भ्रमण वर्षलाई स्वागत गर्न रातभर जाग्यो बागलुङ

0
806

गलकोट,

अरुबेला रातको ९ बजे सुनसान हुने बागलुङ बजार आज बिहान १ बजेसम्म जाग्यो । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० स्वागत गर्न बागलुङ रातभर जाग्राममै बस्यो ।

भ्रमण वर्षको सन्दर्भ पारेर यहाँ बागलुङ महोत्सव–२०७६ जारी छ । रातको १२ बजेदेखि शुरु हुने नयाँ वर्ष र भ्रमण वर्षलाई एकसाथ बागलुङवसीले भव्य स्वागत, नाचगान र भ्रमण वर्ष सफलताको कामनासमेत गरे । भ्रमण वर्षलाई सघाउँदैै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सव–२०७६ सञ्चालनमा छ ।

अङ्ग्रेजी नयाँ वर्षसँगै भ्रमण वर्षको शुरु हुने समयमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङले बागलुङ महोत्सवको आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२० सँगै शुरु हुन लागेको भ्रमण वर्षको स्वागतका लागि महोत्सवले विशेष कार्यक्रम नै आयोजना गरेको बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङका महासचिव नरेश कँडेलले बताउनुभयो ।

“हामीले भ्रमण वर्षका अवसरमा राष्ट्रिय कलाकारको प्रस्तुति, जीवित ब्याण्डको लाइभ डिजे प्रस्तुतीसँगै रातको ठिक १२ बजे आतसबाजी गरेर भ्रमण वर्षलाई स्वागत ग¥यौँ”, कँडेलले भन्नुभयो, “भ्रमण वर्षलाई न्यानो स्वागत गर्न हजारौँ दर्शक धवलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा आएका थिए ।”

भ्रमण वर्ष शुरु भएसँगै बागलुङ आउने पर्यटकलाई हेलिकप्टरद्वारा बागलुङका पर्यटकीय क्षेत्रको दृश्यावलोकन, प्याराग्लाइडिङको समेत व्यवस्था गरेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । महोत्सव अवधिमा प्रदर्शन हुने लाखेनाच, हनुमाननाच, सोरठीलगायतका कला संस्कृतिले बागलुङमा भित्रिने पर्यटकलाई आकर्षित गर्नेछन् ।

अङ्ग्रेजी नयाँ वर्षका दिन पुस १६ गते बागलुङ भित्रिने आगन्तुक पाहुनालाई बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गामा फूलमालाले स्वागत गर्ने कार्यक्रमसमेत रहेको राजभण्डारीले बताउनुभयो । महोत्सव तथा नयाँ वर्षको अवसरमा बागलुङ बजारमा आन्तरिक पर्यटकले भरिभराउ भएको छ भने व्यापार तथा व्यावसायमा समेत वृद्धि भएको छ ।

बागलुङमा रहेका अधिंकाश सुविधासम्पन्न होटल भरिभराउ हुन थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । भ्रमण वर्ष मनाउनका लागि मुस्ताङ हिँडेका पर्यटकसमेत महोत्सवका कारण बागलुङ आउन थालेका हुन् । यस्तै बागलुङ बजार नजिकै रहेको भूमिगत शालग्राम सङ्ग्रहालय, पञ्चकोट, कालिका भगवती मन्दिरमा समेत धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

महोत्सव पुस २० गतेसम्म चल्नेछ । भ्रमण वर्षको शुरुआतका अवसरमा आयोजना गरिएको महोत्सवले पर्यटन क्षेत्रको विकासका लागि ठूलो योगदान दिने पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here