पदमार्ग निर्माणको प्रारम्भ, तीन हजार लालीगुराँसका बिरुवा रोपिँदै

0
603

नरेन्द्र ढकाल / बिर्तामोड।

पर्यटनको एउटा प्रमुख आकर्षण मानिएको पदयात्रा मार्गहरूको विकास गर्न सके विदेशीको प्रमुख गन्तब्यको रुपमा नेपाललाई चिनाउन सकिन्छ ।

युरोपीयन मुलुकबाट वर्षेनि हजारौं पर्यटक नेपाल घुम्न आउने गरेका छन् । पश्चिम नेपालका धेरै स्थानमा विदेशी पर्यटक पुग्ने गरे पनि पूर्वी नेपालका सीमित स्थानमा मात्रै पर्यटक आउने गरेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइरहेको छ ।

संघीय संरचना अनुसार मुलुकमा तीन सरकार रहेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नै कार्यविधि बनाएर काम गरिरहेका छन् । अधिकांश स्थानीय तहले पाँच वर्ष कार्ययोजना बनाएर काम गरिरहेका बेला इलामको रोङ गाउँपालिकाले भने पर्यटकको दीर्घकालीन १० वर्षे योजनाको पहिचान गर्दै काम प्रारम्भ गरेको छ । स्थानीय तहले सम्भावना बोकेको स्थानको पहिचान गर्दै पदमार्ग निर्माणका लागि सम्भाब्यता अध्ययन सकेर बजेट समेत विनियोजन गरेको रोङ–६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले जानकारी दिए ।

मेची–सलकपुर–झण्डी–गिद्धेभीर–हाँसपोखरी पदमार्ग नामकरण गरेर पदमार्गको ट्र्याक खोल्ने काम भइरहेको छ । गाउँपालिकाको गाउँसभाबाट ८ लाख रुपैंया बजेट विनियोजन गरेर पदमार्गको काम प्रारम्भ गरिएको वडाध्यक्ष सुवासले बताए । उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सबै रकम पदमार्ग निर्माणका लागि प्रयोग गरिने जानकारी दिए । सबै राजनीतिक दलको एकताले गर्दा पदमार्ग निर्माणलाई छिट्टै सम्पन्न गर्न सकिने र प्रदेश तथा केन्द्र सरकारले समेत पदमार्ग निर्माणका लागि सकारात्मक कदम चालेको वडाध्यक्ष सुवासको भनाइ छ । इलाम क्षेत्र नम्बर–१ का प्रदेश र संघीय सांसदले समेत पदमार्ग निर्माणलाई गुरु योजनाका साथ अघि बढाएको बताइएको छ ।

इलाम पर्यटकीय हिसाबले नेपालको उत्कृष्ट गन्तब्यमा परेको भए पनि पर्यटकलाई लामो समयसम्म इलाममा राख्ने उद्देश्यले पदमार्गको निर्माण शुरु भएको हो । पदमार्गको दाँया–बायाँ नेपालको राष्ट्रिय फूल लालीगुँरास रोप्ने उद्देश्यले झण्डीडाँडामा तीन हजार बिरुवाको नर्सरी राखेकोे र त्यसलाई हुर्काएर पदमार्गको छेउमा रोप्ने बताइएको छ । समुद्र सतहबाट तीनसय मिटरदेखि तीन हजार मिटर उचाइसम्मको पदयात्रा करिब १४ किलोमिटर दुरीको हुने वडाध्यक्ष सुवासले जानकारी दिए ।

झापाबाट सबैभन्दा नजिकको गुराँसको जंगलको रुपमा विकास गर्ने उद्देश्यका साथ आफूहरुले ठाँउको पहिचान गरेर काम शुरु गरेको उनले बताए । वनस्पति तथा जीव विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई यो पदमार्ग तथा लालीगुँरास जंगल उपयोगी हुने विश्वासका साथ काम गरिरहेको वडाध्यक्ष सुवाले बताए । पदमार्गलाई माउन्टेन बाइक यात्राको रुपमा विकास गर्दै मेचीनदीको किनारबाट शुरु भएको यात्राले पूर्वमा भारतका विभिन्न स्थान तथा दक्षिणमा झापाका समतल फाँटहरु देख्न सकिने बताइएको छ ।

युवा पुस्तामा लोकप्रिय रहेको माउन्टेन बाइकको यात्रा गर्न धेरै पर्यटकहरु पोखरा लगायतका पश्चिमका पर्यटकीय क्षेत्र गइरहेका बेला सुदुर पूर्वको इलाममा पनि माउन्टेन बाइकको यात्राका लागि पदमार्ग निर्माणको काम प्रारम्भ भएको हो । एक दशकभित्रै पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनाउँन आफूहरु लागि परेको वडाध्यक्ष सुवासले बताए । रोङ–६ का पर्यटकीय स्थलहरु सलकपुर, झण्डीडाँडा, भीमसेन ढुङ्गा, हल्लिने ढुङ्गा, लेप्चाबस्ती, मनकामना मन्दिर, मिनी माउन्टेन, सिद्धीमेची दोभान, तारेभीर लगायतका रमणीय स्थालको दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

भारतको सिक्किमस्थित गान्तोकमा रहेको तारेभीर हेर्न विदेशबाट लाखौं पर्यटकहरु पुग्ने गरेको भन्दै वडाध्यक्ष सुवासले भने–गान्तोकको तारेभीर भन्दा सलकपुरमा रहेको तारेभीर उत्कृष्ट र रमणीय छ । यसको प्रचारप्रसार र विकास गर्न सके विदेशीको आकर्षणको केन्द्रको रुपमा चिनाउन सकिन्छ । पदमार्गलाई कृषि पर्यापर्यटनसँंग जोडेर यस ठाँउको सुन्तला, अदुवा, छुर्पी, अलैंची, एबोकार्डो लगायतलाई कोशेलीको रुपमा पर्यटकलाई बिक्री गर्दै अर्थोपार्जन गर्न सकिने बताइएको छ । पदमार्गका आसपासमा होमस्टे निर्माण गरेर इलामको संस्कृति, सभ्यता र यस स्थानको रमणीय दृश्यका साथै आनन्द लिन सकिने वडाध्यक्ष सुवासको भनाइ छ ।

भारत लगायत तेस्रो मुलुकबाट इलाम आउने पर्यटकको बसाइ लम्ब्याउन कन्याम, श्रीअन्तु र सलकपुर भ्रमण चक्रप्रणालीको रुपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको वडाध्यक्ष सुवासले बताए । कन्यामको चियाबारी, पाथीभरा मन्दिरको दर्शन गर्दै सूर्योदयको दृश्यावलोकन गरेर सलकपुरको सुन्तलाको मिठास लिनका लागि पर्यटक आकर्षित हुने योजनाका साथ पदमार्गको निर्माण कार्यको पहिचान गरेर पदमार्गको गुरुयोजनाका साथ काम प्रारम्भ गरिएको वडाध्यक्ष सुवासले जनकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here