पहिलो महिनामै बढे विदेशी

0
344

लक्ष्मी उप्रेती / काँकरभिट्टा।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०को पहिलो महिनामा पूर्वीनाका भएर नेपाल घुम्न आउने विदेशीको संख्यामा वृद्घि भएको छ ।

अघिल्लो वर्ष सन् २०१९को पहिलो जनवरी महिनाको तुलनामा चालू वर्ष सन् २०२०को जनवरीमा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्घि भएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको हो ।

कार्यालय प्रमुख जनक कोइरालाका अनुसार चालू वर्ष सन् २०२०को जनवरीमा काँकरभिट्टा नाका भएर एक हजार ३ सय ६३ जना पर्यटकले नेपाल प्रवेश गरेका छन् । जुन संख्या अघिल्लो वर्ष सन् २०१९ को पहिलो जनवरी महिनाको तुलनामा ३ सय ६७ जनाले बढी हो । त्यो वर्ष पूर्वीनाका भएर ९ सय ९६ जना बिदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

यसैगरी यो नाका भएर विदेशिनेको संख्यामा समेत वृद्घि भएको छ । सन् २०१९को पहिलो जनवरी महिनामा १ हजार २ सय ७४ जना तथा सन् २०२० को जनवरीमा १ हजार २ सय ९६ जना पूर्वी नाका भएर विदेश घुम्न गएका छन् । विदेशिनेको संख्या २२ जनाले बढेको हो । यसले भ्रमण वर्ष सफल हुने संकेत देखाएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

विदेशीले काठमाडौ, पोखरा, चितवन गोर्खा, मनकामना लगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने गरेका छन् भने लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा भने केही कम भएको कार्यालयले जनाएको छ ।

निजी तथा सरकारी स्तरबाट प्रचारप्रसार तथा हरेक क्षेत्रलाई पर्यटनमैत्री बनाएका कारण पनि अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा नेपाल घुम्न आउने र काँकरभिट्टा नाका भएर अन्य देश घुम्न जाने पर्यटकको संख्यामा वृद्घि भएको अनुमान कार्यालयको छ । अहिले दैनिक ४५ देखि ५० जनासम्म पर्यटक यो नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई भव्यरुपमा मनाउन २०७४ साउन २९ गते घोषणा गरेको थियो । घोषणा गरे लगत्तै संघीय, प्रदेश र स्थानीय सरकार प्रचारप्रसारलाई व्यापकता प्रदान गर्न लागेका थिए ।

सरकारले १ सय गन्तव्यस्थलको छनौट गरेर पर्यटकीय गन्तव्यस्थलको समुचित विकास गर्दै सरकारी तथा निजी क्षेत्र पर्यटक निम्ताका लागि विभिन्न स्थानमा पुगेका थिए । १ नम्बर प्रदेश सरकारले नौ जनालाई पर्यटन सद्भावना दूत समेत नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here