साधुटार।
अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारको ४४औं वार्षिक अनुष्ठान तथा श्रीमद् अग्नि महापुराण शुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले पुराणको उद्घाटन गर्दै हाम्रो सम्पदा र संस्कृति जगेर्ना गर्दै यस रमणीय भूमिलाई अझ समृद्ध बनाउन सक्दो सहयोग गर्ने बताइन् ।
खरेलले बिहीबार शंकराचार्य पीठ परिसरभित्र रहेको श्रीप्रसाद ओली स्मृति प्रतिष्ठानद्वारा निर्मित खानेपानी ट्याङ्कीको समेत उद्घाटन गरेकी थिइन् । उक्त ट्याङ्की ओली स्मृति प्रतिष्ठानद्वारा करिब १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
सोही कार्यक्रमकाबीच अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले बटुक आवास गृहको उद्घाटन गरेका थिए । नगरपालिकाद्वारा १० लाखमा निर्मित उक्त आवास गृह उद्घाटन गर्दै नगर प्रमुख रानाले साधुटारबाट बौद्धिक विद्वत्वर्गहरु उत्पादन गरेकोमा धन्यवाद दिँदै यसको विकासका लागि नगरपालिका सहयोग गर्ने बताए ।
शंकराचार्यपीठका अध्यक्ष केदारनाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेलले पूर्वको विशिष्ट धार्मिकस्थलमा रहेको वेदवेदाङ्ग पाठशाला विश्वविद्यालयमा परिणत गर्न आफूले पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा हचुमासा सामुदायिक वनका युवराज लोहार, ओली वंश समन्वय समितिका उमेशचन्द्र ओली लगायतले शंकराचार्य पीठको प्रशंसा गरेका थिए । कार्यक्रममा पीठका व्यासाचार्य पं. लक्ष्मी खतिवडाले बटुकहरुको सेवा र सुविधाका लागि यस्ता अनुष्ठानहरुको आयोजना गर्दै आएको बताए ।































