प्रधानमन्त्रीकै जिल्लामा पर्यटन गतिविधि सुनसान

0
499

जिसस प्रमुख पोर्तेल भन्छन् – तयारी पुगेन

नरेन्द्र ढकाल / सुरेन्द्र भण्डारी
बिर्तामोड।

सरकारले सन २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा देशविदेशमा विभिन्न कार्यक्रम गरेर भम्रण वर्ष शुरु गरे पनि झापामा भने पर्यटन सम्बन्धी समिति नै गठन भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको समेत गृह प्रवेशद्वार हो– झापा जिल्ला । संघीय सरकारले जनवरी १ तारिखमा काठमाडौंस्थित खुल्ला मञ्चमा, प्रदेश १ सरकारले विराटनगरस्थित रंगशालामा भव्य कार्यक्रमको आयोजना गरेर भ्रमण वर्ष शुरु गरिरहँदा झापा भने अझै सुनसान छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका पर्यटकीय क्षेत्र झापामा प्रशस्त छन् ।

त्यस्तै देशकै होचो भू–भाग केचना पनि झापामा नै छ । स्थल मार्ग भएर बाह्य पर्यटक भित्रिने सबैभन्दा ठूलो प्रवेशद्वारका रुपमा काँकरभिट्टा नाका झापामै रहेको छ । पर्यटनका प्रचुर सम्भावना भए पनि पर्यटन प्रर्वद्धनको समिति गठन हुन नसक्दा झापामा पर्यटकीय गतिविधि सुनसान जस्तै छ । अंग्रेजी नयाँ वर्षका दिन झापाका १५ वटै स्थानीय तहले नेपाल भ्रमण वर्षको शुभारम्भ गरे पनि त्यस यता कुनै पनि पर्यटन सम्बन्धी कार्यक्रम नहुँदा झापामा भ्रमण वर्ष औपचारिकतामा नै सीमित भएको सरोकारवालाहरुले बताएका छन् ।

प्रदेश १ सरकारले प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न भन्दै ५१ सदस्यीय समिति गठन गरेको छ । स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएका केही झापालीलाई समेत सो समितिमा समावेश गरिएको छ । प्रदेशसँगै १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्लास्तरीय समिति गठन गर्न प्रदेश सरकारले निर्देशन दिए पनि प्रधानमन्त्रीकै गृह जिल्लामा भने समिति गठन हुन नसकेको हो ।

यता समिति गठन हुन नसक्नुमा निर्देशिकाको अभाव भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल बताउँछन् । उनी भन्छन्– पुस २२मै समिति गठन गर्ने कुरा थियो तर तयारी पुगेन ।’ जिल्ला समन्वयसँग निर्देशिका नभएपछि सरकारले नै निर्देशिका पठाउने कुरा थियो, निर्देशिका नआउँदा झापामा पर्यटन प्रर्वद्धनका लागि समिति गठन हुन नसकेको हो– पोर्तेल भन्छन् – अब आफैं निर्देशिका बनाएर भए पनि समिति निर्माण गर्छाैं ।

पर्यटन कार्यालय प्रमुख वाशुदेव ढकालले पर्यटन प्रर्वद्धनका लागि प्रदेश सरकारले सचिवालय स्थापना गरेको र प्रदेश सरकारमार्फत नै काम हुने गरेको बताएका छन् । उनले स्थानीय तहले आ–आफ्नै ढंगले पर्यटन प्रवद्र्धनका लागि स्थानीय समिति गठन गरेर काम गरे पनि पर्यटन कार्यालयले त्यस्तो कुनै काम नगरेको बताए । उनले सवै अधिकार प्रदेश सरकारसंग हुने भएकाले अन्य अफिसियल काममा मात्रै पर्यटन कार्यालय केन्द्रीत रहेको जानकारी दिए ।

बस्दैनन् बाह्य पर्यटक झापामा

स्थल मार्ग तथा हवाई मार्ग भएर आउने बाह्य पर्यटकहरु झापा नबसी सोझै पूर्वी पहाडी जिल्लातर्फ लाग्ने गरेका छन् ।
झापामा पर्यटकीयस्थल प्रशस्त भए पनि प्रचारप्रसार र बाह्य पर्यटकलाई बुझाउन नसक्दा पर्यटकहरु सोझै इलाम तथा ताप्लेजुङतर्फ जाने गरेको पर्यटन व्यवसायीको भनाइ छ ।

इलामको कन्याम, श्रीअन्तु तथा ताप्लेजुङको पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाल आरोहण गर्न तथा त्यस क्षेत्रको दृष्यावलोकन गर्न बाह्य पर्यटकहरु पहाडी जिल्लामा रमाउने गरेको बताइएको छ । महाभारतकालीन इतिहास जोडिएका तथा देशकै होचो भू–भाग झापामा भए पनि उचित प्रचारप्रसार हुन नसक्दा वाह्य पर्यटकहरु झापामा नबस्ने गरेको बताइएको छ ।

स्थलमार्गबाट प्रवेश गर्ने पर्यटकहरुले झापाका पर्यटकीय क्षेत्रको कुनै जानकारी नै पाउँदैनन् । उनीहरुले गुगल मार्फत सर्च गरेर नेपालका पर्यटकीय क्षेत्रको वारेमा जानकारी लिने गरेको बताइन्छ । पर्यटकीय क्षेत्रको पहिचान बनाएको इलामको कन्याम तथा ताप्लेजुङ्गको पाथीभरा र कञ्चनजंघातर्फ उनीहरु गुगल म्यापकै आधारमा जाने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here