मानव–वन्यजन्तु द्धन्द्ध भयावह बन्दै

0
1628

झापा।

पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्वका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा वन्यजन्तुको आक्रमणबाट मुलुकभर १५ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ३७ जना सख्त घाइते र २६ जना सामान्य घाइते भएका छन् ।

वन तथा वातावरण मन्त्रालयले यस अवधिमा वन्यजन्तुबाट भएको सम्पूर्ण क्षतिपूर्तिका लागि झण्डै रु. चार करोड राहत वितरण गरेको छ । वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको घटनामा रु. एक करोड ५० लाख, सख्त घाइते भएको घटनामा रु. ६० लाख ७९ हजार चार सय तीन र सामान्य घाइते भएको घटनामा रु. तीन लाख ६८ हजार एक सय ४७ रकम राहत वितरण गरेको मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

यसैगरी पशुधनको क्षतिमा रु. ६४ लाख ४० हजार दुई सय ८०, अन्नबालीको क्षतिमा रु. ८१ लाख आठ हजार नौ सय ४१, घरगोठ क्षतिमा रु. ३४ लाख ३२ हजार सात सय र भण्डारण गरेको अन्नबालीको क्षतिमा रु. १४ लाख ७९ हजार छ सय २० राहत वितरण गरिएको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवम् अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवम् सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनाका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।

मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै

विभागका अनुसार हात्ती, बाघ, चितुवा र गैँडाको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।
गत आवमा मुलुकभर वन्यजन्तुको आक्रमणबाट जम्मा ३० जनाको मुत्यु भएको थियो भने विभागले वन्यजन्तुबाट भएको क्षतिमा कूल रु. आठ करोड ९० लाख ८४ हजार राहत वितरण गरेको थियो । आव २०७३÷०७४मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जना मानिसको मृत्यु भएको थियो भने आव २०७४०७५मा करिब एक दर्जन व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ ।

वन्यजन्तुको आक्रमणबाट मुत्यु भएका व्यक्तिका परिवारलाई रु. १० लाख, सामान्य घाइते भएकालाई बढीमा रु. २० हजार र सख्त घाइते भएका व्यक्तिलाई रु. दुई लाखसम्म राहत दिनुपर्ने कानूनी प्रावधान छ । सख्त घाइतेको हकमा रु. दुई लाखले अपुग भएमा उपचारको सम्पूर्ण खर्च विभागले व्यहोर्ने तर उपचार भने सरकारी अस्पतालमा हुनुपर्ने व्यवस्था छ ।

यसैगरी क्षतिको कृषि बाली क्षतिका सम्बन्धमा बढीमा रु. १० हजार (एक मौसममा दुई पटकसम्म), पशुधनको क्षतिमा प्रति ठूला जनावर (गाई, गोरु, भैँसी) को मृत्यु भएमा रु. ३० हजार र अन्य साना जनावरको हकमा रु. १० हजार राहतस्वरूप दिने गरिएको छ । अन्न भण्डारण क्षति भएमा र घरगोठ क्षति भएमा बढीमा रु. १० हजार राहत दिने व्यवस्था रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

द्वन्द्व नियन्त्रण प्रयास जारी

मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना’मार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । वन्यजन्तुको बढी आक्रमण हुने क्षेत्रमा सोलारजडित तारबार (फेन्सिङ) राख्नाका साथै जनचेतनामूलक कार्यक्रम नियमितरूपमा गरिरहेको मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

साथै विभागले संवेदनशील मानव बसोबास क्षेत्रमा भौतिक पर्खाल, तारबार र अवरोध निर्माण गर्ने सोलार र विद्युतीय तार राख्ने, ट्रेञ्च खन्ने, टावर र मचान बनाएर सूचना दिनेलगायतका कार्य गर्दै आएको छ । हात्तीबाट बढी प्रभावित झापा, कोशी टप्पु, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा टावर बनाएर साइरन राखेको तथा बर्दियामा बस्तीमा हात्ती आएको खबर स्थानीय जनताको मोबाइलमा सन्देश आउने व्यवस्था समेत शुरु गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै समुदायमा आधारित सचेतना कार्यक्रम निरन्तर गरिएको र स्थानीयवासीसँग वन्यजन्तुका आनीबानी सम्बन्धी अनुभव आदानप्रदान समेत गर्ने गरिएको छ । विभागले संरक्षण क्षेत्रमा सवारीसाधनबाट वन्यजन्तुमाथि हुने क्षतिको अध्ययन र नियन्त्रणका लागि मुख्य राजमार्गका विभिन्न स्थान सीसी टीभी समेत राखेर निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here