विनोद सापकोटा / झापा।

शिवसताक्षी नगरपालिका–१०का श्याम श्रेष्ठ शारीरिक रुपमा अशक्त हुन् । उनको दायाँ खुट्टाले चाहेको जस्तो गरेर सहजै भुइँ टेक्दैन ।
तर, पनि उनी कृषि पेशामा अब्बल मानिन्छन् । मंगलबार नगरपालिकामै उनलाई बालीमा औषधि छर्किने मेसिन नगरले अनुदानमा दियो । उनले भने– ‘यस अघि कुचोले वालीमा औषधि छर्कन्थेँ अब मेसिनबाट गर्छु ।’ आफ्नो थोरै जमिनमा तरकारीबाली गर्ने श्रेष्ठले अव परम्परागत कृषि पेशा छोडेर आधुनिक कृषि प्रणाली अंगाल्ने बताए । खुशीले गद्गद् हँुदै उनले भने– ‘आफैंलाई पुग्ने मात्र गर्थँे, अब गाउँलाई नै पुग्ने गरी खेती गर्छु ।’
लक्ष्मीकान्त ढकाल शिवसताक्षी–३का किसान हुन् । ढकाल पाथीभरा कृषि समूहमा आवद्ध छन् । सामुहिक खेती प्रणालीका लागि उनको समूहले ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावर टेलर पायो । यस्तै सोही समूहले धान काट्ने रिपर र मकै छोडाउने मेसिन पनि पायो । नगरले आधुनिक खेती प्रणालीतर्फ किसानलाई उत्साहित बनाउन कृषि उपकरण विगत वर्षदेखि नै प्रदान गर्दै आएको छ । कृषि उपकरण पाउँदा दंग परेका किसानले भने– ‘अब कुटो कोदालोको जमाना गयो ।’
शिवसताक्षी नगरले नगरका ११ वटै वडाका क्रियाशील कृषि समूह र किसानका लागि मंगलबार कृषि उपकरण प्रदान गरेको हो । ५० प्रतिशत अनुदानमा नगरका ३७ कृषक समूहले औषधि छर्किने स्प्रे पाएका छन् । समूह दर्ताको प्रतिलिपि, समूहको छाप र समूहको माइन्यूट नगरको कृषि शाखामा पेश गरेपछि किसान समूह अनुदानमा औजार पाउन योग्य मानिन्छन् । नगरको तथ्यांक अनुसार ८६ प्रतिशत नगरवासी कृषि पेशामा आश्रित छन् । सम्वन्धित वडाको सिफारिस र नगरको अनुगमनका आधारमा किसानले उपकरण पाएका हुन् । शिवसताक्षी नगरपालिका र नगरका क्रियाशील समूह र किसानको ३५ लाख ५१ हजार १ सय ७५ रुपैयाँको लागतमा कृषि उपकरण वितरण गरिएको हो ।
नगरले चालू वर्षमा २२ जना किसानलाई मकै छोडाउने मेसिन दिएको छ । यस्तै २७ किसानलाई मकै रोप्ने मेसिन प्रदान गरेको शिवसताक्षी नगरको कृषि शाखाले जनाएको छ । नगरले कृषि समूहका लागि शतप्रतिशत अनुदानमा २३ वटा कृषक समूहलाई साना सिञ्चाइ मोटर प्रदान गरेको छ । यस्तै २२ कृषि समूहका लागि नगरले ७५ प्रतिशत अनुदानमा धान काट्ने रिपर प्रदान गरेको छ । यता पावर टेलर ५० प्रतिशत अनुदानमा २२ किसान समूहले पाएका छन् ।
शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले ‘व्यावसायिक खेती गरिरहेका किसानहरुलाई राहत पुग्ने गरी समूह र व्यक्तिगत फर्महरुलाई अनुदानमा कृषि सामग्री प्रदान गरिएको बताए । कृषि क्षेत्रलाई नगरले प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै नगरप्रमुख सेर्मा भने– ‘व्यावसायिक रुपमा कृषि पेशामा थप अनुदानका कार्यक्रम पछिल्ला वर्षमा ल्याउनेछौं ।’
उनले परम्परागत खेती र विषादियुक्त औषधि प्रयोगले नगरका हरेक गाउँमा क्यान्सर, मृगौला, मधुमेह लगायतका प्राणघातक रोग दिनहँु बढ्ने गरेको बताए । उनले भने– ‘कुटो कोदालो प्रयोग गर्ने जमाना अब गयो ।’ नगरलाई कृषि क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न किसानको भूमिका अह्म हुने भन्दै उनले दिनमा थप कार्यक्रम ल्याउने बताए ।
नगरका योजना अधिकृत प्रकाश चौधरीले व्यावसायिक रुपमा किसानले तरकारी खेती गरे कामका लागि विदेशिनु नपर्ने बताए । ‘किसानहरुलाई कृषि पेशामा नै आत्मनिर्भर बनाउन नगरले दर्जनौं योजना ल्याएको बताउँदै उनले भने– ‘तपाईंहरुले अब नगरलाई कृषिमा आत्मनिर्भर बनाउनुहोस्, हामी तपाईंहरुलाई व्यवसायिक किसान बनाउँछौ ।’
शिवसताक्षी नगरको कृषि विकास समितिका अध्यक्ष बलजित राईको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाकी जानुका श्रेष्ठले स्वागत र प्रशासन शाखाका अधिकृत बिमल बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।































