रेल्वे स्टेशनको स्तरबृद्धि माग

0
698

झापा।

नेपाल–भारत मैत्री संघ झापाले भद्रपुुर नगरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भद्रपुर बजारबाट करिब दुई किलोमिटर पूर्वमा अवस्थित भारत बिहारको गलगलिया रेल्वे स्टेशनको स्तरबृद्धि र लामो दुरीका रेलहरुको स्टपेजका लागि सोमवार भारतीय रेल्वे विभागका जेनरल म्यानेजरलाई ज्ञापनपत्र बुझाएको छ ।

भारतको ठाकुरगञ्जमा रेल्वेको बार्षिक निरीक्षणका क्रममा ठाकुरगञ्जमा दलबलसहित आएका मालीगाउँका जेनरल म्यानेजर राजीब रायलाई भेटेर ज्ञापन–पत्र बुझाएको बताइएको छ ।

मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष तथा प्रदेश १का सांसद ओमप्रकाश सरावगीको नेतृत्वमा गएको संघको टोलीले जेनरल म्यानेजर रायसहित किसनगञ्जबाट भारतको लोकसभामा प्रतिनिधित्व गर्ने सांसद मोहम्मद जाबेद हुसेन आजादसँग गलगलिया रेल्वे स्टेशनलाई कम्तीमा वी ग्रेडमा स्तरोन्नति गराई दिन आग्रह गरेको हो ।

टोलीमा सरावगीसहित मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी, उपाध्यक्ष तथा उद्योगी यमबहादुर श्रेष्ठ, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, भद्रपुर नगरपालिकाका पूर्वप्रमुख तथा मैत्री संघका राष्ट्रिय उपाध्यक्ष भारतेन्दुकुमार मल्लिक, रेडियो नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहाल, गलगलियाका पूर्व मुखिया गणेश राय लगायत रहेका थिए ।

टोलीले गलगलिया रेल्वे स्टेसनको स्तरबृद्धिले गलगलिया क्षेत्रको व्यापार व्यवसायमा बढोत्तरी हुने, रेल्वेको बिजिनेस बढ्नुका साथै आयात–निर्यात गर्न सरल हुने, पानीट्यांकीमा भएको ओभरलोड घटेर सहज हुने र भद्रपुर बजारको विकासमा पनि सहयोग पुग्ने विषयमा कुराकानी भएको जनाएको छ ।

छलफल सकारात्मक रहेको र जवाफमा जेनरल म्यानेजर रायले आगामी दिनमा योजना बनाएर अघि बढ्ने बताएको मैत्री संघका अध्यक्ष रेग्मीले बताए ।

यसैबीच गतबर्ष नै निर्माण सम्पन्न भद्रपुरको मेची पुलमा भारततिरबाट पहुँच सडक निर्माणको लागि विहार सरकारको यातायात विभागले टेण्डर आव्हान गरेको छ ।

तैयबपुरबाट किसनगञ्ज हँुदै ठाकुरगञ्जबाट गलगलियासम्म आइ मेची नदीको पुलमा पहुँच पुग्ने ६१ किलोमिटर सडक ९ महिनामा बनाइसक्ने गरी शनिबार टेण्डर आव्हान गरिएको र यसबाट मेची पुलसम्मको पहुँच सडक बन्ने विश्वास लागेको मैत्री संघका अध्यक्ष रेग्मीले बताए ।

पहुँचमार्ग नबन्दा ठूला गाडीहरुको आवत जावतमा समस्या हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here