झापामा अब भारतीय गाडीलाई सय लिटर मात्र इन्धन

0
718

झापा ।

भारतीय नम्वर प्लेटका सवारी साधनले झापामा अब एक सय लिटरभन्दा बढी इन्धन भर्न नपाउने भएका छन् ।
भारत र नेपालमा पेट्रोलियम पदार्थमा रहेको ठूलो मूल्य अन्तरका कारण नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ लैजाने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय झापामा शुक्रवार भएको सरोकारवालाबीचको बैठकले त्यस्तो निर्णय गरेको हो ।

नेपालका लागि भारतमा भन्दा कम मूल्यमा पेट्रोलियम पदार्थ आउने गरेको छ । भारतीय मालवाहक सवारी साधनले सामान अनलोड गरेर खाली फर्किंदा पनि नेपालबाट ट्यांकी भरेर पेट्रोलियम पदार्थ (डिजेल) लैजाने गरेको गुनासो बढेपछि त्यस्तो निर्णय गर्नु परेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

अहिले भारत र नेपालमा डिजेलको मूल्य अन्तर प्रतिलिटर १६देखि १७ रुपैयाँ रहेको छ । प्रजिअ रानामगरको संयोजकत्वमा उपभोक्तावादी संस्था, संवाद समूहका प्रतिनिधि, पेट्रोलियम डिलर एशोसिएशन लगायतका प्रतिनिधिको सहभागितामा भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।

‘पेट्रोलियम बजारलाई व्यवस्थित गर्न नेपाल प्रवेश गरी भारत फर्किने भारतीय खाली गाडीलाई एकपटकमा एक सय लिटर पेट्रोलियम पदार्थ मात्र उपलब्ध गराइने र सो सम्बन्धी जानकारी पेट्रोलियम डिलर एशोसिएशनले सबै पम्पहरुलाई गराइनेछ’– निर्णयमा उल्लेख छ ।

‘नेपाली उपभोक्ताका लागि आएको कम मूल्यको सुविधाको तेल भारततिरै लैजाने क्रम बढेको गुनासो आउन थालेपछि यस्तो निर्णय गरेको हो’– प्रजिअ रानामगरले भने– ‘यो निर्णय उल्लंघन गर्ने पेट्रोलपम्प र बढी इन्धन भर्ने भारतीय गाडीलाई कार्वाही गरिनेछ ।’ पेट्रोलियम बजारलाई व्यवस्थित गर्न यो नियम कडाइका साथ लागू गरिने र नियमित अनुगमन गरिने पनि उनले बताए ।

पेट्रोलियम व्यवसायीहरुले ढुवानी गर्दा व्यहोर्नु परेको विविध कठिनाई लगायतका विषयमा कुरा राखेका थिए । त्यस्तै एलपी ग्यासको प्रयोग गर्दा असावधानीका कारण आइपर्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न झापाका ५ वटै निर्वाचन क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

बैठकमा झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, घरेलु उद्योग कार्यालय झापाका प्रमुख उद्योग अधिकृत छविलाल खतिवडा, नेपाल आयल निगम चारआलीका प्रमुख विपीनकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, महासचिव एकराज गिरी, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका कार्यवाहक अध्यक्ष नवीन कोइराला, सदस्य अमित सरिया, उपभोक्ता मञ्च नेपालका सचिव सन्तोष न्यौपाने, संवाद समूहकोतर्फबाट खगेन्द्र खरेलले उक्त विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यस्तै ग्यास उद्योगीका तर्फबाट पराजुली ग्यासका आदित्य पराजुली, मेची ग्यासका मार्स प्रसाईं, कनकाई ग्यासका जीतबहादुर कार्की, गुणस्तर तथा नाप तौल कार्यालयकी सहायक निरीक्षक अनुजा घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । छलफलमा उपभोक्ता अधिकार रक्षाका लागि नियमित अनुगमन तथा सचेतनाको कार्यलाई अघि बढाउने विषयमा समेत जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here