बिपन्नका लागि बाख्रा पकेट

0
694

अर्जुनधारा।

नगरकै दुर्गम र विपन्न समुदायहरुको बसोबास रहेको झापाको अर्जुनधारा–३स्थित भित्रीगाँउमा अर्जुनधारा नगरपालिकाले चालू आर्थिक वर्ष ०७६÷०७७ बाट बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

व्यावसायिक बाख्रा पालनको माध्यमबाट उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखामार्फत् कार्यक्रम सञ्चालन हुने नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् ।

शाखा प्रमुख पदमलाल राईका अनुसार सोही कार्यक्रम अन्तर्गत गत माघ ८ गते वडाध्यक्ष जीवकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न बाख्रापालक कृषकहरुको भेलाले अनुपा मग्रातीको अध्यक्षतामा नौ सदस्यीय भित्रीगाउँ नयाँ बाख्रापालक कृषक समूह गठन गरेकोे थियो । २० घरधुरीलाई लक्षित गरी शुरु गरिएको कार्यक्रमबाट २८ घरधुरीका बाख्रापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न नगरपालिकाबाट ११ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

कार्यक्रम अन्तर्गत शाखाले समूहलाई बाख्रा पालन सम्बन्धी तालिम, खोर निर्माण र घाँसको वीऊ वितरण, न्यूनतम् ३देखि ४ वटा बाख्रा वितरण, जुका नाम्लेको औषधि तथा पीपीआर रोगविरुद्धको खोप वितरण, पोषण तत्व वितरण, अन्तरक्रियासँगै अनुगमन तथा मूल्याङ्कनलगायत सञ्चालन गरिने बताइएको छ ।

यसैबीच कार्यक्रमको पहिलो चरणमा शुक्रबार आयोजित तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रमुख आचार्यले उक्त कार्यक्रम सफल भएको खण्डमा वडाभरि विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले भनिन्– ‘हामीले लगानी गरेका छौं, यसबाट आय–आर्जन गर्न तपाईंहरु उत्साहजनक रुपमा सहभागी हुनुहोस् ।’

त्यसैगरी नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक दिलमाया दासले व्यावसायिक कृषि र पशुपालनको माध्यमबाट आर्थिक समृद्धि सम्भव हुने हुँदा गर्छु भनेर लाग्नुपर्ने बताइन् । समूहकी अध्यक्ष मग्रातीको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहका सचिव कृष्ण न्यौपानेले सहभागी सदस्यहरुको लागि आयोजित उक्त तालिम फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here