आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, झापासहित देशभर विभिन्न कार्यक्रमको आयोजना

0
1616

काठमाडौं ।

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो।

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो। यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन्।

राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुनसकेको छैन । दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जनाए।

दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ। दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ। यसैबीच झापाका विभिन्न कार्यक्रमको आयोजना गरेर भूकम्प सुरक्षा दिवस मनाईदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here