दुर्भावना हटोस्, ज्ञान प्राप्त होस्

0
1219

सम्पादकीय

आज बसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । विद्याकी देवी श्री सरस्वतीको विशेष पूजाआजा गरी ज्ञान, कला, सिप, शब्द, विज्ञान र विचार पाउँ भनेर कामना गर्ने दिन । वैदिक सनातनी परम्परामा भगवान श्रीकृष्णले वरदान दिएर सरस्वती पूजाको प्रारम्भ भएको विश्वास गरिन्छ । बिहान उठेर स्नानादि कर्म गरी सफा वस्त्र पहिरिएर कलश स्थापना गरी भगवान गणेश, विष्णु, शिव आदि देवताको अर्चनासहित देवी सरस्वतीको पूजा उपासना गर्ने गरिन्छ । खासगरी हाम्रा शिक्षालयहरु आजको दिन ध्वजापताका, तोरणले झिलिमिली बनाइन्छन् ।

विद्यार्थीहरु नयाँ लुगामा चोखोनितो भएर सबेरै विद्याकी देवीको उपासनामा लामबद्ध देखिन्छन् । बसन्त पञ्चमीलाई श्री पञ्चमी पनि भनिन्छ । कुनै पनि राम्रा काम गर्नका लागि यो दिन साइत हेर्नै नपर्ने मान्यता छ । त्यहीकारण यही दिनबाट आफ्ना साना छोराछोरीलाई अक्षारारम्भ गराउने, नाक, कान छेड्ने जस्ता कर्म पनि गर्ने गरिएको छ । विभिन्न विद्याका स्रष्टाहरुले सृजनाकी देवीका रुपमा स्वीकार गर्दै आ–आफ्ना सृजनाका औजारहरुको विशेष उपासना गर्ने दिन पनि आजै हो । विद्याकी अधिष्टात्री देवी सरस्वतीको कृपा हामी सबै साधकहरुलाई कृपादृष्टि रहोस्, सबैका मनका कलमष हटेर जाउन्, सृजनालाई उजिल्याउने प्रेरणा र सामथ्र्य प्राप्त भइरहोस् । अज्ञानताको अन्त्य भई सबैका हृदयमा सद्भाव, प्रेम, सहिष्णुता र बन्धुत्वको भावना जाग्रत होस्, यसका लागि देवीको स्नेहपूर्ण दृष्टि रहोस्, सबैमा शुभकामना ।

आजकै दिन अर्को महान र पवित्र पर्व पनि परेको छ । अर्थात् देश र जनताको स्वतन्त्रता र अधिकार प्राप्तिका निमित हाँसी–हाँसी मृत्यु स्वीकार गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठप्रति सम्मान प्रकट गर्ने दिन । राणाकालमा माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न किसिमले हत्या गरिएका वीर सपुतहरुको स्मृतिमा मनाइने शहीद सप्ताहभित्रको अन्तिम दिन शहीद दिवस भन्ने गरिएको छ । आफ्नो देश संस्कृति, अस्तित्वको संरक्षण र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने व्यक्ति नै अमर हुन्छन् । त्यही अमरत्व प्राप्त गर्ने प्रथम शहीद लखन थापा लगायतका बलिदानी महापुरुषहरुप्रति शिरनत गरी श्रद्ध प्रकट गरौं र उनीहरुको बलिदानलाई वर्तमानसँग तुलना गरौं ।

पछिल्लो समय र हामीकहाँ विभिन्न स्वार्थबस गरिएका कथित आन्दोलन र झिनामसिना घटनाक्रममा मारिएकाहरुलाई समेत शहीदको सूचीमा राखिएको छ । यसले देश र जनताको आमूल परिवर्तन, स्वतन्त्रता र नागरिक हक प्राप्तिका लागि मृत्युवरण गरेका महान आत्माहरुप्रति अन्याय भएको टिप्पणी भएका छन् । हाम्रा शहीदहरुको निस्वार्थ र निस्पृह बलिदान कतै कसैसँग तुलना नै हुन सक्दैन । तर, भइरहेको यथार्थ र शहीदहरुको त्याग र समर्पणका कथा भावीपुस्तसम्म सञ्चार गर्न हाम्रा अगुवाहरु चुकिरहेका छन् । यसले वीरगति प्राप्त गर्ने महान आत्माको अवमूल्यन हुन सक्छ । यसतर्फ जिम्मेवार बोक्छौं भन्नेहरु सुदीर्घ दृष्टि पुगोस् । दुई अलग–लगत महत्वको यो दिनले सबैमा प्रेम, आत्मीयता बढाओस्, ज्ञानरुपी सद्भाव र उदारता पलाओस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here