चिन्तामणि दाहाल
प्रसंग :
यस शीर्षकलाई पंक्तिकारले दुईवटा पाटोबाट व्याख्या र विश्लेषण गर्ने जमर्को गरेको छ । ब्याख्या र विश्लेषण राजनीतिक पक्षबाटै गरिने छ । त्यो पनि पछिल्लो राजनीतिक घटनाक्रमको एउटा सशक्त घटनाक्रमलाई लिएर ।
एउटा पाटो :
नेपाली समाजमा प्रचलित उखान हो ‘खोलो त¥यो लौरो बिस्र्याे’ । अर्थात् आफूलाई आवश्यक परेको समयमा कुनै वस्तु वा कुराको भरपुर प्रयोग ग¥यो अनि काम सकिएपछि त्यो वस्तु वा कुराको मतलबै नराख्यो । अर्को अर्थमा काम सक्यो भाँडो, आफल तेरो फाँडो ।
समाजका विभिन्न अवस्थामा यो उखान चरितार्थ भएको देखिन्छ । किनकि मानिस स्वार्थी प्राणी हो । सबै प्राणीमा भए जस्तै मानिसमा पनि स्वार्थी जिन हुन्छ भनिन्छ । मानिस बुद्धि (कुबुद्धि ) पनि भएको प्राणी भएकोले स्वार्थी जिनको प्रयोग आफू बाँच्नका लागि मात्र नभएर हरेक आफ्ना आवश्यकतामा गर्न उद्यत हुन्छ । तर, अरु प्राणीहरु आफ्नो जीवन रक्षाका लागि आवश्यक पर्दा मात्र स्वार्थी जिनको प्रयोग गर्छन् ।
यो प्रसंग यस हप्ताको आलेखमा पंक्तिकारले राख्नुको अर्थ हो केही दिनअघि मात्र दुइतिहाई गुमाएको सत्ताधारी नेकपाभित्र देखापरेको सभामुख चयनको सकसले उत्पन्न गरेको अवस्था । अहिले महराको पतनपछि मोहरा बनाइएकी तुम्बाहाङ्फेको अडान र त्यस अडानलाई तोडेर आफ्नो स्वार्थ अनुकूल काम गर्न उद्यत नेकपाकै दुई अध्यक्ष को नाटकीय शैली ।
यसो किन भनिएको हो भने दुई अध्यक्ष नेकपाको नभएर आ–आफ्नो गुटको नेतृत्व गरिरहेका छन् । प्रचण्ड महोदयले पूर्व माओवादीको र ओली महोदयले पूर्व एमालेको । उनीहरुको यस स्वार्थको रडाकोको बीचमा उपसभामुख बनाइएकी तुम्बाहाङ्फेको घुन पिसाई ।
हिजो एमालेले आफ्नो प्रतिनिधिको रुपमा योग्य ठानेर डा.शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख बनायो भने आज सभामुख हुने अवसर आएका वेला भने पन्छाउन खोजिरहेको छ । यसमा पार्टीको स्वार्थ भए त ठिकै छ । तर, यसमा पार्टीको स्वार्थ भन्दा नेताहरुको व्यक्तिगत स्वार्थ हावी छ भने लैंगिक विभेदको प्रवृत्ति पनि हावी छ । योग्यता र क्षमताको कुरा गर्ने हो भने अहिले तुम्बाहाङ्फेले राखेको अडान, पेश गरेको तर्क र देखाएको जिम्मेवारीले उनलाई सभामुख बनाउन योग्यता पुग्दैन भन्ने छैन । उनको अयोग्यता भनेकै अहिलेको पुरुषवादी सोचमा उनी महिला हुन् ।
महिला भएकै कारण उनी सभामुख बन्न योग्य छैनन् भन्ने अर्थ बाहिरी दुनियाँले बुझ्दैछ र उनले पनि त्यही अर्थ लगाएर होला प्रष्टै अडान राखेकी छन् । उनले आफू सभामुखका लागि योग्य भएको प्रष्ट पार्दै सभामुख पदमा दाबी पनि गरेकी छन् । उनले पछिल्लो समय त अडान मात्रै होइन पार्टीलाई चुनौति पनि दिएकी छन् । उनले प्रष्टै सार्वजनिक र औपचारिकरुपमै भनेकी छन्–हटाउने क्षमता छ भने महाअभियोग लगाएर हटाओ । जबसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो हुँदैन म राजीनामा दिन्न ।
अर्को पाटो :
खोलो त¥यो लौरो बिस्र्यो भन्ने चर्चित नेपाली उखानको यस आलेखको माथिको एउटा पाटोमा तुम्बाहाङ्फेको पक्षमा चर्चा र विश्लेषण छ भने यस अर्को पाटोमा भने तुम्बाहाङ्फेको विरुद्ध चर्चा र विश्लेषण गरिएको छ । किनकि तुम्बाहाङ्फेलाई सांसद बनाउने काम पार्टीका बफादार कार्यकर्ता र शुभेच्छुकहरुले भोट दिएर गरेका हुन् भने शीर्ष नेताहरुले टिकट दिएका हुन् । तुम्बाहाङ्फे यसअघि एमालेको र सांसदमा निर्वाचित हुँदा नेकपाकी बफादार कार्यकर्ता र नेता हुन् । यसमा दुईमत छैन ।
तर, अहिले उनले म पार्टीको सदस्य होइन, त्यसैले मैले पार्टीको निर्देशन मान्नु पर्दैन । मान्दिन भन्नु सरासर गलत हो । पार्टी सिस्टमको विरुद्ध हो । अनुशासनहीन काम हो । प्राविधिक हिसाबले मात्र उनी पार्टीको सदस्य होइनन् ।
जब कि उनले हिजो पार्टीकै हरेक कुरा प्रयोग गरेर सांसद पनि भइन्, उपसभामुख पनि भइन् । अनि अब सभामुखको उनको दाबेदारी पूरा गर्ने हो भने पार्टीकै सांसदको मत चाहिन्छ । त्यो पनि उनी खोजिरहेकी छन् । यस्तो अवस्थामा उनले पार्टीको निर्देशन मान्दिन भन्छिन् भने उनलाई अब कसले सभामुख बनाउने भन्ने प्रश्नको उत्तर उनले आफैं खोजे हुन्छ । यस अर्थमा उनले लौरो बिर्सिएको प्रष्टै छ । त्यसमाथि पार्टीका नेतादेखि कार्यकर्ताहरुले उनले राजीनामा दिएर पार्टीका लागि सभामुख पद लिने मार्ग प्रशस्त गर्नुपर्छ भनेर भनिरहेका छन् । किनकि अहिलेको संवैधानिक व्यवस्थामा एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न पाइँदैन । यो कुरा उनले बुझेकै छ । बुझ्दा बुझ्दै पनि उनले बुझ पचाउनु हुँदैन ।
बरु उनले शुरुमै भन्नुपथ्र्यो कि म राजीनामा दिन्छु त्यसपछि मेरो बारेमा सोच्ने काम नेताहरुको हो । अझ उनी अहिले यति राम्रो तर्क र संवैधानिक कुरा गर्ने अवस्थाकी मान्छेले हिजो कांग्रेसले एउटै पार्टीबाट सभामुख र उपसभामुख भए एउटा पद छोड्नुपर्छ भनेर आवाज उठाएका बेला पार्टीका नेताहरुलाई भनेर सभामुख आफ्नै पार्टीबाट रहोस् म उपसभामुखबाट नैतिकताको हिसाबबाट राजिनामा दिन्छु भन्नु पथ्र्यो । त्यो त उनले भनिन् । त्यसैले अहिले उनले लिएको अडान पार्टी हित विपरीत छ भनेर पार्टी प्रणालीबाट व्याख्या गर्न सकिन्छ ।
अन्त्यमा :
पंक्तिकारको कुटनीतिक बुद्धिले यस प्रसंगमा तेश्रो पाटो पनि देखिरहेको छ । यो पाटो विश्लेषण, व्याख्या र तर्क भन्दा पनि आशंकाको पाटो हो । तुम्बाहाङ्फे एमाले गुटकी बफादार कार्यकर्ता हुन् । अहिले नेकपा भित्र एमाले गुटको नेतृत्व ओलीजीले गरिरहेका छन् । त्यस अर्थमा तुम्बाहाङ्फे ओली पक्षकी भइन् । कतै ओलीले उनलाई सभामुखमा प्रचण्डसँग कुरा नमिलेसम्म अडान लिनु, दाबी पनि गर्नु र राजीनामा पनि दिन्न भनिराख्नु भनेकोले उनले त्यसै गरेकी त होइनन् ? । यो आशंकामा कति दम छ पंक्तिकारले भन्ने कुरा भएन । यो आशंकामा दम भए÷नभएको कुरालाई पाठकवर्गमै छोडेर आजको आलेखलाई तुर्न चाहन्छु ।


























