भ्रमण वर्ष २०२० : बाँके निकुञ्ज मुख्य गन्तव्य

0
1157

बाँके,

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ ।

भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए ।

आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक आएको निकुञ्ज प्रशासनले जनाएको छ । यसमा १४८ जना आन्तरिक पर्यटक छन् । ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।

“बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ”, भट्टराईले भन्नुभयो, “कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।” पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि चासो बढेको उहाँले सुनाउनुभयो । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत व्यवस्था मिलाइएको छ ।

मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरीले बताउनुभयो । “यहाँ ससाना चुरे शृङ्खला छन्”, उहाँले भन्नुभयो, “दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।”

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास(होमस्टे) र निकुञ्जको महत्व बढ्दै गएको उहाँको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here