मेचीनगरमा तीन दलको २१ बुँदे माग

0
742

काँकरभिट्टा,

मेचीनगरक्षेत्रमा रहेका क्रियाशील तीनवटा राजनीतिक दलले मंगलबार मेचीनगर नगरपालिका कार्यपालिको कार्यालयमा २१ बुँदे ज्ञापन–पत्र बुझाएका छन् । नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी पार्टीले नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ज्ञापन पत्र बुझाएको हो ।

एकनम्वर प्रदेश भित्र एकरुपता ल्याउनेगरी प्रदेश सरकारले तोके बमोजिमको नदीजन्य पदार्थको संकलन तथा बिक्री शुल्क अनुसार मेचीनगर नगरपालिका कार्यालयले ठेक्का लगाउदा नगरपालिकाको राजश्व संकलन बिगतको भन्दा कमि हुनु र नगरवासीहरुका लागि अत्यधिक कर बृद्धि हुनुले नगरबासीमा संघीयताप्रतिको बितृष्णा उत्पन्न हुनका साथै जनप्रतिनिधिहरु प्रति आक्रोस व्यक्त भईरहेको बर्तमान अवस्थामा प्रदेश सरकारले निर्धारण गरेको शुल्कमा पुनःविचार गरि सच्याउनका मेचीनगर नगरपालिका मार्फत प्रदेश सरकार समक्ष दलहरुले जोडदार माग गरेका छन् ।

नगरबासिहरुले नगरक्षेत्र भित्र आफ्नो निजी तथा सार्वजनिक निर्माणका कार्यहरुमा प्रयोग गर्ने गरिएको नदीजन्य पदार्थहरुमा हाल लगाउदै आईरहेको करको दर घटाई कर समायोजन प्रक्रिया यथाशीघ्र लागु गर्नुका साथै ठेक्का लगाउदा मेचीनगर नगरपालिका तथा ठेकेदार बीच गरीएका सम्झौता अनुसार नदीजन्य पदार्थको उत्खनन गर्ने कार्य समेत नभएको हुंदा सो बाट उत्पन्न हुनसक्ने बिपद्लाई समेत ध्यानमा राखी यथाशीघ्र सम्झौता बमोजिम उत्खनन कार्य गर्न गराउन , मेचीनगर नगरपालिकाले गौरवका योजनाहरु तयगर्दा ब्यापक रुपमा छलफल गरि निर्णयमा पुग्नुपर्नेमा त्यसो नगरी गरिएका निर्णयहरु पटक पटक परिवर्तन गरिरहदा नगरको लक्ष्य प्राप्तिमा ढिला भईरहेको र चाडो गर्नुपर्ने, मेचीनगर नगरपालिकामा समायोजन भएका गांविसहरुमा समायोजन पूर्व निर्माण भईसकेका घरहरुलाई नयाँ नक्सा बनाई तिनीहरुबाट नक्सा पास शुल्क असुल भईरहेकोमा सो शुल्कलाई यशाशिघ्र निश्चित समयका लागि निशुल्क नक्सापास गर्नुपर्नेलगायतका माग ज्ञापन पत्रमा समेटिएका छन् ।

मेचीनगर नगरपालिकामा न्यायकालागि पेश गरिएका बिभिन्न झगडाक मुद्धाहरुको छलफल तथा तिनीहरुको समाधानार्थ गरिने प्रयासमा स्थानीय तहबाट न्याय सम्पादन कार्य छिटो छरितो तथा प्रभावकारी बनाउने तर्र्फ विशेष ध्यानदिन, नेपाल चिया बिकाश निगमले मेचीनगर नगरपालिकालाई बुझाउनुपर्नेे कर बापतको करोडौं रकम हालसम्म नबुझाएकोमा सो प्रति मेचीनगर नगरपालिका गम्भिर बन्न समेत दलहरुको माग छ ।

नगरपालिका मार्फत असुल गरिने सबै प्रकारका करको दर अत्याधिक भई करको मारमा नगरवासीहरुले ठूलो आर्थिक बोझ व्यहोर्नु परिरहेको र “थोरै कर, धेरै करदाता” को मान्यतामा करको दायरालाई ल्याउन , नगरक्षेत्र भित्र संचालित टेम्पो, सिटि सफारी जस्ता तीन चक्के यातायातका साधनहरुको उचित भाडा दर तथा पार्किङ्गको ब्यवस्थापन गर्न, मेचीनगरका बाहुनडाँगी, मागुरमाडी लगायतका क्षेत्रहरुमा स्थानीय जनता सञ्चार सुविधाबाट बञ्चित अवस्थामा रहेकाले ती क्षेत्रहरुको पहिचान गरि अविलम्ब टेलिफोन टावरको ब्यवस्था गर्न आवश्यक कार्वाही अगाडी बढाउन, मेचीनगर नगरक्षेत्र भित्र रहेका, कुलो, पैनी तथा बगान क्षेत्रका ऐलानीप्रर्ति जग्गाहरु ब्यक्तिगत नाममा दर्तागरि तीव्र अतिक्रमण भईरहेकोमा यस प्रकारका जग्गाहरुको अबिलम्ब संरक्षण गर्न, मेचीनगरपालिका वडा नं. ६ अन्तर्गत काँकरभिटा क्षेत्रमा रहेका सार्वजनिक महत्वका जग्गाहरु हाल राष्ट्रिय आवस कम्पनीको नाममा दर्ता कायम रहेको हुंदा उक्त जग्गा मेचीनगर नगरपालिकाको नाममा ल्याउन समेत नगरका राजनीतिक दलहरुले स्थानीय सरकार समक्ष माग गरेका छन् ।

यसैगरी, मेचीनगर नगरपालिकाको अत्यन्तै ठुलो लगानी र बैक्लपिक बसपार्कको रुपमा निर्माण भएको मेचीनगर ७ मा अवस्थित प्यारीभिट्टाको बसपार्क हालसम्म ब्यवस्थित रुपमा सञ्चालन हुन नसकेको र यति ठुलो जनताको लगानी निस्क्रय हुदा त्यसको प्रत्यक्ष आर्थिकभार नगरबासीलाई पर्न गएको हुंदा उक्त बसपार्कको यथोचित ब्यवस्था मिलाई सञ्चालनमा ल्याउन समेत ज्ञापन मार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख आचार्य र उप्रेतीले राजनीतिक दलहरुको माग प्रति आफुहरु सकरात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँहरुले प्रस्तुत मागहरु मध्ये धेरै कार्यान्वयनको चरणमा रहेको कति प्रारम्भको चरणमा रहेको बताउँदै स्थानीय सरकार नगरवासी र नगरका क्रियाशील राजनीतिक दलहरुसँग समन्वय गदैं अघि बढ्ने समेत जानकारी गराउनुभयो ।

ज्ञापन पत्रमा नेपाली काँग्रेस, मेचीनगर नगर समिति सभापति ईन्द्रबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मेचीनगर नगर समिति सभापति सुशील आचार्य, समाजवादी पार्टी, मेचीनगर नगर समिति अध्यक्ष ओमप्रकाश खापुङ्गको हस्ताक्षर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here