बिर्तामोड,
बर्साैदेखि बिर्तामोडको सडकपेटीमा बस्तै आएका लट्टे नामले परिचित उनलाई सबैले मानसिक सनतुलन गुमाएको संज्ञा दिन्छन् । धेरैले धेरैथरि उपनामले बोलाउने गरेका लट्टेको वसाई सडकमै हुन्छ । उनी माघको कठ्याङ्ग्रीदो चिसोमा पनि अहिले खुल्ला सडकमै रात बिताउने गर्छन । उनी को हुन् धेरैले चिन्दैनन । जान्ने सुन्नेले कुष्ठरोग लागेपछि गाउँबाट वहिस्कारमा परेको बताउँछन् ।
मानसिक सन्तुलन गुमेर सडकमा वस्ने गरेका लट्टे उपनामले परिचित उनको पूर्ण रुपमा मानसिक सन्तुलन गुमेको छ या छैन खोजीको विषय हो । सडकमा मागेर वस्ने गरेका लट्टेले मानसिक सन्तुलन पूर्ण रुपमा गुमाएको भनेपनि उनी पैसा तिरेर मात्रै खाना खान्छन् । बिर्तामोडमा मारवाडी युवाले सञ्चालन गरेको १० रुपैयाँको खाना खान आउदा उनी सधै १० रुपैयाँको नोट सहयोग वक्समा रकम खसाएर मात्रै खाना खानुले उनी पूर्ण रुपमा मानसिक सन्तुलन गुमाएका हु्न या होइनन् खोजिको विषय बनेको सरोकारवालाले बताउन थालेका छन् । यदि उनले पूर्ण रुपमा मानसिक सन्तुलन गुमाएका हुन् भने किन सधै १० रुपैयाँ नै सहयोग वक्समा रकम जम्मा गरेर खाना खान्छन् त १० रुपैयाँमा खाना खुवाउँदै आएका सामाजिक अभियन्ता प्रविण अग्रवाल भन्छन् शायद हेला गरेर मात्रै उनी सडकमा बस्तै आएका होलान् । उनलाई खाना खान आउँदा रकम जम्मा नगर्न आग्रह गरेपनि आफू सहयोग गरेर मात्रै खाना खन्छु भन्दै प्रत्येक दिन १० ÷१० रुपैयाँ सहयोग वक्समा जम्मा गर्दै आएका छन् ।
त्यसो त सडक वालवालिका, असाहय र विपन्न समुदायकलाई लक्षित गर्दै झापाका तीन युवाले झण्डै तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् ।
मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक पाँच सय जनालाई खाना खुवाउँदै आएका हुन् ।
बिर्तामोडको मुख्य चौकमा विहान ७ वजेदेखि अपरान्ह्र १२ वजेसम्म दैनिक दाह, भात, तरकारी र अचार सहितको खाना सेट उपलब्ध गराउँदै आएको युवा व्यवसायी प्रविनले बताए । – ‘चिसो मौसममा कतिपय घरमा खान नभएर भोकै काममा हिड्नु पर्ने हुन्छ अनि कतिपय सडक वालवालिका खानाको खोजिमा चिसोमा भौतिरिरहेका हुन्छन् उनीहरुलाई सहजताका लागि हामी तीन जनाले १० रुपैयाँमै खाना दिन शुरु गरेका हौं ।’
सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदुरलाई धेरै सहज भएको छ अग्रवालले भने –‘ १० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन् हामी कसैसंग पनि पैसा माग्दैनौं सहयोगका लागि टोकरी राखिदिएका छौं इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिनुन्छ ।’
सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ । विहानको चिसोमा तीन युवा आफैं खानाको तयारीमा जुट्छन् । उनीहरुसंगै अरु तीन जना कालिगढ पनि विहानै निस्कनु हुन्छ । विहानै छ सात जनाको टिमले तयार गरेको खाना वितरणका लागि दुई महिलाले सधै सहयोग गर्दै आएका छन् । विहान सातवजेबाट खाना वितरण गर्न शुरु हुन्छ । १० वजेसम्म खाना खानेको चौकमा भीडभाड हुन्छ ।
१० रुपैयाँमा खाना वितरण गर्ने भन्दा शुरुमा कसैले पत्याएका थिएनन् पुरुषोत्तमले भने – ‘बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, प्रदेश नम्वर १ का उद्योग वाणिज्य संघका सदस्य वलराम कार्की सहितको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम शुरु गर्दा सबैले हासो मजाकमा उडाए । तर, अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग समेत जुट्न थालेको छ ।’
बिर्तामोडमा १० रुपैयाँमा खाना दिन शुरु गरेपनि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको शुरुवात गरेका छन् । जसका कारण झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय,मजदुर,सडक वालवालिका र असाहयका लागि सहज भएको छ ।
रमाइलोका लागि बनभोज जानु भन्दा विपन्न वर्गलाई खाना दिएर पेट भर्नु पुण्यको काम हो मनोजले भने – अहिले दैनिक कम्तीमा पाँचसय जनाले चिसो मौसममा तातो भात खाइरहनु भएको छ, जसले गर्दा उहाँहरुलाई काममा जान समेत सहज भएको हामीले महसुस गरेका छौं ।
दिनहुँ महंगी बढिरहेका बेला दैनिक पाँच सयको हाराहारीलाई तीन युवाले तीन सातादेखि खाना खुवाउने काम गरेपछि प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला, चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडाल सहित जिल्लाका सरकारी निकायका उच्च अधिकारी सहित सामाजिक संघ सस्था, उद्योगी व्यवसायीले अनुगमन गर्दै प्रशंसा व्यक्त गरेका छन् । कतिपय सहयोगीले सो कार्यको प्रशंसा गर्दै सहयोग समेत गरेको बताइएको छ ।–––




























