झापा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना कार्यकर्ताहरुलाई कडा निर्देशन दिएको छ । पार्टीको निर्देशन विपरित कार्य गरे अब कडा रुपमा कारबाही गरिने जनाइएको छ ।
पार्टी सत्तामा रहेका कारण कार्यकर्तामा स्वच्छन्दतावादी शैली देखिएको भनेर गुनासो बढिरहेका बेला नेता–कार्यकर्तालाई पार्टी अनुशासनमा राख्न नेकपाले कडा आचारसंहिता लागू गरेको हो । नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै आलोचना बढेपछि नेता– कार्यकर्ता लक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको छ ।
हाल नेकपाका आठ लाख पार्टी सदस्य छन् । पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रतिसदस्य अरु थप चार जना बनाएर ३२ लाख सदस्य पु¥याउने योजना अघि सारेको छ । सदस्य संख्या बढाउनुअघि पार्टीले तयार पारेको विशेष परिपत्रमा नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता तय गर्दै उनीहरुलाई संविधान, पार्टी विधान र नियमावलीप्रति जवाफदेही बनाउने प्रयास थालेको छ ।
नेकपाले पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई ११ बुँदे आचारसंहिता जारी गर्दै पालना गर्न समेत भनेको छ । आचारसंहिताको १ नम्बर बुँदामा नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीविप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गरेको छ । पछिल्लो समय श्रम नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकाल्दै नेकपाले यस्तो व्यवस्था गरेको बताइएको छ ।
त्यस्तै आचारसंहिता कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी सवै पार्टी कमिटीहरुको भएको उल्लेख छ । आचारसंहितामा कुनैपनि पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःशर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्ने भनिएको छ । त्यस्तै नेकपाले आफ्ना पार्टी सदस्यहरुलाई ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याउन सचेत गराएको छ ।
‘भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितता जस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ’, नेकपाको आचारसंहितामा उल्लेख छ । त्यसैगरी नेकपाले आफ्ना पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफूले गरेको श्रमबाट आर्जित कमाइबाटै राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने भनिएको छ । ‘पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ’ नेकपाको आचारसंहितामा भनिएको छ ।
नेकपाले सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने तथा बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने स्मरण गराइएको छ । त्यस्तै आचारसंहितामा १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्ने र त्यसो गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्ने भनिएको छ ।
यस्तै नेकपाले जारी गरेको पार्टी आचार संहितामा परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्ने उल्लेख छ भने बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनु नपाइने उल्लेख छ । आचार संहिताको अन्त्यमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको भन्दै यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसँग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
नेकपाले आचारसंहिता जारी गरे लगत्तै पार्टीमा अनुशासनको विषयलाई लिएर बहस सुरु भएको छ । कार्यकर्ताले भने यसमा असन्तुष्टि ब्यक्त गरेका छन् । संगठन विपरित कार्य गर्ने माथिल्लो तहका नेताहरुलाई छुट दिएको भन्दै आलोचना समेत हुने गरेको छ । कार्यकर्ताहरुले भने नेताहरुलाई गुठको राजनीति नगर्न सुझाव समेत दिएका छन् ।































