हिरक महोत्सवको उचाइ

0
615

गंगाराम गड्तौला,

वास्तवमै शान्त ! शान्तिनगर नाम जसले जुराएको भए पनि वास्तवमा त्यो व्यक्तिलाई हामीले सम्झिनुपर्छ । धन्यवाद दिनुपर्छ र हार्दिक श्रद्धाभाव व्यक्त गर्नुपर्छ । एउटा सिङ्गो नेपाल अटाएको गाउँ कुनै छ भने त्यो शान्तिनगर नै हो । तीनतिरबाट पहाडले घेरिएर पहाडको काखमा सिरानी अड्याएर लमतन्न परेको शान्तिनगर भौगोलिक रूपमा जति सुन्दर छ, त्यति नै रीतिरिवाज, भेषभूषा, संस्कृति र जातीय रूपमा धनी छ । आयाबारीका आदिवासी, किङ्ग्रिङ गाउँको मगर र कुमाल संस्कृति, चुल्ठेको मुखिया समाज, फेरेगाउँको लिम्बू संस्कृति, गडिगाउँको सारुनाच आदि यहाँका नेपाली जातीय पहिचान गराउने प्रतिनिधि हुन् ।

मगरहरूले सदियौंदेखि मारुनी नाचको पहिचानलाई जोगाउँदै आएका छन् । तामाङ, गुरुङ, राई, लिम्बू, नेवार, क्षेत्री, ब्राह्मण लगायत सबै जातिको एउटै माला हाम्रो राष्ट्रगानमा भनिए जस्तै उनिएर, मिसिएर, मिलेर हामी बसेका छौं । जातीय विविधताभित्रको एकता कसैले खोज्छ भने त्यसले शान्तिनगर आउनुपर्छ । त्यही शान्तिनगरको छातीमा उभिएर हामीले एउटा उत्सव मनायौं । यसकारण हामी अत्यन्तै उत्साहित भएका छौं । हामी अर्थात् शान्तिनगरबासी । अझ भनौं बुद्धशान्ति निवासी हामी सबै उत्साहित छौं ।

उत्साहित यस अर्थमा कि एउटा दूरदराजको गाउँ । अनि त्यही गाउँको सानो स्कूल आज हिरक वर्ष मनाउन लागिरहेको छ । त्यो गाउँ जसले सधैँ पर्दा पछाडि रहेर राष्ट्रिय राजनीतिको नाटक मञ्चनमा अहम् भूमिका निर्वाह गरिरह्यो । तर, पर्दा कहिल्यै खुलेन । मञ्चमा कहिल्यै देखा परेन । चाहे त्यो राणाकालीन कालरात्रिको पर्दा च्यातेर प्रजातन्त्रको प्रादुर्भाव गर्ने सात सालको क्रान्तिमा होस् वा प्रजातन्त्र पुनस्र्थापनाको २०२८ सालदेखि निरन्तर २०४६ सालसम्मको आन्दोलनमा होस् वा २०५२ सालदेखि दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा नै किन नहोस् । शान्तिनगरले हरेक पटकका क्रान्तिहरूमा हरेक आन्दोलनहरूमा र हरेक युद्धहरूमा सेल्टर दियो । झोला बोक्यो र राष्ट्रको स्वर्णीम इतिहास कोर्ने महान कार्यमा निरन्तर भरथेग गरि नै रह्यो । आज म त्यही ठाउँमा उभिरहेको छु ।

जुन ठाउँमा सशस्त्र युद्धका पक्षधरहरू दूधले मुछेको भातको रस चुस्थे र त्यही थालमा कुल्चिएर हिँड्थे । विपक्षीहरू रातभरि छातीको सिरानी लगाई बिहान त्यही छातीमा गोली हानेर फर्कन्थे । तर, ती फेरि पनि हाम्रा पाहुना बन्दथे । नितान्त राष्ट्रसेवामा लाग्ने कर्मठ वीरहरूको जन्मभूमि जहाँ हावामा शिक्षाको सुगन्ध मिसिएर बहन्छ । हो, म त्यही ठाउँमा उभिएको छु । सायद शान्तिनगरको जिनमा राष्ट्रियता छ । यहा«को रगतमा देशप्रेम छ । यहाँको माटो, पानी र वातावरणमा शिक्षाको बिजारोपण भएको छ । त्यसैले त शान्तिनगर कसैको दुश्मन बनेन । चाहे त्यो आन्दोलनकारी होस् वा विद्रोही । चाहे त्यो क्रान्तिकारी होस् वा प्रतिक्रान्तिकारी ।

सबैलाई अटाउन सक्ने चौडा छाती भएको शान्तिनगर चाहे भौगोलिक विकटताले सधैँ विकासको बाटो छेकोस् । वा बत्तीमुनिको अँध्यारो बनेर सौतेलो व्यवहार सहनुपरोस् । हो त्यही सौतेलो व्यवहारका बाबजुद स्थापित ग्रामीण भेगको एउटा विद्यालयले हिरक वर्ष समापन समारोह सम्पन्न गरेको छ । ६१औं वर्षगाँठको शुभमुहूर्तमा छ । यस अर्थमा हामी शान्तिनगरबासी, बुद्धशान्तिबासी उत्साहित भएका हौं ।

निश्चय नै ६० वर्ष एउटा मान्छेको जीवन हो । एउटा युग हो । परिवर्तनका सयौं पानाहरू पल्टिन पाउने समयको एक भाग हो । हामीले त्यो ६०औं वर्ष पार गरेका छौं । कोही विद्यार्थी बनेर, कोही शिक्षक, कोही अभिभावक, कोही व्यवस्थापक कोही दाता र कोही शुभचिन्तक बनेर । यस कारण हामीले गर्व गर्नुपर्छ । किनकि गडिगाउँ माविलाई ६०औैं वर्षसम्म निरन्तर अगाडि बढाउन कुनै एक पक्षीय प्रयास मात्रै पर्याप्त थिएन ।

अनि म ? म यस विद्यालयको पहिलो ब्याच । ६०औं वर्ष पार गर्दै गरेको विद्यालयको पहिलो ब्याच बन्ने संयोग मिलेकोमा म व्यक्तिगत रूपमा अत्यन्तै हर्षित बनेको छु । सायद मेरा सहपाठी सम्पूर्ण मित्रहरू पनि म जत्तिकै खुशी हुनुभएको होला । यस खुशियाली जसले गडिगाउँ माविलाई ६० वर्षसम्म आ–आफ्नो स्थानबाट सहयोग गर्नुभयो, जसको अथक मेहनत रगत र पसिनाले आजको यो भौतिक पूर्वाधार सम्पन्न अवस्था प्राप्त भएको छ । जसले शिक्षाको पहिलो दीप यहाँबाट शुरु गरेर आज राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा आफ्नो छवि प्रस्तुत गरिरहेका छन् । जसले हजारौं ६० वर्षहरूलाई मनाउने सौभाग्य यस विद्यालयलाई दिनेछन् ।

गडिगाउँ माध्यमिक विद्यालयमा पढ्न पाउनु अहोभाग्य हो । गडिगाउँ माविमा आफ्नो नानी पढाउन पाउनु गौरवको कुरा हो । यस विद्यालयमा प्राप्त गरेको आधारभूत ज्ञानको सहयोगले स्वदेशमा मात्र होइन, आफूलाई विश्वस्तरमा चिनाउने व्यक्तित्वहरू यस विद्यालयले जन्माएको छ ।

यस विद्यालयका विद्यार्थी चेतन ढुङ्गेल र परशु रिजालले राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाइसक्नुभएको छ । शान्तिनगरमा पहिलो पटक कथ्थक नृत्य प्रवेश गराउने र नृत्य कै माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्ने कलाकार समेत गडिगाउँ माविका उत्पादन हुन् । यही विद्यालयबाट आफूलाई शिक्षित बनाएका कतिपय व्यक्तिहरू आज अन्तर्राष्ट्रिय स्तरका सफल व्यवसायी समेत बनेका छन् । त्यस्तै नवराज खतिवडाले अहिले विश्वका दर्जनौं राष्ट्रहरूमा व्यापार व्यवसाय गर्दै आउनुभएको छ । पहिलो ब्याचदेखि हालसम्मका यस विद्यालयका उत्पादन को–को के–के गर्दैछन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा के–कति योगदान दिइरहेका छन्, त्यसको खोजी हामीले गर्नैपर्छ । यस्ता उदाहरण प्रशस्त छन् ।

म शिक्षा क्षेत्रमा अनवरत २५ वर्ष खटेको छु । र म सोच्दै छु, मलाई एउटा राष्ट्रिय स्तरको कवि र लेखक जन्माउन कति वर्ष लाग्छ ? म भन्न सक्दिनँ । तर, म ग्यारेन्टी गर्न सक्छु, गडिगाउँ स्कूलले कम्तीमा वर्षमा एउटा कविलाई जन्म दिन्छ । कम्तीमा एउटा लेखकलाई जन्म दिन्छ । गडिगाउँ माविले शिक्षक, सङ्गीतकार, कलाकार, लेखक, बुद्धिजीवी, व्यवसायी मात्र उत्पादन गरेन । आफूलाई जीवनभर समाजसेवामा समर्पित गर्ने महान् हृदयका धनी व्यक्तिहरू समेत उत्पादन गरिसकेको छ । यस विद्यालयका वर्तमान प्र. अ. र व्यवस्थापन समिति अध्यक्ष दुबै यसै विद्यालयका उपज हुन् ।

निश्चय नै देशलाई हजारौं डाक्टर चाहिएको छ । हजारौं इञ्जिनियर चाहिएको छ । र, ती हजारौं डाक्टर र हजारौं इञ्जिनियर उत्पादन गर्ने त्यो भन्दा उच्चस्तरको जनशक्ति चाहिएको छ । सोचसहितको जनशक्ति, भिजनसहितको जनशक्ति, विचारसहितको जनशक्ति । संस्कारसहितको जनशक्ति । राष्ट्रियतासहितको जनशक्ति । त्यो सिङ्गो जनशक्ति जसले हजारौं प्राविधिक जनशक्ति उत्पादन गरोस् । अनि त्यस जनशक्तिको बिजारोपण गडिगाउँ माविले गर्न सक्छ । यो हामीले प्रत्यक्ष देखेको कुरा हो ।

अहिले २१औं शताब्दीको युग हो । आजको समयले संस्कारसहितको शिक्षाको माग गरेको छ । अब व्यक्ति शिक्षाले मात्रै सम्पन्न बन्न सक्दैन । संस्कार बिनाको शिक्षा बासना बिनाको फूल जस्तै हुन्छ । अनि संस्कार स्कूलले दिन सक्दैन । विश्वविख्यात शिक्षाविद् गिजुभाइले भनेका छन्– ‘घरमा बिग्रेको बालकलाई भगवान्ले पनि सुधार्न सक्दैन ।’ त्यसैले घरमा संस्कार दिएर पठाऔं । शिक्षाको जिम्मा स्कूललाई दिऔं ।

विषय वस्तु पढाउने शिक्षकभन्दा दशगुणा बढी दीक्षा दिने गुरु हुन्छ । गुरुभन्दा सयगुणा बढी बाबुको भूमिका रहन्छ र बाबुकोभन्दा हजारगुणा बढी आमाको भूमिका रहन्छ । समग्रमा, संस्कारको सम्पूर्ण जिम्मेवारी आमाबाबुले लिनुपर्छ र शिक्षाको जिम्मेवारी शिक्षकले । यसरी बाबु–आमाको संस्कार र शिक्षकको शिक्षाको संयोजन हुन सक्दा मात्रै एउटा सफल र पूर्ण व्यक्तित्व निर्माण हुन्छ । गडिगाउँ मावि ६० वर्षे शैक्षिक अनुभवको केन्द्र हो । त्यहाँ आवश्यकता हेरी बालबालिकालाई पृष्ठपोषणसहितको शिक्षा दिइन्छ ।

यस गडिगाउँ माविले हामी पहिलो ब्याचलाई सम्झेको छ । पहिलो ब्याचका रूपमा सम्मानित भएपछि हामीले पनि विद्यालय प्रतिको दायित्व महशुस गरेका छौं । म पहिलो ब्याचको प्रतिनिधित्व गर्दै यस गडिगाउँ माविलाई पहिलो ब्याच अर्थात् शैक्षिक सत्र २०४८ को कक्षा १० को तर्फबाट एक लाख रुपैयाँ बराबरको अक्षयकोष खडा गरिदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here