नेपाली नागरिकको उद्धार गर्न विशेष विमान चीन पठाइने

0
565

झापा।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको हुबाबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ । शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबाबेमा रहेका नेपालीहरूको उद्धार गर्न इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन भनेको छ । यसअघि त्यस क्षेत्रमा रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए ।

नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ । चीनबाट फैलिएको नयाँ कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ घोषणा गरेको छ ।

चीनमा ११ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ । चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा संक्रमण भएको विवरण प्राप्त भएको छ ।

दूतावासले हुबाबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले निर्णय गरेको सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि एउटा विशेष चार्टर्ड विमानको व्यवस्था गरिने र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने सूचनामा उल्लेख छ । उद्धारका लागि हुबाबे प्रान्तमा रहेका इच्छुक नेपाली नागरिकले दूतावासले जारी गरेको सूचनामा भनिए बमोजिम फर्म भरेर दभष्वष्लन२लभउबझिदबककथ।यचन।अल मा पठाउनुपर्नेछ ।

विमानस्थलमा उडानपूर्व गरिने स्वास्थ्यजाँचको नतिजामा बाहेक यदि यो आवश्यकता पूरा गर्न नसकेमा आवेदकले कानून बमोजिम कारबाही भोग्नुपर्ने दूतावासले जनाएको छ । नेपाल फर्किन चाहनेहरूको आवेदनका आधारमा विशेष उडानको विवरण तय गरिने सूचनामा उल्लेख छ । दूतावासले यो सूचनाका कारण कुनै अन्योल सिर्जना नहोस् भनेर ह्वीच्याट ग्रुपमा नफैलाउन अनुरोध गरेको छ । उद्धारका लागि नेपाल वायुसेवा निगमको विशेष जहाज प्रयोग गरिने बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बताए ।

उनका अनुसार हुबाबेको वुहानमा सबैभन्दा धेरै नेपालीहरू रहेका छन् भने त्यहाँबाट केही टाढाका अरू शहरमा पनि नेपालीहरू रहेको पाइएको छ । सबैलाई भेला गरेर नेपाल पठाउनका लागि छिटोमा तीन दिन र ढिलोमा पाँचदेखि सात दिन लाग्न सक्छ– उनले बीबीसीसँग भने । लम्सालका अनुसार हुबाबेमा रहेका १८८ जना विद्यार्थी र श्रम स्वीकृति लिएर कामदार भिसामा रहेका १० जना गरी कूल १९८ जना नेपालीहरू दूतावासको सम्पर्कमा आएका छन् ।

लम्सालले भने, उहाँहरूलाई हामीले आइतवार बिहान ९ बजेसम्मको समय दिएर फर्म भर्न भनेका छौँ, कति जनाले नेपाल जान इच्छा गर्नुहुन्छ, त्यसैका आधारमा कहिले जहाज आउने भन्ने तय हुन्छ । वुहानमा रहेका नेपाली विद्यार्थीहरूले पनि सरकारको पछिल्लो कदमले आफूहरूको आशा बढाएको प्रतिक्रिया दिएको वीवीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here