अर्जुनधारा ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारले नेताको भाषण भन्दा सर्वसाधारणको उन्नतीको समाचारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
अर्जुनधारा नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न भएको वडास्तरमा गठन भएका नगर युवा परिषद्, खेलकुद विकास समिति र भाषा, कला, साहित्य तथा संस्कृति प्रबद्र्धन समितिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व अर्थमन्त्री पाण्डेले सो आग्रह गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका पूर्व अर्थमन्त्री पाण्डेले देशमा शिक्षित जनशक्तिको अभाव शुरु भएको हुँदा उनले जनप्रतिनिधिहरुलाई गुणस्तरिय शिक्षाको लागि एकजुट हुन सुझाए । “आधुनिक, वैज्ञानिक र व्यवहारीक शिक्षाको माध्यमबाट मात्र देश आर्थिकरुपमा समृद्ध हुनेछ”– उनले भने ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र पूर्व अर्थमन्त्री पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई नगर प्रमुख रानाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सोही कार्यक्रमको अवसरमा नगरपालिकाले गत महिना काठमाण्डौंमा सम्पन्न भएको १३औं दक्षिण एसियाली गेम्स(साग)मा कुमुतेतर्फ कास्य पदक जित्ने खेलाडी अर्जुनधारा–५ निवासी एस्तर राई र हालै कनकाई नगरपालिकामा सम्पन्न भएको पालिकास्तरिय फुटबल प्रतियोगिताको उपाधि विजेता नगरस्तरिय खेलाडीहरुलाई सम्मानित गरेको थियो ।
कास्य पदकधारी राईलाई सम्मान पत्रसहित नगद पुरस्कार २५ हजारबाट र २१ जना फुटबल खेलाडीहरुलाई जनही नगद पुरस्कार पाँच हजारसहित एक थान टर्याकसुट प्रदान गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नगर अध्यक्ष प्रेमसागर सापकोटा, संघीय समाजवादीका नगर अध्यक्ष सृजलाल चौधरी, नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, नेपाल आदिवासी जनजाती महासंघ नगरका अध्यक्ष जगत राना मगरलगायतको आतिथ्यता रहेको कार्यक्रममा सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।
नगर उपप्रमुख कमला खतिवडा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक केशव ढुंगेलले गरेका थिए ।






























