दश महिनादेखि पढाइ ठप्प

0
470

दिलकुमार लिम्बू  / ताप्लेजुङ।

मानवको अनिवार्य आवश्यकता गाँस, बास, कपासपछि शिक्षा हो, त्यसैले राज्यले ठूलो लगानी गरिरहेको पनि छ – शिक्षा क्षेत्रमा । शिक्षाले प्रत्येक प्राणीको चेतनाको विकास गर्दछ । जब चेतनाको विकास हुन सक्दैन तबसम्म देश समृद्ध हुन सक्दैन ।

तर, शिक्षा प्राप्त गर्ने र प्रदान गर्ने सुनौलो अवसरमा चुनौति खडा भएको प्रशस्त उदारहण पनि छन् । यस्तै अवस्था सिर्जना भएको छ, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५ हेल्लोकस्थित पार्वती माध्यमिक विद्यालयमा । सो विद्यालयमा दश महिनादेखि विज्ञान र गणित विषयका शिक्षक नहँुदा पठन– पाठन ठप्प भएको छ ।

वार्षिक परीक्षा आउन दुई महिना मात्र बाकी रहँदा महत्वपूर्ण विषय विज्ञान र गणितको पढाइ हुन नसक्दा सो विद्यालयमा अध्ययनरत् विद्यार्थी प्रभावित भएका छन् । हाल कक्षा ९सम्म अध्ययन हँुदै आएको सो विद्यालयमा शैक्षिक सत्रको शुरुदेखि नै अर्थात् बैशाखदेखि दरवन्दी अनुसारको विषय शिक्षक नआउँदा पढाइ ठप्प भएको पार्वती माविका प्रधानाध्यापक कमल हेल्लोकले बताए ।

शिक्षा सेवा आयोगले लिएको परीक्षामा असफल भएपछि त्यहाँ कार्यरत् विषय शिक्षकले विद्यालय छाडे पछि विज्ञान र गणित विषयको पढाइ ठप्प भएको प्रधानाध्यापक हेल्लोकले बताए । गणित र विज्ञान विषयका शिक्षक रामभजु चौधरीले गत चैतमा विद्यालय छोडेर गएपछि रिक्त हुन गएको दरन्दीमा पदपूर्तिका लागि शिक्षा सेवा आयोगले नारायण पौडेललाई पठाएको थियो ।

ताप्लेजुङमा सिफारिस भएर आएका शिक्षक पौडेललाई फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा अवस्थित पार्वती माविमा पदस्थापन गरे पनि विद्यालय हाजिर हुन नआएपछि विद्यालयको पढाइमा समस्या भएको प्रधानाध्यापक हेल्लोकले बताए । वार्षिक परीक्षा आउँन लाग्दा समेत रिक्त दरबन्दी पूर्ति हुन नसक्दा बिद्यार्थीहरुको भविष्य नै जोखिममा परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार हेल्लोकले बताए ।

पार्वती मावि विद्यालयका लागि बिज्ञान र गणित विषयका शिक्षक नारायण पौडेलपछि वैकल्पिक योग्यता रहेको शिक्षक ध्रुवराज कार्कीलाई सो रित दरबन्दीमा पठाए पनि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले पार्वती विद्यालयमा नपठाई आठराई त्रिवेणीको निघुरादिनमा रहेको परमसिंह माविमा पदस्थापन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेल्लोकले बताए । परमसिंह माविमा नेपाली विषय दरवन्दीलाई लुकाएर विज्ञान विषयको शिक्षक लगेको हेल्लाकको दाबी रहेको छ ।

पार्वती माविले यस विषयमा प्रेस विज्ञप्ति समेत जारी गरेको छ । वैकल्पिक योग्यतामा रहेको शिक्षक कार्कीलाई पार्वती माविमै पदस्थापना गर्नुपर्नेमा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले षड्यन्त्र गरी परमसिंह माविमा पदस्थापन गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परमसिंह माविमा नेपाली विषयको दरबन्दी रिक्त रहेको तर नेपाली विषय नभइ विज्ञान विषयको दरबन्दी रिक्त रहेको विवरण पेश गरी शिक्षक कार्कीलाई परमसिंह माविमा पदस्थापन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बिज्ञान र गणित विषयको शिक्षक तत्काल पदस्थापन गर्न शिक्षा विकास तथा समन्वय इकाइसंग माग गरिएको छ । पार्वती माविको लागि खटाएको शिक्षक कार्कीलाई वा सम्बन्धित विषयको शिक्षक तत्काल पठाई दिन विज्ञप्तिमा माग गरिएको छ ।

यदि विषय शिक्षक नपठाए विद्यालय बन्द गरी शिक्षक र अभिभावक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसहित प्रेस विज्ञप्तिमार्फत समन्वय इकाइको ध्यानाकर्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here