भ्रमण वर्ष आजबाट

0
816

झापा।

अंग्रेजी नयाँ वर्ष २०२०संगै नेपाल भ्रमण बर्ष आजबाट प्ररम्भ भएको छ । सरकारले सन् २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन देशका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरेको छ ।

विभिन्न देशका मन्त्रीहरुको उपस्थितिमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरिने भएको छ । विश्वका अधिकांश देशमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ । भ्रमण वर्षलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरेर काम अघि बढाइएको छ ।

मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जनवरी १ तारिखमा भ्रमण वर्षको उद्घाटन गर्ने बताइएको छ । संघीय सरकारले तामझामका साथ भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरेसंगै प्रदेश सरकारले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गर्ने भएका छन् । सात प्रदेश मध्ये प्रदेश–१ पर्यटनको हिसाबले प्रशस्त सम्भावना बोकेको प्रदेशको रुपमा परिचित छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र नेपालकै होचो भू–भाग केचना प्रदेश–१मा नै परेका छन् ।

अधिकांश हिम श्रृंखलाहरु प्रदेश–१मा रहेका छन् । प्राकृतिक सौन्र्दयसंगै ऐतिहासिक तथा पौराणिक महत्वको बोकेका थुप्रै स्थान प्रदेश १मा रहेका छन् । प्रदेश १का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२०को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विराटनगरस्थित शहीद रङ्गशालामा भ्रमण वर्षको भव्य स्वागत गरिने बताइएको छ ।

प्रदेश नम्वर १ले पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको छ । ४५ लाख १ हजार ४ सय ४९ जनसंख्या रहेको यो प्रदेशमा होचो भू–भाग केचना समुद्री सतहदेखि ६० मिटर उचाइमा रहेको छ भने ८८४८ मिटर अग्लो विश्वको सर्वाेच्च शिखर सगरमाथा यही प्रदेशमा पर्छ । भौगोलिक बनावट र हावापानीले समेत विविधतापूर्ण यो प्रदेश धार्मिक, पर्यटकीय, औद्योगिक र व्यापारको हिसाबले पनि अब्बल छ । योसँगै यहाँ कृषि र जलस्रोतको समेत प्रचुर सम्भावना छ ।

एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ वटा गाउँपालिका गरी एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेश नम्वर १मा १४ जिल्ला छन् । नेपालको सबैभन्दा होचो भूभागको परिचय बनाएको केचनादेखि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगमका कारण झापा पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

७ वटा गाउँपालिका र ८ वटा नगरपालिका रहेको झापामा दोमुखा, अर्जुनधाराधाम, किच्चकबध, जामुनखाडी सिमसार क्षेत्र, केचना, बाँसबारी सिमसार क्षेत्र, सुखानी पार्क, सतासीधाम, बाह्रदशी, सालवारी प्रमुख पर्यटकीय क्षेत्र हुन् । १ हजार ६ सय वर्ग किमी क्षेत्रफल रहेको झापाको पूर्वमा मेची नदीले भारतको पश्चिम बंगालसँग छुट्याएको छ । जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ भने उत्तरमा इलाम र पश्चिममा मोरङ जिल्लाले झापाको सीमाना छुट्याएको छ ।

सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०२०’ को लक्ष्य भेट्न झापाका सबै स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यसैबीच संघीय सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष –२०२०’ अभियान घोषणा बुधवार बिहान साढे सात बजे नेपाल प्रवेशको पूर्वीद्वारबाट हुने भएको छ । मेचीनगर नगरपालिकाले आयोजना गरेको उद्घाटन समारोहमा मेचीनगर स्तरीय मेचीनगर पर्यटन विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी भ्रमण वर्षको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । नगर प्रमुख बिमल आचार्यले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सवै नगरवासीमा आग्रह गरेका छन् ।

मेचीनगर पर्यटन विकास समितिका संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन समारोहमा नेपालले भ्रमण वर्ष आयोजना गरिनुको उद्देश्यबारे प्रष्ट पार्नुका साथै काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने ५ जना पर्यटकलाई स्वागत तथा सम्मान गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइन् । त्यसपछि विभिन्न समुदायको कला, संस्कृति र रीतिरिवाज झल्किने गरी सीमान्तकृत, लोपोन्मुख र आदिवासी जनजातिका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । दिनभरिजसो नै सांस्कृतिक कार्यक्रम चल्ने बताइएको छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को पूर्वसन्ध्यामा नगरका महत्वपूर्ण बजारक्षेत्र काँकरभिट्टा, इँटाभट्टा, धुलावारी, धाइजन चारआलीलगायतको सरसफाई गरी बजार क्षेत्रलाई व्यवस्थित गरिएको छ । साथै नगरका महत्वपूर्ण केही धार्मिक एवम् पर्यटकीय क्षेत्रको तस्वीर तथा अडियो क्लिप प्रशारण हुनेछ । नगरपालिकाले नगरका धार्मिक एवम् पर्यटकीयस्थल अंकित होर्डिङ बोर्ड नगरका विभिन्न ठाउँमा राख्ने छ । नेपाल प्रवेशको पूर्वीद्वारमा रहेको हेल्प डेक्सको उचित व्यवस्थापनको तयारी नगरपालिकाले गरेको छ । नगरपालिकाले वर्षभरिनै यो अभियानलाई सफल बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना अघि सारेको समितिका सदस्य सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

यस्तै बुद्धशान्ति गाउँपालिकामा भ्रमण वर्षको स्वागत गर्दै पर्यटकीय क्षेत्रमा साइक्लिङ गरिने बताइएको छ । गाउँपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलमा साइक्लिङ गर्दै आफ्नो ठाउँको प्रचारप्रसार गरिने बताइएको छ । त्यस्तै अर्जुनधारा, बिर्तामोड, कनकाई, भद्रपुर, शिवसताक्षी, दमक, गौरादह नगरपालिका तथा हल्दिबारी, कचनकबल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको बताइएको छ ।

भ्रमण वर्षमा झापाका पर्यटकीय क्षेत्रको विकास प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्न आउन आग्रह गरिने जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here