साङ्केतिक भाषा जानेका कर्मचारी

0
936

दमक।

झापाको दमक नगरपालिकासहित जनसम्पर्क अधिक हुने सवै कार्यालयहरुमा अपाङ्गता भएका सेवाग्राहीहरुलाइ लक्षित गरेर साङ्केतिक भाषा जानेका कर्मचारीहरुको ब्यवस्थापन गरिएको छ । यहाँका सबै कार्यालयहरुमा साङ्केतिक भाषा जान्ने कर्मचारीहरु उपलब्ध हुने बताइएको छ ।

दमक नगरपालिका स्थानीय अपाङ्गता समन्वय समितिको निर्णय बमोजिम दमक नगरपालिकाले इलाका प्रशासन कार्यालय, नगरपालिकाभित्रका १०वटै वडा कार्यालयका सचिव र कर्मचारी, ट्राफिक प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रशासन कार्यालय दमक, सरकारी दमक अस्पतालमा बोल्न नसक्ने अपाङ्गता भएकाहरुले पनि सहज सेवा पाउनेछन् ।

दमक नगरपालिकाका उपप्रमुख तथा स्थानीय अपाङ्गता समन्वय समितिकी संयोजक गीता अधिकारीका अनुसार नगरपालिकासहित वडा कार्यालय र जनसम्पर्क हुने अन्य कार्यालयका एक÷एकजना कर्मचारीहरुलाइ बिज्ञद्वारा पहिलो चरणमा तीनमहिना भन्दा लामो समयसम्म साङ्केतिक भाषा सिकाइएको छ ।

अहिले यहाँ सिक्नु भएका २५ जनाभन्दा बढी कर्मचारीहरुले साङ्केतिक भाषा बुझ्न र प्रस्तुत गर्न सक्ने हुनु भएको छ– अधिकारीले भनिन् । यसरी आफ्नो पालिकाभित्र साङ्केतिक भाषाको तालिम दिएर सबै कार्यालयमा साङ्केतिक भाषा जानेका कर्मचारी ब्यवस्था गर्ने सम्भवतः दमक नगरपालिका नै नेपालमा पहिलो हुनुपर्छ– अधिकारीले भनिन् ।

उनका अनुसार साङ्केतिक भाषाको माध्यमबाट सेवा पाएका सेवाग्राहीको बिषयमा अभिलेख राख्न समेत सम्बन्धित भाषा सिकेका कर्मचारीलाई निर्देशन दिइएको छ । प्रहरी कार्यालयमा पनि साङ्केतिक भाषा नबुझेका कारण धेरै समस्या हुने गरेको आफूलाई बारम्बार कुरा आउने गरेकाले प्रहरीलाई पनि साङ्केतिक भाषाको तालिममा सहभागी गराएको बताइएको छ ।

दमक अपाङ्ग सहयोग समितिका सचिव तथा स्थानीय समन्वय समिति सदस्य मदनकुमार बोहोराले स्थानीय सरकारले अपाङ्गता भएकाहरुका लागि चालेको यो कदम महत्वपूर्ण भएको बताए । कतिपय अवस्थामा साङ्केतिक भाषा नबुझेका कारण नै अपाङ्गता भएकाहरुको भनाइ बुझ्न नसक्ने अवस्था दमकमा अन्त्य भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here