महिलालाई उद्यम व्यवसायमा प्रोत्साहित गर्न जोड

0
626

बिर्तामोड,

बिर्तामोडमा आइतबार आयोजित एक अन्तरक्रियाका सहभागीले उद्यम व्यवसायमा महिला सहभागिता बढाउन उचित वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् । सरोकारवालाको ध्यानाकर्षण गराउँदै उनीहरुले उद्यम व्यवसायलाई महिलामैत्री बनाउन त्यस क्षेत्रका समस्या हल गर्नुपर्ने धारणा राखे ।

सरकारले दीगो विकासको लक्ष्य प्राप्तिका लागि सन् २०३० भित्र व्यवसायिक र प्राविधिक काममा महिलाको दर ४० प्रतिशत पुर्याउने लक्ष्य तय गरेको स्मरण गराउँदै वक्ताहरुले महिलालाई उद्यम व्यवसायमा आकर्षित गर्नुपर्ने, लगानीका लागि विश्वास दिलाउनुपर्ने र प्रेरित गर्नुपर्ने बताइयो ।

नेपाल उद्योग बाणिज्य महासंघ र न्यू विजनेश एज प्रालिको आयोजना तथा बिर्तामोड उद्योग बाणिज्य संघको सह आयोजनामा महिला उद्यमी व्यवसायीसंगको व्यवसायिक तथा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियामा उक्त कुरामा जोड दिइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रमा महिला उद्यमी व्यवसायीको दरवृद्धि हुनुपर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले आफ्नो कार्यकालमा महिला उद्यमी व्यवसायीलाई प्रेरित गर्न त्यस क्षेत्रसँग सम्वन्धित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघका एशोसिएट सदस्य तथा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्सालले औचित्यसहित सहजीकरण गरेका थिए । महिलाहरुलाई उद्योग सञ्चालनमा देखिएका समस्या, चुनौति र वित्तीय ब्यवस्थापनका बारेमा छलफल गर्दै अनुभव साटासाट गर्ने उद्देश्यले झापाबाट व्यावसायिक तथा वित्तीय साक्षरता शुरु गरिएको उनले बताए ।

देशभरका १० स्थानमा व्यावसायिक तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने आर्थिक अभियान दैनिकका व्युरो चिफ डिपी भुसालले जानकारी दिए । कार्यक्रममा सहभागी उद्यमी महिलाहरुले आफूले सञ्चालन गरेको उद्योग, उत्पादन, बजारीकरण तथा वित्तीय ब्यवस्थापनका समस्या र चुनौति प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै आर्थिक अभियान दैनिकका प्रधान सम्पादक लम्सालले उद्यमी महिलाहरुलाई उत्पादन, बजारीकरण, प्रशासन, कच्चा पदार्थ, मजदुर लगायतका आधारभूत पक्षहरुको सही व्यवस्थापन गरेर उद्योग सञ्चालन गर्न सुझाव दिए ।

देशभरिबाट आर्थिक क्षेत्रमा योगदान गर्ने महिला उद्यमीहरुलाई सम्मान गर्न बिज बिजनेश समिट एण्ड एक्सीलेन्स अवार्ड २०२० घोषणा गरिएको र बिर्तामोडबाट कार्यक्रममा सहभागी उद्यमी महिलाहरुले सञ्चालन गरेको उद्योग र सफलताका आधारमा उत्कृष्ट महिला उद्यमी समेत छनौट गरिने बताइएको छ । सहभागीहरुले अवार्डका लागि आफ्नो विवरण पेश गरेका छन् ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेका थिए । स्रोतव्यक्ति निरज खनालले समेत सहजीकरण गरेका थिए । एक सय भन्दा बढी उद्यमी महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन विर्तामोड उद्योग बाणिज्य संघका महासचिव भेषराज (प्रशान्त) भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here