बिर्तामोडमा रु. १०मा दैनिक ५०० जनाले खाना खाँदै

0
1141

बिर्तामोड।

झापाको बिर्तामोडमा १० रुपैयाँमा नै दैनिक पाँच सयभन्दा बढीले खाना खाने गरेका छन् । बिर्तामोडमा बिहीबारबाट शुरु भएको १० रुपैयाँमा पेटभरि खाना खुवाउने कार्यक्रममा दैनिक पाँच सयभन्दा बढीले खाने गरेको जनाइएको छ ।

बिर्तामोडका युवा व्यवसायीहरु प्रवीन अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले बिर्तामोडको खड्का कम्पलेक्स छेउमा १० रुपैयाँमा पेटभरि शाकाहारी खानाको व्यवस्था गरेका हुन् । ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले प्रत्येक दिन बिहान ९ बजेबाट १२ बजेसम्म प्रतिव्यक्ति १० रुपैयाँमा पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराउँदै आएको प्रवीनले बताए ।

कार्यक्रम शुरु भएसँगै पछिल्लो समय विभिन्न कलेजका बिद्यार्थीहरुले समेत सहभागिता जनाएका छन् । हुनेखाने परिवारका व्यक्तिहरु खाना खान राम्रा–राम्रा होटल जाने गरेका तर गरीब, विपन्न र भोका मानिसहरु भोकभोकै बस्नुपर्ने भएकाले उनीहरुले भोकभोकै बस्नु नपरोस् भनेर १० रुपैयाँमै पेटभरि शुद्ध शाकाहारी खाना उपलब्ध गराएको बताइएको छ ।

बजारमा शुद्ध शाकाहारी खाना पनि पाउन गाह्रो भएकाले आफूहरुले यस्तो कार्य शुरु गरेको उनीहरुको भनाइ छ । यो अभियानलाई कम्तीमा एक महिनासम्म सञ्चालन गर्ने बताइएको छ । आफूहरुले निःशुल्क खाना खुवाउन सक्ने भए पनि निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खाना खान नआउने भएकाले धनी, गरीब सबै प्रकारका मानिस खाना खान आउन् भनेर १० रुपैयाँ शुल्क तोकेर शुद्ध शाकाहारी खाना खुवाउने अभियान शुरु गरेको प्रवीनले बताए ।

दैनिक खाना खुवाउने कार्य सञ्चालन गर्दा १०देखि १५ हजार रुपैयाँ खर्च हुने र उक्त खर्च तीन युवा व्यवसायीहरुले व्यहोर्दै आएको बताइएको छ । तीन भाइ मिलेर यो अभियान शुरु गरेको र महिना दिनसम्म सञ्चालन गर्ने उद्देश्य लिएको बताइएको छ ।

खानाबाट संकलन भएको १० रुपैयाँको हिसाब महिनाको अन्तिम दिन गर्ने र त्यसले कति दिन खाना खुवाउन सकिन्छ भन्नेमा थप समय निर्धारण हुने प्रवीनले बताए । उनले कुनै पनि व्यवसायी तथा कसैसँग पनि चन्दा नमाग्ने तर स्वेच्छाले कसैले सहयोग गरेमा सहयोग भने लिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here