डा गिरीलाई घुस मागेको आरोप लागेपछि कारवाहीको माग गर्दै प्रर्दशन

0
869

झापा,

स्वतन्त्र युवा संगठनले झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंसँग २० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाहीको माग गर्दै भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

सयौंको संख्यामा भेला भएका संगठनका कार्यकर्ताले गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचारी गिरी राजीनामा दे लगायतका चर्का नाराबाजी गरेका थिए ।

करोडौं घुस माग्ने उपाध्यक्ष गिरीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै उनलाई सरकारले बर्खास्त गरी कारबाही गर्न संगठनले माग गरेको छ । यसअघि शनिबार संगठनले काठमाडौंको बसुन्धरास्थित गिरीको निवास वरिपरी पर्चा टाँस्दै उनलाई सामाजिक बहिष्कार गर्न आह्वान गरेको थियो ।

कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको भन्दै कलेज संचालक प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गरेका थिए । त्यसैगरी स्वास्थ्य शिक्षा अभियन्ता विजय थापाले पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाई २१ दिने अल्टिमेट दिइसकेका छन् ।

माघ १६ गतेसम्म गिरीमाथि छानबिन गरी कडा कारबाही नगरिए माघ २२ गतेबाट आयोग मुख्यालयको गेटमै आमरण अनशन बस्ने थापाले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here