कोशीको बगरमा गोलभेँडा खेती

0
1453

इनरुवा,

काम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ, सुनसरीको कोशी गाउँपालिका–३ का धर्मेन्द्र विश्वासले । रोजगारी नपाएर दैनिक रुपमा मोटो रकम खर्च गरेर विदेशतर्फ होमिएका युवालाई उहाँले उक्त लगानीमा स्वदेशमै रोजगारी गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ ।

उहाँले आफ्नै घर नजीक रहेको पाँच कट्ठा जग्गामा व्यावसायिक गोलभेँडा खेती गरेर अहिले उहाँ त्यस क्षेत्रका धेरै कृषक र वैदेशिक रोजगारीका लागि खाडीसहितका मुलुक जानेका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । गोलभेँडा खेती गरेर विश्वास अहिले कोशी गाउँपालिकाभित्रकै नमूना कृषकका रूपमा परिचितसमेत हुनुभएको छ । गाउँपालिकाले केही दिनअगाडि मात्र कृषक विश्वासलाई भारतको राजस्थान भन्ने ठाउँमा कृषक भ्रमणका लागि लगेको थियो ।

सोही क्रममा कृषक विश्वासले त्यहाँका किसानले गरेको गोलभेँडा खेती हेरेर फर्केपछि आफ्नै खाली रहेको पाँच कट्ठा जग्गालाई सदुपयोग गर्दै गोलभँेडा खेती गर्नुभयो । उहाँले चाई ताई सिट थाइल्यान्डको करण प्रजातिको गोलभँेडा खेती गर्नुभएको छ । विश्वासले एक कट्ठामा ५०० बिरुवा रोप्नुभएको छ भने पाँच कट्ठामा दुई हजार ५०० बिरुवा रोप्नुभएको छ । एउटा बोटमा २० देखि ३० किलोसम्म गोलभेँडा फल्ने गरेको उहाँले बताउनुभयो ।

गोलभँेडाबाट राम्रो आम्दानी हुन थालेको र खेतमा उत्पादित गोलभेँडाले बजारमा राम्रो ठाउँ पाएको उहाँले जानकारी दिनुभयो । पाँच कट्ठा गोलभँेडा खेती गर्नका लागि रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च लागेको उहाँले सुनाउनुभयो । अहिले गरेको गोलभेँडा खेतीबाट मात्र करीब रु सात लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । शुरुमा गरेको पाँच कट्ठामा राम्रो गोलभेँडा उत्पादन भएपछि अहिले थप पाँच कट्ठा जग्गामा गोलभेँडा खेती गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

खेतमा उत्पादन भएको गोलभँेडा इनरुवा र कोशी गाउँपालिका क्षेत्रमा लाग्ने हाट बजारमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । विसं २०६५ भदौ २ गते कोशीबाँध फुट्दा त्यो जग्गा मरुभूमिमा परिणत भएको थियो । जग्गा मरुभूमिमा परिणत भएको जग्गामा गोलभेँडा खेतीले राम्रो आम्दानी र उत्पादन दिन थालेपछि आफूलाई हर्षित बनाएको उहाँको भनाइ छ । कोसीले बालुवा ल्याएर थुपारेको जग्गामा केही उत्पादन नहुने सोचमा डुबेका विश्वास अहिले खुशीले गद्गद हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here