प्लाष्टिकको छानामुनि सुत्न विवश कैदीबन्दी

0
1011

डोटी,

जिल्ला कारागार डोटीका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी पर्दा छानाबाट पानी चुहिने भएकाले प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य भएका छन् । वर्षौं पुरानो कारागार जीर्णभएको छ ।

कारागारमा पुरुष ४३ र महिला चार गरी हाल कूल ४७ बन्दी रहेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो । “भवन पुरानो छ बेलाबेलामा पानी पर्दा चुहिन्छ”, उहाँले भन्नुभयो, “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छाँै बजेट आएको छैन आएपछि मर्मत गर्नेछौँ ।”

सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट खिएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कस्को टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताउँछन् ।

रकम अभावले कारागारको जीर्ण भवन मर्मतसम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताउनुभयो । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, उहाँले भन्नुभयो, “फर्समा पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कारागारका कर्मचारी बताउँछन् ।

कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी हुँदा खानेपानी थाप्न र शौचालय जानका लागिसमेत पालो पखर्नुपर्ने अवस्था रहेको कैदीबन्दी बताउँछन् । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । हामी नि नेपाली नागरिक हौँ, सहजरुपमा बाँच्न पाउनुपर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ ।” कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ । कारागार मर्मतका लागि खासै ठोस बजेट नआएकाले सामान्य वर्षात् हुँदा पनि झनै दुःख पाइने गरेको कैदीबन्दीको गुनासो रहेको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले जीर्ण कारागार मर्मतका लागि केही रकम दिने आश्वासन दिएको कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागबाट रकम आएको छैन, नगरपालिकाले छाना मर्मतका लागि रकम दिने भनेको छ तर दिएको छैन, दिने बित्तिकै मर्मत गर्छौं ।”

कैदीबन्दीलाई पढ्न सजिलो होस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीले केही महिना पहिले कारागारमा पुस्तकालयको समेत व्यवस्था गरेको छ । पुस्तकालय स्थापना भएपछि कैदीबन्दीलाई पुस्तक पढ्न र समय बिताउन निकै सजिलो भएको कैदीबन्दीका नाइके जेठाराले जानकारी दिनुभयो ।डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो राणाकालीन कारागार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here