्षेत्रका स्थानीयवासीको आस्थाको धरोहरका रुपमा रहेको नवदुर्गाको मन्दिर जीर्ण भएका कराण मन्दिर निर्माण गर्ने उद्देश्यसहित श्रीमद्भागवत महापुराणको समेत आयोजना गरिएको चम्लागाँईले बताए ।
महायज्ञबाट ५० लाखभन्दा बढी रकम संकलन गरेर डाँगीवारीको मुहार फेर्ने प्रयत्न रहन्छ– स्थानीय टोम राजवंशीले भने । राजवंशी समाज विकास समिति झापका पूर्व अध्यक्ष समेत रहेका राजवंशीले भने– डाँगीवारीले जिल्लामै छुट्टै महत्व राख्ने र यहाँका आदिवासीको मात्र नभई सवै जातिको आस्थाको केन्द्र भएका कारण पनि यहाँ महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञ सम्पन्न गर्न चम्लागाँईको अध्यक्षतामा २ सय ५१ सदस्यीय समिति गठन गरिएको राजवंशीले बताए । मन्दिरका अध्यक्ष समेत रहेका उनले भने– दुर्गा मन्दिर तीन स्टेपको हुनेछ । योसंगै दुई तले सामुदायिक भवन समेत निर्माण गरिनेछ । सभाहल सहितको सामुदायिक भवन यस ठाउँमा नभएकाले महत्वपूर्ण कार्यक्रम गर्दा यस ठाउँका स्थानीयवासी शहर केन्द्रीत हुनु परेको उनको भनाइ छ ।
महायज्ञ सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने समितिले अनुमान गरेको छ । महायज्ञका लागि वरिष्ठ उपाध्यक्षमा ईश्वरी प्रसाई उपाध्यक्षमा तारा कार्की राई र सचिवमा टीकाराम रोक्कालाई चयन गरिएको छ । त्यस्तै समितिको सहसचिवमा कृष्णप्रसाद भण्डारी र कोषाध्यक्षमा शोभा राजवंशीलाई चयन गरिएको छ ।
मन्दिर निर्माण समितिमा देवराज कार्की, आर्थिक समितिमा महेशकुमार झा, प्रचारप्रसार समितिमा देवराज कार्की, पूजा समितिमा तारा कार्की राई, स्वयम्सेवक समितिमा राजेन्द्र उप्रेती, मण्डप तथा पण्डाल समितिमा श्याम रिजाल, अर्थ व्यवस्थापनमा नारायण लम्साल र अतिथि सत्कार समितिमा लेखनाथ कटुवाललाई चयन गरिएको छ ।
माघ २ गतेबाट शुरु हुने महायज्ञमा पण्डित छन्दुराम भण्डारीले कथा वाचन गर्ने बताइएको छ । डाँगीवारीको विकासका लागि गाउँपालिकाले साथ दिने बाह्रदशी गाउँपालिका वडा नम्वर ७का अध्यक्ष मित्र भट्टराईले बताए । सवैको समन्वयमा डाँगीवारीको मुहार फेर्न लागीपर्ने उनको भनाइ छ ।































