सुनकोशीद्धारा शेयर सदस्यको निःशुल्क दुर्घटना बिमा

0
494

बिर्तामोड।

बिर्तामोडमा रहेको सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको एकलाखदेखि १० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बिमा गर्न शुरु गरेको छ ।

विभिन्न दुर्घटनामा परेर मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा शेयर सदस्यलाई एक लाखदेखि १० लाख रुपैयाँसम्मको निः शुल्क दुर्घटना बिमा सुविधाको रकम प्रदान गरिने सुनकोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाराम ओडारीले जानकारी दिए । संस्थामा पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म शेयर रकम हुने शेयर सदस्यलाई एक लाखदेखि १० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बिमा सुविधाको रकम प्रदान गरिने उनले बताए ।

त्यस्तै संस्थाले शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति, शेयर सदस्यलाई मृत्यु राहत, सुत्केरी राहत लगायतका सुविधा तथा विविध सामाजिक कार्य गर्दै आएको उनले बताए । संस्थाका तीन हजार छ सय १५ जना शेयर सदस्यमध्ये दुई हजार पाँच सय शेयर सदस्य उक्त सेवाबाट लाभान्वित हुने उनले बताए । संस्थाको सोमबार बिर्तामोडमा भएको १३औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ओडारीले यस्तो जनाएका हुन् ।

त्यस्तै संस्थामा तीन हजार छ सय १५ जना शेयर सदस्य, संस्थाको शेयर पुँजी एक करोड ४५ लाख २५ हजार सात सय रुपैयाँ, निक्षेप संकलन आठ करोड ३० लाख ८७ हजार दुई सय २१ रुपैयाँ, कर्जा लगानी आठ करोड ५७ लाख १७ हजार एक सय ४२ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ । वार्षिक कारोवार ३७ करोड ७२ लाख गरेको संस्थाले १२ लाख रुपैयाँ नाफा गरेको समेत अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सीता थापा लिङ्देनले स्वागत गरेकी थिइन् । कार्यक्रममा बचत तथा ऋण सहकारी संघका सहसचिव उपेन्द्रप्रसाद ओली, अरनिको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोहितकुमार भट्टराई, गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा असल बचतकर्ता मिना मण्डल, अम्बिका पोखरेल, दुर्गा मिश्र र आर्यन मिनालाई सम्मान गरिएको थियो भने असल ऋणि हिमाली लिङ्थेप, भोजराज बाँस्तोला, सत्यनारायण शाह र हरिप्रसाद उप्रेतीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थामा लामो समयदेखि लेखापालको रुपमा कार्यरत् पदम मिश्र हाल ठूलो आन्द्राको क्यान्सर भएर उपचाररत् रहेको अवस्थामा बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले पहिलो पटक रेडिएसन दिएर सेवा शुभारम्भ गरेकोमा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईं लगायतलाई संस्थाका अध्यक्ष ओडारीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा व्यवस्थापक कमल पराजुलीले गरेको सदस्य सञ्जयराज पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here