दलहरुको ज्ञापनपछि नगरपालिकाको धारणा सार्वजनिक

0
514

काँकरभिट्टा ।

केहीदिनअघि मेचीनगरका तीनवटा राजनीतिक दलले मेचीनगर नगरपालिकामा बुझाएको २१ बुँदे ज्ञापन पत्रप्रति नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । विहीबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले नेपाली काँग्रेस, राप्रपा तथा समाजवादी पार्टीले मंगलबार यसअघि नेकपाले बुझाएको ज्ञापन पत्रप्रति नगरपालिकाको ध्यानाकर्षण भएको र त्यसलाई नगरपालिकाले सकरात्मकरुपमा लिएको बताउनुभयो ।

उहाँले दलहरुले आफ्ना मागसहित बुझाएको ज्ञापन पत्रमा भनिए जस्तै सवै काम नभएको भन्नेमा सत्यता नभएको प्रष्ट पादैं अहिले धेरै विकास निर्माणका काम सम्पन्न भएको, कति निर्माणधिन अवस्थामा रहेको, कति निर्माणको प्रक्रियामा रहेको तथा धेरैको डीपीआर तयार भएर निर्माण शुरुको तयारीमा रहेको बताउनुभयो ।

नगरपालिका एउटा कार्यान्वयन गराउने तह मात्र भएकाले संघीय तथा प्रदेश सरकारले निर्माण गरेका ऐन कानुनलाई आत्मसाथ गदैं अघि बढेको भन्दैं नगर प्रमुख आचार्यले नदी तथा नदीजन्य वस्तुको उत्खनन र ठेक्कामा नगरपालिकाको कुनै एकलौटी निर्णय नभएको बताउनुभयो । उहाँले स्थानीय सरकार कानुनको कार्यान्वयनको पक्षमा रहेको र त्यसलाई पालना गदैं कार्यान्वयनका लागि अघि बढेको बताउनुभयो ।

यसमा उठेको समस्याका बारेमा ठेकदारसँग समन्वय गरेर नगरवासीलाई राहत दिने गरी छलफल गर्ने, विचौलियाका कारण जनता मारमा परेको भए त्यसलार्इ पहिचान गरेर स्थानीयवासीको मागलाई सम्बोधन गर्ने नगरप्रमुख आचार्यले बताउनुभयो ।

दलहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरेको नेपाल चिया विकास निगमबाट कर वापतको करोडौं नगरपालिकाले उठाउन नसकेको भन्ने विषयमा प्रष्ट पादैं नगरप्रमुख आचार्यले कर असुलीका लागि नगरपालिकाले पटक पटक ताकेता गरेको र कानुनी उपचारका लागि मन्त्रालय समेत पुगेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले भूमिको स्वामित्व नेपाल सरकारको भएका कारण कर लिन नमिल्ने अर्थमन्त्रालयको भनाई अनुसार कर नलिएको तथा कानुनी परामर्श सहित नियम अनुसार असुल गर्न नगरपालिका सक्रिय रहेको प्रष्ट पार्नुभयो ।

दलहरुले उठाएको गौरवका योजनाका मागप्रति नगरप्रमुख आचार्यले गौरवका योजनाहरु पटक पटक परिवर्तन नभएको तर, बैकल्पिक जग्गा खोजी गर्दा केही ढिला भएको जानकारी दिनुभयो । लालपानीमा निर्माण गर्ने भनिएको साइन्स सिटी र समयमै जग्गा व्यवस्थित गर्न नसक्दा फोहोर मैला व्यवस्थापनमा समस्या आएको उहाँले बताउनुभयो ।

गौरवका योजनाका रुपमा रहेका नगरका विभिन्न बाटाघाटाहरु ठेक्का लागेर निर्माणको चरणमा रहेको, गोकुलमार्गको करिव १५ किलोमिटर ठेक्काका लागि सर्भे भएको, नगरको १४ नम्बर वडामा कृषि केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ बजेट प्राप्त भई डीपीआर भइसकेको, ८ नम्बर वडामा महिला सीप विकास केन्द्र ठेक्का लागेको, ६ नम्बर वडामा रहेको काँकरभिट्टा खेलमैदानको डीपीआर भएको उहाँले प्रष्ट पार्नुभयो ।

मेचीनगर नगरपालिकामा समायोजन भएका गाविसहरुमा समायोजन पूर्व निर्माण भइसकेका घरहरुलाई नयाँ नक्सा बनाई तिनीहरुबाट नक्सा पास शुल्क असुल भइरहेकोमा सो शुल्कलाई यथाशीघ्र निश्चित समयका लागि निःशुल्क नक्सा पास गर्नुपर्नेलगायतका माग ज्ञापन पत्रमा समेटिरहदा नगरप्रमुख आचार्यले अहिले सरकारको नीति नै हरेक स्थानीय तहले अनिवार्य नक्शा पास गराएर मात्र घर निर्माण गर्नुपर्ने भएको हुदा नगरपालिकाले सामान्य दस्तुर लिएको र आर्थिक अभावका कारण कसैले गर्न नसकेकै भए यसप्रति विचार हुने बताउनुभयो । नगरवासीका सजिलोका लागि अनलाईन सिस्टम गरिएको उहाँको भनाई थियो ।

नगरवासीहरुले नगरक्षेत्र भित्र आफ्नो निजी तथा सार्वजनिक निर्माणका कार्यहरुमा प्रयोग गर्ने गरिएको नदीजन्य पदार्थहरुमा हाल लगाउदै आइरहेको करको दर घटाई कर समायोजन प्रक्रिया यथाशीघ्र लागु गर्नुपर्ने विषयमा अध्ययन गरी वैज्ञानिक कर निर्धारण गर्ने आवश्यकता भए पुन मुल्याङ्कन गर्ने धारणा सार्वजनिक गर्नुभयो । नगरपालिकाक्षेत्र भित्र भएका मेची, निन्दा, हडिया तथा टिमाई खोलाका १९ वटा क्षेत्रबाट ठेक्का लगाउदा मेचीनगर नगरपालिका तथा ठेकेदार बीच भएको सम्झौता अनुसार नदीजन्य पदार्थको उत्खनन गर्ने कार्य भए नभएको हेर्न तथा लगत राख्न अनुगमन समिति बनाएको र निरन्तर अनुगमन भइरहेको नगरप्रमुख आचार्यको भनाई थियो ।

नगरक्षेत्र भित्र सञ्चालित टेम्पो, सिटी सफारी जस्ता तीन चक्के यातायातका साधनहरुको उचित भाडा दर तथा पार्किङ्गको ब्यवस्थापन गर्न भनि दलले उठाएको मागप्रति नगरपालिकाले अहिले यातायातसँग सम्बन्धित संघ संस्थालाई जिम्मा दिएपनि अब मेचीपुलको निर्माण कार्य सम्पन्न भएपछि नगरपालिकाले भाडादर तथा उचित पार्किङ्गको व्यवस्थापन गर्ने धारणा सार्वजनिक गरेको छ ।

मेचीनगरका बाहुनडाँगी, मागुरमाडी लगायतका क्षेत्रहरुमा स्थानीय जनता सञ्चार सुविधाबाट बञ्चित अवस्थामा रहेकाले ती क्षेत्रहरुको पहिचान गरी नगरपालिकाले धमाधम टावर निर्माण गरिरहेको नगरप्रमुख आचार्यको भनाई छ । बाहुनडाँगी , भृकुटीलगायतका क्षेत्रमा अहिले टावर निर्माण भइरहेको उहाँको भनाई थियो । यसैवर्षको अन्त्यसम्ममा धेरै काम हुने उहाँले विश्वास दिलाउनुभयो ।

मेचीनगर नगरक्षेत्र भित्र रहेका, कुलो, पैनी तथा बगान क्षेत्रका ऐलानीप्रति जग्गाहरुको संरक्षणमा नगरपालिका जुटेको उहाँको भनाई छ । ब्यक्तिगत नाममा दर्तागरि भइरहेको अतिक्रमण रोक्न तथा संरक्षणमा नगरपालिका जुटेको उहाँको भनाई छ । मेचीनगर नगरपालिका वडा नं. ६ अन्तर्गत काँकरभिटा क्षेत्रमा रहेका सार्वजनिक महत्वका जग्गाहरु हाल राष्ट्रिय आवस कम्पनीको नाममा दर्ता कायम रहेको हुंदा संरक्षणमा समस्या भएको उहाँले जानकारी दिनुभयो । उक्त जग्गा मेचीनगर नगरपालिकाको नाममा ल्याउन समेत नगरले मन्त्रालयदेखि राष्ट्रिय आवस कम्पनीको ढोकासम्म पुगेको र अब यसैसाताभित्र कम्पनिका जीएमहरु झापा आउने बताउनुभयो ।

मेचीनगर नगरपालिकाको अत्यन्तै ठुलो लगानी र बैक्लपिक बसपार्कको रुपमा निर्माण भएको मेचीनगर ७ मा अवस्थित प्यारीभिट्टाको बसपार्कलाई फागुनमहिनादेखि ब्यवस्थित रुपमा सञ्चालनमा ल्याउने नगरवासीलाई स्वास्थ्यको पहुँचसम्म सजिलै पुर्याउन धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तोरन्नती गर्ने, फागुनको अन्त्यसम्म १५ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने उहाँको भनाई थियो । हाल ५ वटा वडामा धमाधम भवन निर्माण भईरहेको उहाँले जानकारी दिनुभयो ।

जंगली हात्तीको दीर्घकालिन समाधानका लागि बाहुनडाँगीक्षेत्रमा लगाईएको फेन्सिङ तारवारको मर्मत तथा सम्भार गरिएको, १५ लाख रुपैयाँको योजनामा चुस्तदुरुस्त काम भएको तथा पछिल्लो समय मेचीनगरका ९, ११, १२, १३,१४, १५ वडा जंगली हात्तीको चपेटामा परेका कारण यसको दीर्घकालिन समाधानका लागि यसैवर्षदेखि फेन्सिङ तारवारकालागि सर्भे भएको र यसैवर्षदेखि काम शुरु हुने बताउनुभयो ।

नगरवासीलाई शुद्ध सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन स्थानीय सरकारले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर अहिले नगरका विभिन्न ठाउँमा खानेपानीका योजनाहरु सञ्चालनमा रहेका कति सहलगानीको तयारीमा रहेको नगरप्रमुख आचार्यले बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले न्यायिक समितिले नगरमा आउने विभिन्न खाले मुद्धाहरु छिटो छरितोरुपमा किनारा लगाउने गरिएको नगरवासीलाई सहजहोस भन्ने उद्धेश्यले प्रत्येक वडामा मेलमिलाप समिति गठन गरिएको जानकारी दिनुभयो । अहिले नगरपालिकामा अल्पमत र बहुमत भन्ने कुनै विषय नभएको बताउनुभयो । हरेक जनप्रतिनिधिहरु एक आपसमा समन्वय र छलफल गरेर नगरलाई समृद्ध र नगरवासीका माग र चाहानालाई कसरी सम्बोधन गर्न सकिन्छ त्यसतर्फ लागेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here