उद्यमी ढकालले विद्यार्थीलाई एकबर्ष खाजा खुवाउने

0
616

भद्रपुर।

सरकारले बाल कक्षाका बिद्यार्थीको खाजा रकम कटौती गरेको भन्दै एक युवा उद्यमीले भद्रपुरको एक सामुदायिक विद्यालयका बिद्यार्थीलाई एकबर्ष खाजा खुवाउने भएका छन् ।

भद्रपुर–८स्थित पृथ्वी आधारभूत विद्यालयका बाल कक्षामा अध्ययनरत् बिद्यार्थीलाई समाजसेवी तथा युवा उद्यमी दीपेश ढकालले एक वर्ष खाजाको व्यवस्था गरी दिन लागेका हुन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको उपलक्ष्यमा विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रममा युवा उद्यमी ढकालले बाल कक्षामा अध्ययनरत् बिद्यार्थीलाई एक वर्षसम्मको दिवा खाजाको व्यवस्था गरी दिने घोषणा गरेका हुन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई सरकारले दिँदै आएको खाजा खर्च कटौती गरेपछि बिद्यार्थीहरूको संख्यामा कमी आउन थालेको र त्यसलाई रोक्न सामुदायिक विद्यालयमा खाजाको व्यवस्थापन गरी दिएको उद्यमी ढकालले बताए । बिद्यालयमा दिएको खाजाको व्यवस्थापनमा उपयोगिता देखिए आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै लैजाने उनको भनाइ छ । ‘हरेक सामुदायिक विद्यालयमा खाजाको व्यवस्थापन भए मात्र बिद्यार्थी टिकाउन सकिन्छ’– उनले भने ।

जाडो महिनामा न्यानो लुगाको अभाव र भोको पेटमा अध्ययन गर्न असम्भव भएकाले त्यस्ता विद्यार्थीलाई जाडोको लुगा र खाजाको व्यवस्थापनमा स्थानीय समुदायको सहयोग अपरिहार्य भएको अवस्थामा समाजसेवी युवा ढकालले खाजाको व्यवस्थापन गरिदिएकोमा विद्यालय परिवारले उनीप्रति आभार प्रकट गरेको छ ।

विद्यालयको बाल कक्षामा अध्ययनरत् २१ र कक्षा १ मा २० जना गरी ४१ जना विद्यार्थीलाई उद्यमी ढकालले एकबर्षको खाजाको व्यवस्थापन गरी दिएको विद्यालयका प्रधानाध्यापक नवकुमार रायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here