अर्जुनधारा,

झापाको अर्जुनधारा–३ खुदुनावारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड नगरपालिकामा रहेको ४६ वटा सहकारीमध्ये सबैभन्दा बढी चुक्ता शेयर पूँजी हुने सहकारी भएको छ ।
साना किसान परिवारको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साना किसान समूहहरुलाई आवद्ध गरी साविक खुदुनावारी गाउँ विकास समितिमा २०४४ साल पुस १३ गतेदेखि कारोबार शुरु गरेको संस्थाको गत आर्थिक वर्ष ०७५÷०७६ सम्मको जम्मा शेयर पुँजी दुई करोड २२ लाख रहेको छ ।
आर्थिक वर्ष ०७४÷०७५मा एक करोड ६९ लाख शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षमा ५३ लाख वृद्धि गरेको संस्थाको २०औं साधारणसभामा अध्यक्ष राधाकृष्ण खनाल ‘ज्ञानु’ ले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी ऐन् २०६४को दफा ८७ र नियमावली २०७५को दफा ३९ अनुसार नगरपालिकाभित्रका जुनसुकै सहकारीहरु बिना शर्त गाभिन वा बिलय हुन आएमा त्यस्ता सहकारीहरुसँग एकीकरण गरी उक्त सहकारीका सदस्यहरुलाई साना किसान मोडल अन्तर्गत पुनर्संरचना गर्दै लाने सभामा प्रस्ताव गरेको संस्थाले चालू आर्थिक वर्ष ०७६÷०७७मा शेयर पुँजी तीन करोड पु¥याउने लक्ष्य लिएको अध्यक्ष खनालले बताए ।
गत आर्थिक वर्षमा आन्तरिक श्रोत लगानी नौ करोड ६८ लाख र संस्थागत ऋणबाट लगानी ८ करोड ६१ लाखसहित जम्मा १८ करोड २९ लाख ऋण लगानी गरेको संस्थाले सोही आर्थिक वर्षमा सात करोड ८१ लाख बचत संकलन गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विभिन्न कोषहरुमा एक करोड ४० लाख रहेको संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी दुई करोड ६९ लाख, जम्मा खर्च दुई करोड ३१ लाख र नाफा ३७ लाख पाँच हजार रहेको छ ।
नगरपालिकाको १, २, ३ र ४ नम्बर वडा कार्यक्षेत्र रहेको संस्थामा हाल महिला समूह संख्या २०३ र पुरुष समूह संख्या ५६ गरी जम्मा दुई सय ५९ समूह, महिला सदस्य संख्या एक हजार २९ र पुरुष सदस्य संख्या तीन सय १६ गरी जम्मा शेयर सदस्य संख्या एक हजार तीन सय ४५ जना रहेका छन् । त्यस्तै ऋणी संख्या एक हजार ८८ जना, कार्यक्षेत्रको घरधुरी संख्या तीन हजार सात सय १५, संस्थामा आवद्ध घरधुरी संख्या एक हजार तीन सय ४५, नियमित बचत गर्ने समूह दुई सय ४२, अन्तर समूह संख्या १३, सञ्चालक समिति १३ र कर्मचारी संख्या ६ जना रहेको छ ।
सोही सभामा संस्थामा सदस्य भई लामो समयसम्म कारोबार गर्ने ३२ जनालाई ज्येष्ठ शेयर सदस्य सम्मान तथा अवकाश कार्यक्रममार्फत् उनीहरुको रकममा २५देखि ४० प्रतिशतसम्म थप सेवा रकमसहित अवकाश दिइएको छ । अघिल्लो आर्थिक वर्षको साधारणसभाले व्यवस्था गरेको सो थप सेवाबापत उनीहरुलाई दुई लाख १४ हजार चार सय ६३ रुपैयाँ प्रदान गरिएको थियो ।
‘भाग्यमा होइन, परिश्रममा विश्वास गरौं, लिएको ऋणको सदुपयोग गरौं, अनुत्पादक होइन उत्पादन कार्यमा प्रयोग गरौं’ भन्ने मुख्य नारासहित अध्यक्ष खनालको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि प्रदेश १का सांसद् वृख प्रधानले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
सभामा संविधानसभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा–१ वडासमिति अध्यक्ष गजाधर खतिवडा, अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनाल, अर्जुनधारा–३ वडा समितिका अध्यक्ष जीवनकुमार भण्डारी, साना किसान विकास लघुवित्त इलाका कार्यालय बिर्तामोडका प्रमुख सुवास गौतम, अभियान नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकमान श्रेष्ठ, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, सुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीप्रसाद चापागाईं, शान्ति सामुदायिक वन उपभोक्ता समूहका वरिष्ठ उपाध्यक्ष रुपनारायण समाल, कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी उपाध्यक्ष सञ्चरानी इङ्नाम, संस्थाका आन्तरिक लेखा सुपरीक्षण समितिका संयोजक विष्णुलाल ढकाललगायतको आतिथ्य रहेको थियो ।
उपाध्यक्ष जीतबहादुर कुमालले स्वागत मन्तव्य व्यक्त गरेको सभाको सञ्चालन सदस्यद्वय नयन अधिकारी र नरेन्द्र मिश्रले गरेका थिए ।































