शिवसताक्षी।

सकरात्मक सोच भएका युवाले उदाहरणीय कार्य गर्दछन् भन्ने दूधेका युवाले गरेरै देखाइदिएका छन् ।
‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि सहयोगार्थ’ दूधे युथ क्लबको सहकार्यमा सो क्षेत्रका युवाले मेरो इन्टरटेन्टमेन्ट नामक संस्थाबाट गत पुस २५ गते ‘शित कन्सर्ट’ सम्पन्न गरेका थिए । सो कन्सर्टबाट उठेको रकममध्येबाट केही रकम बचाएर उनीहरुले दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविका कक्षा १ देखि ५ सम्मका ८५ भन्दा बढी विद्यार्थीलाई कापी, कलम र चकलेट वितरण गरेका छन् ।
त्यसैगरी कक्षा ६ देखि १० सम्मका गरीब तथा जहेन्दार ११ जना विद्यार्थीलाई स्कूल ब्याग, दुई जनालाई एक हजार दुई सयका दरले नगद, त्यस्तै कक्षा ७ का दुई जनालाई संयुक्त तीन हजार, कक्षा ८ का दुई जनालाई चार हजार, कक्षा ९ का दुई जनालाई चार हजार दुई सय र कक्षा १० का तीन जनालाई दुई हजार पाँच सयका दरले सात हजार पाँच सय गरी जम्मा २१ हजार एक सय रुपैयाँ वितरण गरेका छन् ।
आयोजक समितिका सदस्य पूर्ण सुब्बाका अनुसार नगद र जिन्सी गरी ३५ हजार बराबरको सहयोग गरिएको हो । यसरी सो रकम तथा स्कूल ब्याग प्राप्त गर्ने विद्यार्थीमा कक्षा ६ बाट डिल्लीराम थापा र देवराज पौडेल, कक्षा ७ बाट सुष्मा लावती र दिपेश राई, कक्षा ८ बाट राजन गौतम र दिपेन्द्र राई, कक्षा ९ बाट योगेश बजगाँईं र नम्रता पराजुली तथा कक्षा १० बाट सुष्मिता बस्नेत, बिमला कुलुङ राई र विद्या सिग्देल रहेका छन् ।
कार्यक्रममा सन्तोष गुरुङ तथा विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजाल, मेरो इन्टरटेन्टमेन्टका शक्तिमान लिम्बू, अशोक राई, तपन गुरुङ, पूर्ण लिम्बू, रुपेश लिम्बू, सागर राई, विशाल राई, प्रज्ज्वल गुरुङ, प्रयास खतिवडा लगायतले उक्त सामग्री वितरण गरेका थिए ।
त्यसैगरी उक्त टीमले शिवसताक्षी– ९ दूधेकै सतासी प्राविमा नगद र जिन्सी गरी २० हजार बराबरको सहयोग गर्ने बताइएको छ ।
सो कार्यक्रममा नौ लाख चार हजार रकम जम्मा भए पनि उनीहरुले ५५ हजार व्यहोर्दै गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेका हुन् । उनीहरुले थोरै भए पनि गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
यसैबीच सोही कार्यक्रममा सो विद्यालयका गरीब तथा विपन्न विद्यार्थीलाई शिवसताक्षी नगरपालिका शिक्षा तथा खेलकुद शाखाले एक सय ५४ थान न्यानो स्वीटर वितरण गरेको थियो ।































