अमित खम्बू / अर्जुनधारा ।

छोरा सरह अविवाहित छोरीहरुले आमाबुबाको दशगात्र विधि(काजकिरीया) गरेको घटना नौलो होइन । तर, झापाको अर्जुनधारा–९ स्थित कटहरडाँडामा दुई विवाहित छोरीले आमाको काजकिरीया गरिरहेका छन् ।
गत माघ ७ गते निधन भएकी ८२ वर्षीया आमा कृष्णमाया कँडेलकी जेठी छोरी पूण्यमाया कँडेल चौधरी“पुनम” र कान्छी छोरी रेनुदेवी कँडेल कटुवालले दशगात्र विधि अनुसार कोरो ढिकुरो बसेर पिण्ड दान गरिरहेका छन् ।
जहाँ प्राण गयो त्यसै स्थानमा आफ्नै छोरीहरुले काजकिरीया गरोस् भन्ने आमाको इच्छा अनुसार र गोत्र सरेर गएका छोरीहरुले पनि काजकिरीया गर्दा फरक पर्दैन भन्ने मान्यताले आफूहरु काजकिरीयामा बसेको कान्छी छोरी रेनुदेवीले बताइन् । ‘घरको सासुससुरा र श्रीमानको सहयोगका कारण आमाको इच्छा पूरा गर्न सफल भएको छु’–उनी भन्छिन् ।
राष्ट्रिय प्रजातन्त्र महिला संगठन(संयुक्त)की केन्द्रीय सदस्य समेत रहेकी जेठी छोरी पूण्यमायाले काँइला काकाका छोराहरुले हाम्रो माइतीघरमा काजकिरीया गर्न नमानेपछि आमाको इच्छा अनुसार आफूहरुले कर्मकाण्ड गरेको बताइन् । उनी भन्छिन्–‘तीन दिनसम्म काकाको छोराहरुलाई पर्खिदा पनि उहाँहरु नआएपछि हामीले काजकिरीया सुरु गरेका हौं ।’
धार्मिक संस्कार अनुसार पुरेत सूर्यप्रसाद आचार्यले उनीहरुलाई कर्मकाण्डमा सहयोग पु¥याइरहेका छन् । उनको निर्देशनमा छोरीहरुले तर्पण, पिण्ड दान कर्मलगायतका कार्यहरु गर्दै आएका छन् । पिण्डको सरदाम झिलझिले निवासी कान्छी सानी आमा वत्छला भण्डारीले तयार गरिदिने गरेकी छिन् ।
हिन्दु धर्मशास्त्र अनुसार छोराछोरीलाई विभेद गरेको देखियो र सोही विभेद हटाउन तथा आफ्नो आमाबुबाको काजकिरीया गर्न छोराछोरी बराबर हुन् भन्ने मान्यताको आधारमा घरपरिवारको सल्लाहलेनै श्रीमतीलाई काजकिरीया गर्न दिइएको रेनुदेवीका श्रीमान् काशीनाथ कटुवालले बताए ।
“छोरा सरह छोरीले काजकिरीया गर्न नपाउने हो भने कि त मान्छे खोज्नुप¥यो कि त काजकिरीया नहुने भो !”, छिमेकी भगीरथ लुँइटेलले भने, आमाका लागि छोरीहरुले सुरु गरेको उक्त कार्य समाजमा नौलो र उदाहरणीय भएको हुँदा अन्य परीवारले पनि यस किसिमको कार्य अनुशरण गर्नुपर्ने हुन्छ ।”
यता अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देल गोत्र सरेर गएको छोरीहरुलाई आमाबुबाको जुठो तीन दिन सम्ममात्र लाग्ने निर्णय सिन्धुमा उल्लेख रहेको बताउँछन् । पहिला छोरा नहुँदा सहगोत्रीले, सहगोत्री नहुँदा मितले, मित नहुँदा घरको पुरेतले दशगात्र विधि गर्ने चलन रहेको उनले बताए ।
धर्मशास्त्र अनुसार छेवर कर्म नगरी पिण्ड दान गर्नुहुँदैन भन्ने मान्यता रहे पनि आमाबुबा प्रतिको ममताका कारण उक्त कार्य हुनुलाई आफूले चाँही गलत भयो भन्न नसक्ने मूलअर्चक सिग्देलको प्रतिक्रिया छ ।































