विप्लव समूहको गतिविधि ‘आतंककारी’

0
446

झापा।

विप्लब समूहले आतंककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंशात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ ।

सो समूहले बुधबार ढुंगेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतंककारी गतिविधिको संज्ञा दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए । लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिले नै भनेका हौँ, विप्लब समूहको गतिविधि आतंककारी क्रियाकलाप हो– उनले भने– लुकेरछिपेर हमला गर्ने गतिविधि आतंककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।

विप्लव समूहले गरेको ध्वंशात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताए । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उल्लेख गर्दै उनले सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै हल्ला फैलाएर शक्तिशाली देखिन विप्लब समूहले सो हर्कत गरेको आरोप लगाए ।

विप्लबले कब्जा गरेर जग्गा कब्जा हुँदैन । नेपाल सरकार आफैँले ललिता निवासको जग्गाको सम्बन्धमा छानबिन चलाइरहेको छ । त्यो अरु कसैले भनेर होइन, जग्गा हिनामिना भएको छ भन्ने सरकार आफैँले थाहा पाएपछि छानबिन गरेको हो– उनले भने– त्यो जग्गा जसले जे भने पनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यो जग्गाको वास्तविकता पत्ता लगाउँछौँ, सरकारी जग्गा व्यक्तिलाई दिन सकिँदैन ।

विप्लब समूहलाई शान्तिपूर्ण प्रक्रियामा आउन सरकारले पटकपटक आग्रह गरेको उल्लेख गर्दै उनले विप्लब समूहको केही व्यक्ति सो समूह परित्याग गरेर विभिन्न दल प्रवेश गरिसकेकाले शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न अनुरोध गरे । उहाँहरु (विप्लव समूह) सरकारले आरोप लगायो भन्नुहुन्छ, सरकारले यहाँयहाँ आक्रमण गर त भनेको छैन नि ! उहाँहरुले टेलिफोनको टावर ध्वस्त बनाउनुभएको छ । यो त जनताको सम्पत्ति हो । एक÷एक पैसा तिरेर देशले बनाएको हुन्छ । उनले प्रश्न गर्दै भने– त्यो त सरकारको सम्पत्ति होइन नि, जनताको सम्पत्ति हो नि ! जनताको सम्पत्तिमाथि किन खेलबाड गर्नुप¥यो ?

‘रावलको ज्यान सुरक्षित छ’

प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उनीमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका छन् । विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन– उनले भने– यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।

रावल नेकपाकै नेता हुनुहुन्छ, उहाँको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ । पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्– उनले भने– उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटारबाट धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।

डेपुटी गभर्नरलाई सफाई

वित्तीय क्षेत्रलाई समस्यामा पार्ने लगायतका आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस् प्रमाण नभेटिएपछि सफाई दिइएको प्रष्ट पारे ।

श्रेष्ठका बारेमा छानबिन भएको हो, छनबिनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाई पाएको अवस्था हो– उनले भने– केही पनि प्रमाण फेला नपरीकन कारबाही गर्नै पर्छ भनेर हुँदैन, छानबिन भएको हो, केही फेला परेन ।

मुलुक निर्माणमा नेकपा र नेका भाइभाइ

प्रवक्ता बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) अन्तर्गतको आर्थिक सहायता स्वीकार गर्ने प्रक्रिया झण्डै एक दशक अघिदेखि अगाडि बढेको जानकारी गराए । एमसिसी सहायतामा कुनै राजनीतिक विषय नजोड्न आग्रह गर्दै उनले निकै लामो प्रक्रिया पार गरेर मात्रै अमेरिकाले नेपाललाई सहायता दिन लागेको बताए । सो सहायता स्वीकार गर्ने सम्बन्धमा विभिन्न कालखण्डमा विभिन्न नेताले त्यसको नेतृत्व सम्हाल्नु भएको छ– प्रवक्ता बाँस्कोटाले भने– सबैले यो अनुदान स्वीकार गर्न हुँदोरहेछ भन्ने ठानेर नै सम्झौता भएको होला भन्ने मलाई लागेको छ ।

प्रवक्ता बाँस्कोटाले मुलुकको समृद्धिको अभियानमा नेकपा र नेपाली काँग्रेस भाइभाइ नै भएको टिप्पणी गरे । कांग्रेसमात्र होइन अन्य दल पनि त्यसमा पर्छन् । हामीले चाहेको यही हो, उनले भने– देश निर्माणमा सँगसँगै काम गर्नुपर्छ । विचारको प्रसङ्गमा आमनेसामने भइरहन्छ । त्यसैले त सत्ता पक्ष र प्रतिपक्ष हुन्छ । सत्ता पक्ष र प्रतिपक्ष कहिले आमने–सामने हुन्छन् त कहिले सँगसँगै काम गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here