चुरेबाट ढुङ्गा तस्करी, दोहन रोक्न नहर बन्द गरेर चार बुँदे सहमति

0
546

पार्थ मण्डल /भद्रपुर।

झापा र इलामको चुरे क्षेत्रलाई ढुङ्गा तस्करले अतिक्रमणको चपेटामा पारेको घटना बाहिरिएको छ ।

इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिका जोड्ने चुरे क्षेत्रबाटै कानून विपरीत अवैध रूपमा ढुङ्गा उत्खनन् हुन थालेपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि विरोधमा उत्रिएपछि यस्तो घटना बाहिरिएको हो ।

झापाका जनप्रतिनिधि र प्रहरी, प्रशासनले चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुङ्गा उत्खनन्मा चासो नदेखाएपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएका हुन् ।

चुरे क्षेत्रको रोङ गाउँपालिका–६स्थित सिद्धि र मेची खोलामा दिनहुँ ढुङ्गा, गिट्टी उत्खनन् गर्ने कार्य नरोकिएपछि रोङ गाउँपालिकाका स्थानीय युवा सिञ्चाइ नहर बन्द गरेर बिरोधमा उत्रिएका थिए ।

स्थानीय युवाहरूले संर्घष समिति गठन गरी सिद्धि खोलाको सिञ्चाइ नहर बन्द गरेपछि मेचीनगर– १, २, ३ र ४का कृषक नौ दिन पानीबाट बञ्चित हुनुप¥यो । सिद्धि नहरको पानीले मेचीनगरमा १७ सय हेक्टर जमिनमा सिञ्चाइ हुँदै आएको छ । आईई गरेको क्षेत्रबाट मात्र ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न पाउने भनी मेचीनगर नगरपालिकाले ठेक्का लगाएको छ । तर, ठेकेदार र तस्करले चुरे क्षेत्रको इलामबाट ढुङ्गा तस्करी गरी झापा ल्याएर बेच्ने गरेको पाइएको छ ।

चुरे क्षेत्रको दोहन रोक्न संघर्ष समितिले बन्द गरेको नहरमा रोङ गाउँपालिकाको नैतिक समर्थन रहेको रोङ–६का वडाध्यक्ष सुवास तामाङले बताए । जनप्रतिनिधि नहुँदा र सिञ्चाइ नहरको निर्माण कार्य हुँदादेखि चुरे क्षेत्र बचाउ अभियानमा लागीपरेको बताउँदै वडाध्यक्ष तामाङले भने– ‘तस्करको चपेटामा परेको चुरे क्षेत्र नै नरहे मेचीनगरवासीले सिद्धिको पानी कसरी पाउँछन्, चुरे क्षेत्र बचाउनु सबैको दायित्व हो, त्यसैले संघर्ष समितिले पानी बन्द गरेर बिरोध गरेकै हो ।’

जनप्रतिनिधिले नहर बन्द नगरेको प्रष्ट्याउँदै उनले भने– ‘मेचीनगरको बाहुनडाँगी र तिरीङका कृषकलाई ९ दिन पानी नहुँदा समस्या परेकै हो । चुरे दोहन रोकिएपछि कृषकले सँधैका लागि पानी पाउँछन्, यस अभियानमा कृषकले पनि साथ दिनुप¥यो ।’ उनका अनुसार वडा कार्यालयले त्यस क्षेत्रमा उत्खनन् गर्ने ट्याक्टरलाई १० हजार जरिवाना तोकेको छ ।

नहर बन्द भएको ९ दिनपछि सर्वपक्षीय सहमति

चुरे क्षेत्र दोहनसँगै ढुङ्गा तस्करी रोक्नुपर्र्ने संर्घष समितिले अडान राख्दै सिद्धि नहर बन्द गरेपछि सोमबार इलाम र झापाबीच सर्वपक्षीय छलफल भएको थियो । सोमबार साँझसम्म भएको छलफलमा चार बुँदे सहमति भएको छ ।

सहमतिमा सिद्धि र मेची नदी चुरे बफर जोन क्षेत्रको नदीजन्य पदार्थ निषेधित क्षेत्र भएको हुँदा सो क्षेत्रमा नदीजन्य पदार्थहरू ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् कार्यलाई तत्काल बन्द गर्ने र यस क्षेत्रमा ढुवानीका साधनहरू ट्रक, ट्याक्टर र टिपर प्रवेशमा रोक लगाउनुका साथै सो क्षेत्रमा त्यस्ता सवारीसाधन प्रवेश गरेको भेटिएमा दुवै पालिकाले कानूनी कारबाहीका लागि स्थानीय प्रशासनमा लेखेर पठाउने उल्लेख छ ।

त्यस्तै सो क्षेत्रका स्थानीयले घरायसी प्रयोजनका लागि सवारीसाधन नदीमा लगेको खण्डमा स्थानीय तहबाट अनुमति–पत्र अनिवार्य ल्याउने, सिद्धि नहरको बन्द रहेको पानी मंगलवार बिहान ६ बजेदेखि सुचारु गर्ने, चुरे बफर जोन क्षेत्रमा उत्खनन् भएको नदीजन्य पदार्थलाई जिल्ला अनुगमन समितिको निर्णय अनुसार नियन्त्रण लिई कानून बमोजिम प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

त्यसैगरी चुरे क्षेत्र लगायत आईई नभएका क्षेत्रहरूलाई दुवै पालिकाहरूले उत्खनन् नगर्ने नगराउने प्रतिबद्धता जनाउँदै दुवै पालिकाले सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष पोर्तेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य, रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राई, मेचीनगर उपप्रमुख मीना उप्रेती, समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराइली, सदस्य चन्द्र मगर, झापाका सदस्य गंगा कार्की, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, रोङ–६का वडाध्यक्ष सुवास तामाङ, मेचीनगर–१का वडाध्यक्ष पासाङ तामाङ, संर्घष समितिका संयोजक निर्मल स्याङ्बो (तामाङ) लगायत सिद्धि नहरका उपभोक्ता, पत्रकार, सुरक्षाकर्मीको उपस्थिति थियो ।

सहमति भएको तीन घण्टा नबित्दै फेरि उत्खनन्

सोमबार बेलुका साढे ६ बजे सर्वपक्षीय सहमति पश्चात् चार बुँदे सहमति गरेर सबै जना आ–आफ्नो बाटो लागे । चुरे बफर जोनमा उत्खनन्सँगै सवारीसाधन निषेधित क्षेत्र तोक्दै सहमति भयो । सहमति भएको तीन घण्टा नबित्दै सो क्षेत्रबाट ढुङ्गा उत्खनन् भएको छ ।

त्यस क्षेत्रबाट उत्खनन् गरी काँकरभिट्टा हुँदै बिर्तामोड तर्फ गइरहेको दुईवटा टिपर इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लियो । प्रहरीले ना७ ख ६६२५ नम्बर टिपर धुलाबारी चोकबाट र को१ख ४३९४ नम्बरको टिपर इँटाभट्टा चोकबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

दुवै टिपरले चुरे क्षेत्रबाटै ढुङ्गा लोड गरी ल्याएको चालकलाई सोधपुछ गर्दा खुलेको उनले बताए । चालकसँग मेचीनगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एण्ड सप्लायर्स प्रालि इटहरी रसिद थियो । सो रसिदमा ढुङ्गा २६५ क्यु फिटको कर बापत १ हजार ७ सय ९६ रुपैयाँ लिएको देखिन्छ । टिपर चालकले सोमबार बेलुका ६ बजे नेत्र सुब्बाले ढुङ्गा ल्याएको बताए ।

९ दिनपछि नहर सञ्चालनमा

झापाका जनप्रतिनिधिले चुरे क्षेत्र दोहनको विषयमा चासो नदेखाएपछि इलाम रोङ गाउँपालिकाका युवाहरूले सिद्धि नहर बन्द गरेर दबाब दिए । युवाहरूले संर्घष समिति गठन गरेर पुस २७ गते नहर बन्द गरेका थिए । चार बुँदे सहमति पश्चात् मंगलवार बिहानदेखि नहर खोलिदिएको रोङ–६का वडाध्यक्ष तामाङले जानकारी दिए ।

सिद्धि नहरको पानी मेचीनगरको तिरीङ र बाहुनडाँगी क्षेत्रमा आउँछ । नहरकै पानी त्यहाँका कृषकले खेतबारीमा प्रयोग गर्छन् । नहर बन्दा हुँदा ९ दिनसम्म त्यहाँ कृषक समस्यामा परेका थिए । सरकारले ७० करोडभन्दा बढी लगानीमा सिद्धि नहर सञ्चालनमा ल्याएको हो ।

आईई गरेको स्थानमा बोर्ड नै छैन

मेचीनगर नगरपालिकाले आईई गरेको क्षेत्रमा बोर्ड नराख्दा चुरे क्षेत्र नभई हडिया, निन्दा, मेची, टिमाई नदीमा जथाभाबी उत्खनन् भइरहेको पाइएको छ । ठेकेदारले केही जनप्रतिनिधि र स्थानीय प्रहरीको आडमा ती खोलाहरूको निरन्तर दोहन गरिरहेका छन् । खोलाहरूको दोहन भइरहँदा समेत अनुगमन समितिले त्यसतर्फ चासो देखाएको छैन ।

गतबर्ष नदीजन्य पदार्थ जिल्ला अनुगमन समिति झापाले मेचीनगरमा अनुगमन गर्दा पनि नगरपालिकाले आईई गरेको क्षेत्र बाहेकका क्षेत्रबाट ठेकेदारले जथाभावी उत्खनन् गरिरहेको पाइएको थियो । यस बर्ष पनि ठेकेदारले आईई क्षेत्रबाहेक पनि नदीका सीमाहरू विभिन्न व्यक्तिलाई बेचेर रकम असुल्दै आएको छ । आईई क्षेत्र तोकेको स्थानमा सबैले देख्ने गरी बोर्ड राख्न मेचीनगर नगरपालिकालाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनले भने– ‘नियन्त्रण गर्ने प्रहरीलाई नै थाह छैन, कुन क्षेत्र आईई गरेको हो, कुन क्षेत्र होइन ।’ ‘बोर्डसहित आईईको प्रतिवेदन मेचीनगरका मेयरसँग माग गरेका छांै’– उनले भने– ‘मेचीनगरले नदीजन्य पदार्थको परिणाम खुल्ने गरी बोर्ड राखेपछि नदी दोहन आफैं नियन्त्रण हुन्छ, यसका लागि प्रहरी लागीपरेको छ ।’ चुरे क्षेत्रको दोहन रोक्न तिरीङ प्रहरी चौकीका इञ्चार्जलाई खटाइसकेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here