भद्रपुरका होटल व्यवसायीलाई खाद्य स्वच्छता तालिम

0
1362

भद्रपुर ।

झापाको भद्रपुर क्षेत्रका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई शुक्रबार खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना र झापा उद्योग वाणिज्य संघको समन्वयमा नगरका ५० भन्दा बढी व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको हो ।

‘खाद्या पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने सन्देशसहित आयोजना गरिएको तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी खाद्य स्वच्छता सम्बन्धी नेपालका ऐन–कानून, नियमावली, दण्ड–सजाय बारे प्रष्ट पारेका थिए भने स्वच्छ खाद्य मात्र बिक्री–वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
यसैगरी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. गंगाराम यादव स्वच्छ मासु–माछा व्यस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख तथा नगरपालिकाको बजार अनुगमन समितिकी संयोजक चन्द्रा श्रेष्ठले व्यवसायीहरुलाई खाद्य पदार्थ बिक्री–वितरणमा स्वच्छता र गुणस्तरलाई ध्यान दिन आग्रह गरेकी थिइन् ।

संघका महासचिव पंकजकुमार शर्माले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा अध्यक्ष पनेरुले आफू होटल व्यवसायी पनि भएकोले उपभोक्ताको स्वास्थ्यको सधैं ख्याल राख्दै आएको भन्दै व्यवसायमा उपभोक्तालाई महत्व दिन आग्रह गरे ।

तालिम समापनपछि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here