जयपुर जुनियर जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा प्रथम

0
604

अर्जुनधारा ।

आयोजक जयपुर तेक्वान्दो डोजाङ झापाको बुद्धशान्ति गाँउपालिका–२ स्थित जयपुरमा सम्पन्न भएको प्रथम जुनियर जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा प्रथम भएको छ ।

स्थानीय आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र २ कास्यसहित जम्मा १४ वटा पदक प्राप्त गरी आयोजक जयपुर प्रथम भएको हो ।

त्यसैगरी प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ३ कास्यसहित जम्मा १० वटा पदक प्राप्त गरी लक्ष्मीपुर तेक्वान्दो डोजाङ द्धितीय र ३ स्वर्ण, ४ रजत र ६ कास्यसहित जम्मा १३ वटा पदक प्राप्त गरी सूर्यज्योती तेक्वान्दो डोजाङ तृतीय भएको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी लक्ष्मीपुर तेक्वान्दो डोजाङका प्रीतु राई र उत्कृष्ट महिला खेलाडी आयोजक जयपुर तेक्वान्दो डोजाङकी रेष्मा भूजेल भएका छन् । उनीहरुलाई जनही नगद ११ सयबाट पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई बुद्धशान्ति–२ वडा समितिका अध्यक्ष दिलीप श्रेष्ठ, सदस्य नेत्रप्रसाद गौतम, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य टार्जन सुब्बा, संघ झापाका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, देवनारायण चौधरीलगायतले पदकसहित प्रमाण पत्र प्रदान गरेका थिए ।

जयपुर तेक्वान्दो डोजाङ आयोजक र नवज्योती युवा क्लब सहआयोजक रहेको प्रतियोगितामा जिल्लाका २० डोजाङका तीन सय खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका अध्यक्ष चन्द्रप्रसाद गौतमले जानकारी दिए ।

अध्यक्ष गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सचिव सञ्जिव खतिवडाले र कार्यक्रमको सञ्चालन लक्ष्मी राई दनुवार र सरोज निरौलाले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गाँउपालिकाका अध्यक्ष रमेशकुमार भूजेलले गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष भूजेल कार्यव्यस्तताका कारण अनुपस्थित भएपछी प्रतियोगिताको उद्घाटन संयुक्तरुपमा वडाध्यक्ष श्रेष्ठ र संघका केन्द्रीय सदस्य सुब्बाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here