चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई जोगाउन डाक्टरकाे सुझाव

0
1027

काठमाण्डौ,

काठमाण्डौलगायत देशका अधिकांश भागमा सामान्य वर्षातसँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ ।

चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ । बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।

पाटन अस्पतालका बाल विशेषज्ञ डा भीष्म पोखरेल चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा भएकाले न्यानो पारेर राख्न सुझाव दिनुहुन्छ ।

‘पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडाबान्तको बढी समस्या देखिन्छ तर सम्हाल्नै नसक्ने स्थिति भने छैन’, डा पोखरेलले भन्नुभयो ।

उहाँले चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ हुनसक्ने भएकाले त्यसबाट बच्न सल्लाह दिनुभयो । ‘रोटा भाइरस’ को खोप निःशुल्क दिने नेपाल सरकारको सूचीमा परे पनि हालसम्म उपलब्ध भइसकेको छैन । डा पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्दै घरका झ्याल ढोका थुनेर कोइला बाल्दा ‘कार्बन मनोक्साइड’ हुनसक्ने जनाउनुभयो ।

दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउन र दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिन पनि सल्लाह दिनुभयो । उहाँले घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई तिनबाट परै राख्न भीडभाडमा नराख्न आवश्यक रहेको जनाउनुभयो ।

आजैमात्र ३०-४० जना चिसोबाट असर खेपेका बालबालिकालाई परीक्षण गर्नुभएका त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालका ‘बाल सर्जन’ डा दिनेश कोइरालाले बालबालिकालाई मुख्यगरी टाउको दुख्न सक्ने भएकाले जोगाउन आग्रह गर्नुभयो ।

पाँच वर्षसम्मका बालबालिकाको विकासको क्रममा टाउको ठूलो हुने भएकाले उनीहरुको तातो क्षयीकरण ९हिट लस० हुन सक्ने भएकाले छातिका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाउन र पसिना आएमा समय समयमा कपडा परिवर्तन गर्न आवश्यक रहेको अनुभव सुनाउनुभयो ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भइ सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना छ । जाडो मौसमका लागि अधिकांश विद्यालयले आइतबारदेखि तीन सातासम्मका लागि विद्यालयमा बिदासमेत दिँदैछन् ।

जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरु खेलेर आलो वा हिटरमा पर्न सक्ने भन्दै उहाँले घर बाहिर हिँडाउँदा बालबालिकाहरुलाई शरीर पुरै छोप्ने र पानीमा नभिजाउन अत्यावश्यक भएको बताउनुभयो ।

‘चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककोमा लैजानुपर्छ । चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्ने हुन्छ । आन्द्रामा असर गर्न सक्ने हुन सक्छ’, डा कोइरालाले भन्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गर्नुभयो ।

उहाँले अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्न सक्ने र उनीहरुको छालामा बोसो कम हुने हुँदा चिसोले चाँडै भेट्टाउने र दम बिग्रिएमा निमोनिया हुने जनाउनुभयो ।

वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले पनि आग्रह गरेको छ । महाशाखका अनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस छ भने डडेल्धुरको न्यूनतम माइनस १ दशमलव ५ र अधिकतम ३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here