बिर्तामोडमा अब १० रुपैंयामा शाकाहारी खाना

0
749

तुलसीप्रसाद निरौला / बिर्तामोड ।

तपाईं एक छाक खाना खाएको कति रुपैयाँ तिर्नुहुन्छ ? एक सय ५० रुपैयाँ वा त्यो भन्दा बढी तिर्नुहुन्छ होला । अझ १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

अव तपार्इंले अचम्म मान्नु पर्दैन किनकी झापाको बिर्तामोडमा बिहीबारबाट १० रुपैयाँमा तपाईंले पेटभरि खाना खान पाउनुहुन्छ । बिर्तामोडका युवा व्यवसायीहरु प्रविन अग्रवाल, मनोज अग्रवाल, पुरुषोत्तम अग्रवाललगायतले बिर्तामोडको खड्का कम्पलेक्सछेउमा १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खानाको व्यवस्था गरेका हुन् ।

‘सेवा नै धर्म हो’ भन्ने उद्धेश्यले बिहीबारबाट प्रत्येक दिन बिहान ९ बजेबाट १२ बजेसम्म १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराइने प्रविन अग्रवालले बताए । हुनेखाने परिवारका व्यक्तिहरु खाना खान राम्रा–राम्रा होटल जाने गरेको तर गरिब, विपन्न र भोका मानिसहरु भोकभोकै बस्नु पर्ने भएकाले उनीहरुले सस्तोमा खाना खाने ठाउँको अभावमा भोकभोकै मर्नु नपरोस् भनेर १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराइएको उनले बताए ।

बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले आफूहरुले यस्तो कार्य शुरु गरेको बताउँदै उनले सहयोगी हातहरुबाट सहयोग जुटाएर १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना खुवाउने अभियान निरन्तर सञ्चालन गरिने बताए ।

आफूहरुले निःशुल्क खाना पनि खुवाउन सक्ने भएपनि निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खाना खान नआउने भएकाले धनी, गरिब सबै प्रकारका मानिस खाना खान आउन् भनेर १० रुपैयाँ शुल्क तोकेर शुद्ध शाकाहारी खाना पेटभरि खुवाउने अभियान सुरु गरेको उनले बताए ।

बिहीबारबाट १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना खुवाउन शुरु गरेसंगै त्यहाँ खाना खान आउनेको संख्यामा समेत वृद्धि भएको छ । बिहीबार मात्र पाँच सय भन्दा बढीले खाना खाएको उनले बताए । त्यहाँ खाना खान आउने सन्तुष्ट भएर जाने गरेको उनले बताए ।

दैनिक खाना खुवाउने कार्य सञ्चालन गर्दा १० देखि १५ हजार रुपैयाँ खर्च हुने र उक्त खर्च युवा व्यवसायीहरु प्रविन अग्रवाल, मनोज अग्रवाल, पुरुषोत्तम अग्रवाललगायतले ब्यहोर्दै आएको बताइएको छ ।

यसैवीच दैनिक खाना खुवाउने कार्यको बिहीबार उद्घाटन गरिएको छ । कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य बलराम कार्की , बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने , मारवाडी सेवा समितिका अध्यक्ष पवन खेडिया , निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे ,लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली ,विजय डालमिया , गौरीशंकर गुप्ता ,अग्रसेन भवनका अध्यक्ष हनुमान मित्तल लगायतले युवा व्यवसायीले पुण्य कार्यको थालनी गरेको बताउँदै यस्तो कार्यमा सहयोग गर्न सवैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here