बिर्तामोड, १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीको विकासबाट मात्रै मुलुकको आर्थिक विकास हुने बताएका छन् ।

झापाको बिर्तामोडमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् । सरकारी र निजी क्षेत्रसँगै सहकारी पनि नेपालको प्रगतिमा सहयात्री भएकाले संविधानमा नै सहकारीलाई नेपाली अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरिएको मन्त्री आङ्वोको भनाइ छ ।
समाजमा विद्यमान बेरोजगारी र गरिवीको अन्त्य गर्नका लागि सहकारी अभियान सार्थक साधन बन्नेछ– मन्त्री आङ्बोले भने– ‘सहकारीलाई सही ढंगबाट स्थापित र यसको मान्यतालाई राज्यले सही उपयोग गर्ने हो भने पक्कै पनि श्रम बेच्न विदेश जाने युवालाई रोक्न सकिनेछ ।’
१नम्बर प्रदेश सरकारले कोही पनि युवा बाध्यताले श्रम बेच्न विदेश जानु नपरोस् भनेर मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम ल्याएको बताउँदै उनले भने – ‘राज्यको तर्फबाट अत्यन्त कम ब्याजदरमा युवालाई लगानी गर्ने र उनीहरुलाई उद्यमी बनाउने प्रदेश सरकारको योजना रहेकाले कोषको स्थापना हुँदैछ ।’
मन्त्री आङ्बोले सहकारीले बचत तथा ऋणमा मात्र केन्द्रित हुने होइन, उत्पादनमा जानुपर्छ भन्दै रोजगारीको सिर्जना गर्न, दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारीको दायित्व महत्वपूर्ण हुने बताए । प्रदेश सरकारले प्रदेश सहकारी ऐन बनाएको उल्लेख गर्दै उनले अब नियमावली बनाइने क्रममा रहेको र स्थानीय तहले पनि सहकारी ऐन धमाधम बनाइरहेको बताए । सहारा नेपाल सहकारी संस्थाले प्रदेश नम्वर १मा सहकारीका माध्यमबाट गरिवी निवारणका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै प्रदेश मन्त्री आङ्वोले आगामी दिनमा यस संस्थालाई गरिवी निवारणको क्षेत्रमा सहयोग पु¥याइने बताए ।
तरकारी उद्यमी राईलाई ‘प्रो. मोहम्मद युनुस सहारा पुरस्कार’
५१ हजार रुपैयाँ पुरस्कार राशिको ‘प्रो. मोहम्मद युनुस सहारा पुरस्कार’ यस वर्ष टीकादेवी राईलाई प्रदान गरिएको छ । सफल तरकारी उद्यमीका रुपमा चिनिएकी अर्जुनधारा नगरपालिका निवासी राईलाई सहारा नेपाल सहकारी संस्थाले सो पुरस्कार प्रदान गरेको हो । संस्थाको २३औं वार्षिक साधारण सभाको अवसर पारेर शनिश्चरे सेवा केन्द्र अन्तर्गत जागृति सहारा महिला समूहमा आबद्ध राईलाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो । मन्त्री आङ्बोले राईलाई पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
विगत चार वर्षदेखि सो संस्थाले आफ्ना शेयर सदस्यमध्ये उद्यमशील एक जना सदस्यलाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
६९ पटक रक्तदान गर्ने लुइ“टेल सम्मानित
६९ औं पटक रक्तदान गर्ने झापा बिर्तामोड निवासी ओमप्रकाश लुइँटेल सम्मानित भएका छन् । उनलाई सहारा नेपाल सहकारी संस्थाले सम्मान गरेको हो । १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री आङ्वोले सम्मान–पत्र प्रदान गर्दै लुइँटेलले गरेको अनुकरणीय कामको प्रशंसा गरेका थिए । लुइँटेल झापामा सबैभन्दा बढी रक्तदान गर्ने मध्येमा पर्छन् ।

रगत अभावमा मृत्यु शैय्यामा छट्पटाइरहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै लुइँटेललाई सम्मान गरिएको सहकारीका कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।
एकल पुरुषलाई पनि भत्ता !
सहकारीमा आवद्ध महिलालाई यस अघि भत्ता प्रदान गर्दै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले अब एकल पुरुषलाई पनि भत्ता दिने भएको छ ।
सहाराले कृषिलाई व्यवसायिकीकरण गर्न ‘कृषिमा सहारा मोडल’ लागू गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसँग सम्बन्धित कार्यक्रमलाई भव्यताका साथ सञ्चालन गर्ने योजना प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहसँग छलफल गरेर उत्पादनमा आधारित अनुदान प्रदान गर्ने सहाराको योजना रहेको जनाइएको छ ।
सहारा नेपालको सदस्यका छोराछोरीलाई चिनिया, कोरियन र जापानीज भाषा सिकाउने, श्रमिक सहकारी समूह गठन गर्ने र निर्माणमा संलग्न मजदुरलाई आवश्यक पर्ने उपकरण खरिदमा सहयोग गर्ने, साना तथा मझौला उद्योग सञ्चालकलाई सहुलियत व्याजमा कर्जा दिने लगायतका कार्यक्रम साधारणसभाले पारित गरेको छ ।
२५ अर्ब व्यालेन्स सिट बनाउने लक्ष्य
मुलुककै सबैभन्दा धेरै सदस्य रहेको सहारा नेपालले आगामी बर्षको असार मसान्तसम्ममा ११ अर्ब रुपैंयाँको ब्यालेन्स सिट बनाउने लक्ष्य रहेको जनाएको छ ।
२०८० सम्ममा २५ अर्बको ब्यालेन्स सिट निर्माण गर्ने तथा त्यसपछि सबै सदस्यको स्वास्थ्य उपचार संस्थाले गर्ने सहारा नेपालका सचिब गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहाराले केही बर्ष अघिदेखि आफ्ना सदस्यको साना तथा मझौला अप्रेसनको शुल्क उपलब्ध गराउँदै आएको छ ।
संस्थाले आगामी बर्षको असार मसान्तसम्ममा १ अर्ब ५६ करोड आम्दानी गर्ने र ३६ करोड मुनाफा आर्जन गर्ने साधारणसभामा बताइयो ।
एक अर्ब २४ करोड ९६ लाख ११ हजार दुई सय रुपैयाँ शेयर पुँजी रहेको सहाराले आगामी बर्षलाई रजत बर्षका रुपमा २५ वटा कार्यक्रम आयोजना गरी मनाउने लक्ष्य लिएको जनाएको छ । गतबर्ष सहाराले पाँचथर र उदयपुरमा दुईवटा एम्बुलेन्स प्रदान गरेको थियो । सहकारीका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई, नेपाली कांग्रेसका नेता देउकुमार थेवे, अरुण श्रेष्ठ, केशव ओझा, कृष्ण मिश्र लगायतले बोलेका थिए । भरत भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए । कार्यक्रमको सञ्चालन चित्रकला ओली र ज्ञानुनाथ मैनालीले गरेका थिए ।































