स्थानीय सरकारले नै बनाएको सडक ‘अब्बल’

0
395

ताप्लेजुङ।

ताप्लेजुङको फुङलिङ बजारदेखि सिरीजंघाको याम्फुदिनसम्म मोटर गुड्न थालेको छ । खेवाङको तावाटारदेखि याम्फुदिनसम्मको बाटोमा यात्रा गर्दा यात्रु निकै आनन्दको अनुभव गर्छन् । कारण हो यस सडकखण्डमा खनिएको बाटो निकै लोभलाग्दो रहेको सवारी चालकहरु बताउँछन् ।

ताप्लेजुङको दुर्गम वडामध्येमा पर्ने यो स्थान गत वर्ष नै सडक सञ्जालमा जोडिएको हो । यहाँ गत वर्षदेखि नै हिउँदयाममा ट््याक्टर मार्फत सामान ढुवानी समेत गरिएको थियो । यद्यपि यो बाटो अत्यन्तै घुमाउरो बाटो भएर मात्र पुग्ने गर्दछ । यसअघि यहाँका बासिन्दाका लागि ताप्लेजुङको आम्बेगुदिनको हप्पुखोलासम्म गाडीमा यात्रा गरेपछि एकदिनको पैदल दुरीमा मात्रै सो गाउँमा पुगिन्थ्यो । तर, सोही स्थानबाट भने सडकको सञ्जाल भने याम्फुदिनसम्म पुगेको भएता पनि काबेली खोलामा पुल नहँुदा मोटरको आवात–जावतमा भने समस्या रहँदै आएको छ भने अहिले भने सो स्थानमा पुल बन्ने काम धमाधम भइरहेको छ ।

यहाँसम्म पुग्ने अहिलेको बाटो भने ताप्लेजुङबाट मेची राजमार्ग हुदै पाँचथरको मध्यपहाडी लोकमार्गको थर्पु बजार बाट ताप्लेजुङको सिदिङ्वाको साब्लाखु भञ्ज्याङ, लिम्बुदिन, मेहेले, फेरि सिरीजंघाको ख बाँकेटार, खेवाङ, एकचना भञ्ज्याङ, घाँटी छिने भञ्ज्याङ हँुदै याम्फुदिनको थुङ्गिमसम्म पुग्ने गर्दछ । यही मार्गको खेवाङ तावाटारबाट पञ्चकन्या हँुदै एकचना भञ्ज्याङ भएर याम्फुदिनसम्म पुग्ने सडक नै अहिले निकै अब्बल रहेको स्थानीयबासी बताउँछन् । बाटो घुमाउरो भएर जाने भएता पनि ताप्लेजुङदेखि याम्फुदिनसम्मको बाटो लोकमार्गभन्दा पनि अब्बल रहेको सवारी चालकहरु बताउँछन् ।

सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङका अनुसार तावाटारबाट याम्फुदिनसम्मको बाटो गाउँपालिकाको आफ्नै योजना र प्राविधिकको आधारमा निर्माण गरिएको हो । उनले भने– ‘हामीले अहिले यस गाउँपालिकाभित्र सडक निर्माण गर्दा तीन प्रकारको मापदण्ड निर्माण गरेका छौं, मुख्य सडक, एक पालिकादेखि अर्को पालिकासम्म जोड्ने सडक र स्थानीय एक वडाबाट अर्को वडासम्म जोड्ने सडक, यी सडकको चौडाइ क्रमशः १५ मिटर, १० मिटर र ६ मिटर कायम गरेका छौं र गुणस्तरीयतामा हाम्रो निगरानी हुने भएकाले हामीले गरेका विकासका कामहरुले सोचेजस्तो परिणाम आएको छ । खेवाङको तावाटारबाट र पञ्चकन्या हुँदै दुईवटै बाटो याम्फुदिनसम्म जोड्ने हाम्रो विगत दुई वर्ष अगाडिदेखिको योजना अनुसार गत वर्ष यो बाटो सम्पन्न भएको हो । जसका लागि झण्डै गाउँपालिकाको साढे दुई करोड जति खर्च भएको छ ।’

यस बाटोलाई थप स्तरोन्नतिका लागि प्रदेश सरकार र गाउँपालिकाको लगानीमा थप योजना रहेको बताउँदै वडाध्यक्ष गुरुङले यस सडकका लागि आवश्यक ठाउँमा ग्राभेलिङ गर्ने, टर्निङहरुको मर्मत गर्ने, व्याक कटिङको कार्य गर्ने, ग्याविङ भर्ने जस्ता कामहरु गर्ने बताए ।

यो सडक सञ्चालनमा आएपछि अहिले खेवाङ, याम्फुदिनका जनतालाई सबैभन्दा धेरै राहत मिलेको छ । याम्फुदिनका देउमान भोटे भन्छन्– कुनै बेला पाँचथरको थर्पुबाट चामलको भारी बोक्नु पथ्र्यो, पछि हप्पुखोलादेखि हामीले बोकेर जीवन निर्वाह गरेका थियौं तर अहिले यहीसम्म गाडीले सबै सामान ल्याइदिन्छ, यसले हामीलाई मात्रै होइन, अब सबैलाई हरेक कुरामा सजिलो भएको छ ।’

उक्त सडक सञ्चालनमा आएपछि कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई फाइदा हुने वडाध्यक्ष गुरुङले बताए । अहिले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा आउने विदेशी पर्यटकका लागि ताप्लेजुङमै राम्रो भरियाको व्यवस्था नहुँदा चेराम, राम्जेर क्षेत्रमा हेलिकप्टर मार्फत सामान ढुवानी गर्ने गरेको, ताप्लेजुङ बजारबाट नै लामो पदयात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पर्यटक गाइडका अनुसार कञ्चनजंघा आधार शिविर दक्षिणी क्षेत्र तथा उत्तरी क्षेत्र प्रवेश गर्नका लागि याम्फुदिनसम्म गाडीयात्रा गर्न सकिएको खण्डमा एकदम सुरक्षित र उचित समयको ट्रेक गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here