बिर्तामोड ।

नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजश्व विभागको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको व्यवस्थापनमा दुई दिवसिय आय कर तथा मुल्य अभिबृद्घि कर सम्बन्धी तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।
मुल्य अभिबृद्घि करमा दर्ता भएका व्यवसायी तथा ५० लाख रुपैयाँ भन्दा बढी कारोवार भएका करदातालाई लक्षित गर्दै आय कर तथा मुल्य अभिबृद्घि कर सम्बन्धी जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरेको बताइएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक खतिवडाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको अनुरोधमा महिला शशक्तिकरण अभियान लगायतका कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्ने आश्वासन दिएका थिए ।
कार्यक्रमको सहजीकरण चाटर्ड एकाउण्टेन्ट ज्ञानेन्द्रबहादुर भारी र दिलमान चन्दले गरेका थिए । उनीहरुले सहभागीहरुलाई आय कर तथा मुल्य अभिबृद्घि कर सम्वन्धी ऐन ,कानून , कर तिर्दाका फाइदा वेफाइदा लगायतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा आन्तरिक राजश्व विभागका हितेश बस्नेतले सरकारले लागू गरेको भिसिटीएस प्रणाली सम्वन्धी जानकारी गराएका थिए । त्यस्तै आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख युवराज श्रेष्ठले व्यवसायीलाई कर तिर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक विष्णु ढकालले साना तथा मझौला व्यवसायीहरुलाई आय कर तथा मुल्य अभिबृद्घि कर सम्वन्धी जानकारी गराउने उद्धेश्यले मेचीदेखि महाकालीसम्म तालिमको आयोजना गरेको बताए ।
तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।































