मकैको बीउ जोहो गर्न थालें किसान

0
626

गाईघाट,

उदयपुर जिल्लाका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले अहिले मकैको बीउ जोहो गर्न थालेका छन् ।

गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै लाग्दा बीउको जोहो गर्न थालेका हुन् ।

लामो समयसम्म पानी नपरेर खडेरी लागेका कारण उदयपुरको मध्यपश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र उत्तरी दुर्गम पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाकामा सम्पूर्ण मकैबाली नष्ट भएको थियो । फागुन लाग्नासाथ मकैबाली लगाउन शुरु गर्नुपर्ने हुनाले अहिले यस क्षेत्रका कृषकले मकैको बीउ जोहो गर्न थालेका छन् ।

लिम्चुङबुङ गाउँपालिकाको बलम्ता, जाँते, बराह, ताम्लीछा तथा बाँसबोटेका कृषक राम्रो उत्पादनयुक्त मकैको बीउको खोजी तथा जोहोमा लागेको जाँतेका अम्बरबहादुर बुढाथोकीले बताउनुभयो । अब माघ बित्न लागेको र फागुनको दोस्रो हप्ताबाट गाउँघरमा मकैखेती शुरु गर्नुपर्ने हुनाले आफूहरु राम्रो मकैको बीउको जोहो गर्ने काममा लागेको उहाँले बताउनुभयो ।

यस्तै लिम्चुङबुङ गाउँपालिका–५ बलाम्ताका अर्का कृषक डिकबहादुर राईका अनुसार अब दिनदिनै गाउँघरमा मकैखेती गर्ने सिजन शुरु भएका कारण आफूहरु पनि मकैको बीउ व्यवस्थापन गर्नतिर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटकको खडेरीले मकै मात्र होइन, कोदोसमेत सबै डढाएर स्वाहा बनायो, अब मकैको बीउसमेत गाउँघरमा छैन, अहिले आफूहरु मकैको बीउको खोजीमा छौँ, छिमेकी जिल्ला खोटाङतिर पनि खडेरीले मकै मरेका कारण बीउ अभाव छ, मकैको पहाडी बीउनै आवश्यक हुनाले भोजपुर वा धनकुटातिर बीउको जोहोका लागि आफूहरु जान लागेका छौँ ।”

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले कृषक मकैको बीउ व्यवस्थापनमा चिन्तित बन्न थालेको हुँदा गाउँपालिकाले आफैं बीउको जोहो गर्ने प्रयासमा लागेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here