पैदलमार्गबाट नेपाल घुम्न आउने पर्यटक बढे, व्यवसायी हर्षित

0
1153

लक्ष्मी उप्रेती / काँकरभिट्टा।

पूर्वी नाका हुँदै पैदलमार्गबाट नेपाल घुम्न आउने पर्यटकको संख्या सन् २०१८को तुलनामा सन् २०१९मा १९ दशमलव ५८ प्रतिशतले वृद्घि भएको छ ।

अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०१९ मा कूल १३ हजार ४ सय ९७ पर्यटक काँकरभिट्टा नाका हुँदै पैदलमार्गबाट नेपाल घुम्न आएका थिए । जसमा ८ हजार ५ सय ४२ बिदेशी र ४ हजार ९ सय ५५ जना नेपाली पर्यटक रहेको कार्यालय प्रमुख जनक कोइरालाले बताए । सन् २०१८को तुलनामा सन् २०१९मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या २८ दशमलव ४१ प्रतिशत अर्थात् १ हजार ८ सय ९० ले बढेको छ ।

सन् २०१८मा यो नाका भएर नेपाल प्रवेश गरेका कूल ११ हजार ३ सय ९ जना पर्यटकहरुमध्ये ६ हजार ६ सय ५२ जना विदेशी रहेका थिए । बाँकी ४ हजार ६ सय ५५ नेपाली पर्यटक रहेको कार्यालयले जनाएको छ । सन् २०१९मा यो नाका भएर बाहिरिनेको संख्यामा समेत वृद्घि भएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए ।

उनका अनुसार सन् २०१८मा काँकरभिट्टा नाका भएर विदेशीसहित १० हजार २ सय ९६ जना पर्यटक बाहिरिएका थिए भने सन् २०१९मा त्यो संख्या बढेर १२ हजार ३ सय ३९ मा पुगेको छ । सन् २०१९मा बाहिरिएका पर्यटकहरुमध्ये ७ हजार ४ सय ४ जना विदेशी तथा ४ हजार ९ सय ३५ नेपाली पर्यटक रहेका छन् । सन् २०१८मा ६ हजार २ सय ३६ विदेशी र ४ हजार ६० नेपाली पर्यटक बाहिरिएको कार्यालयले जनाएको छ । काँकरभिट्टा नाका भएर बंगलादेश र भुटान बाहेक भारत भएर अन्य मुलुक जान नपाइने कोइरालाले बताए ।

विगतमा आमहड्ताल, सडक अवरोध, यातायात बन्दलगायत विविध कारणले तथा बंगलादेशी पर्यटकको आगमन कमी भएकाले कूल पर्यटकको संख्या घटेको थियो । नेपाल सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको कार्यालयको भनाइ छ ।

लामो समयसम्म चलेको द्वन्द्वको अन्त्य भएर केही हदसम्म वातावरण सहज हुनु, नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न हुनु, स्थायी सरकार बन्नु, बन्द हड्ताल चक्काजाम, सडक अवरोध केही वर्षदेखि बन्द हुनुले पर्यटकहरुलाई नेपाल घुम्ने वातावरण सहज भएकाले पर्यटक आगमन बृद्धि भएको १ नम्बर प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य तथा नाटाका संस्थापक महासचिव उदयकुमार श्रेष्ठको भनाइ छ । उनले भने– ‘विगतमा नेपालमा हुने आम हड्ताल, सडक अवरोध, हत्या हिंसा, यातायात बन्दलगायत विविध कारणले तथा बंगलादेशी पर्यटकको आगमन कमी भएकाले पर्यटकको संख्या घटेको थियो । भारतले बंगलादेशी नागरिकलाई भ्रमण भिसा उपलब्ध गराउन छाडेपछि केहीबर्ष अघि ओरालो लागेको नेपालको पर्यटन व्यवसायमा यतिखेर केही सुधार छ ।’

‘२००८मा दिल्लीको ताज होटल आक्रमण भए लगत्तै भारतले बंगलादेशीलाई दोहोरो भिसा उपलब्ध गराउन छाडेको थियो । त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको थियोे’– ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीले भने– ‘पूर्वी नाकाबाट पैदलमार्ग हुदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा बृद्धि भएका कारण पर्यटन व्यवसायी समेत हर्षित छन् ।’

कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइवेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्यालेस्टाइन, स्वीजरलेण्ड लगायतका ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको जनाएको छ । बिदेशीले काठमाडौ, पोखरा, लुम्बिनी, चितवन, गोर्खा, मनकामना लगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने गरेका छन् ।

कार्यालयले दिएको जानकारी अनुसार अध्यागमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए ३० डलर, ३० दिनका लागि ५० डलर र ९० दिनका लागि एक सय २५ डलर लिने गरेको जनाएको छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०का कारण पनि निजी तथा सरकारी स्तरबाट प्रचारप्रसार तथा हरेक क्षेत्रलाई पर्यटनमैत्री बनाएका कारण पनि अघिल्लो वर्षको तुलनामा वितेको वर्षमा नेपाल घुम्न आउने र काँकरभिट्टा नाका भएर अन्य देश घुम्न जाने पर्यटकको संख्यामा वृद्घि भएको अनुमान कार्यालयको छ ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई भव्यरुपमा मनाउन २०७४ साउन २९ गते घोषणा गरेको थियो । घोषणा गरे लगत्तै संघीय, प्रदेश र स्थानीय सरकारले पनि प्रचारप्रसारलाई व्यापकता प्रदान गर्न लागेका थिए । सरकारले एक सय गन्तव्यस्थलको छनौट गरेर पर्यटकीय गन्तव्यस्थलको समुचित विकास गर्दै सरकारी तथा निजी क्षेत्र पर्यटकलाई निम्ता दिन विभिन्न स्थानमा पुगेका थिए । १ नम्बर प्रदेश सरकारले नौ जनालाई पर्यटन सद्भावना दूत समेत नियुक्त गरेको थियो ।

तर, सन् २०१९को जनवरीदेखि सेप्टम्वरसम्म आइपुग्दा पूर्वी प्रवेशद्वारबाट पैदलमार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको थियो । नेपाल सरकारले २०२०मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेर भ्रमण वर्ष २०२० घोषणा गर्दै उद्घाटन समेत गरेको छ ।

पहिलो दिन १७ बिदेशी भित्रिए

सरकारले नेपाल भ्रमण वर्षको शुभारम्भ गरेकै दिन पूर्वी नाका काँकरभिट्टाबाट १७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

स्थल मार्ग हुँदै सन् २०२० को पहिलो दिन जनवरी १ मा मात्र यो नाका भएर १७ विदेशीसहित ३६ जना पर्यटक नेपाल प्रवेश गरेका थिए । जसमा १९ जना नेपाली रहेका छन् । उक्त दिन कार्यालयले ४ सय ७५ डलरको कारोवार गरेको छ ।

विहीबार ६३ जना नेपाल प्रवेश गरेका छन् भने २८ जना बाहिरिएका छन् । जनवरी २मा १ सय ९० डलरको कारोवार भएको छ । पहिलो दिन ६३ बिदेशी र १४ नेपालीसहित कूल ७७ जनाले नेपाल छाडेको अध्यागमन कार्यालय कांकरभिट्टाले जनाएको छ । पूर्वी नाकाबाट प्रवेश गरेका पर्यटकहरुलाई मेचीनगर नगरपालिकाले ढाकाटोपी लगाइदिएर स्वागत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here