बिर्तामोड,

झापा कारागारमा वन्दी जीवन बिताइरहेको कैदीबन्दीका लागि बिर्तामोडका मारवाडी समुदायले कारागारमा आवश्यक रहेका सामग्रीहरु सहयोग गरेका छन् ।
नवौं मारवाडी युवा दिवसको अवसर पारेर सोमवार कैदीबन्दीका लागि मारवाडी युवा मञ्च र मारवाडी युवती मञ्चले कारागारमै पुगेर सहयोग गरेका हुन् । कारागारभित्र फोहोर व्यवस्थापनका लागि डस्टवीन, शुद्ध खानेपानीका लागि वाटर फिल्टर प्लान्ट, हिट फोम र महिलाहरुका लागि सेनटरी प्याड प्रदान गरेको मारवाडी युवा मञ्चका अध्यक्ष दीपक मित्तलले जानकारी दिए ।
जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण गर्दै मारवाडी युवा मञ्चका अध्यक्ष मित्तलले मानवीय सेवा नै जीवनको सर्वाेत्तम कार्य हुने भएकाले सेवाका क्षेत्रमा आफूहरुले काम गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै कारागार प्रमुख निरौलाले पूर्वका अन्य कारागारको तुलनामा झापा कारागारमा कैदी बन्दीको संख्या बढी भएकाले उनीहरुलाई बस्नका लागि असहज भइरहेको समयमा मारवाडी समुदायले हिम फोम लगायतका सामग्री प्रदान गरेर उदाहरणीय काम गरेको बताए ।
कार्यक्रममा मारवाडी युवती मञ्चकी मुनमुन अग्रवाल, सञ्चारकर्मी लीला अनमोल, मारवाडी कन्या मञ्चकी संस्थापक अध्यक्ष प्रियङ्का शर्मा, बिर्तामोड नगरपालिका–४का वडा सदस्य राहुल शर्मा, नेपाल मारवाडी युवा संगठनका केन्द्रीय सदस्य यज्ञराज अग्रवाल लगायतले बोलेका थिए ।
मारवाडी युवा र महिला मञ्चले प्रदान गरेको सामग्री कारागारकातर्फबाट मोहन धिताल र भैरवा श्रेष्ठले ग्रहण गरेका थिए । कार्यक्रमको सञ्चालन युवराज गिरीले गरेका थिए ।































