नगरको सहयोगमा सहाराले ग¥र्यो गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य जाँच

0
551

बिर्तामोड

पछिल्लो समय स्वास्थ्य र शिक्षाका लागि बिर्तामोड ‘हब’ जस्तै बनेको छ । बिर्तामोड नगरपालिकाभित्र तीन दर्जनभन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा छन् । सञ्चालित स्वास्थ्य संस्थामध्ये केही ठूला र सुविधासम्पन्न अस्पताल छन् ।

सञ्चालित अस्पतालमध्ये पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सरको विशेष उपचार हुन थालेको छ । यहाँ सञ्चालित सबै ठूला अस्पतालमा महिलाहरुको सबै खाले समस्याको उपचार हुने गरेको छ । तर, पनि शहर केन्द्रीत महिलाहरु नै आफ्नो स्वास्थ्यमा सम्वेदनशील नहुँदा क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बन्ने गरेको पाइएको छ ।

समयमै सचेतना अपनाउँदा पाठेघर र स्तन क्यान्सरबाट बच्न सकिन्छ तर, चेतना अभावकै कारण धेरै महिलाहरु पाठेघर र स्तन क्यान्सरबाट पीडित बन्ने गरेका छन्– पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालकी महिला रोग विशेषज्ञ लता श्रेष्ठले बताइन् ।
बिर्तामोड–३मा रहेको अनारमनी स्वास्थ्य चौकीमा शनिवार भएको महिलाहरुको निःशुल्क पाठेघर र स्तनमा हुने क्यान्सरको जाँच शिविरमा स्वास्थ्य परीक्षण गर्दै डा. श्रेष्ठले महिलाहरुलाई स्वास्थ्यमा संवेदनशील हुन आग्रह गरिन् ।

उनले भनिन्– महिलाहरुमा बढी क्यान्सर हुने भनेकै पाठेघर र स्तनमा हो त्यसैले समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराइरहनु पर्छ । शुरुमा नै रोग पत्ता लागेको खण्डमा सहजै उपचार गर्न सकिन्छ तर, रोग लागेर अन्तिम चरणमा पुगेको छ भने उपचार गरे पनि रोग निको पार्न मुस्किल हुन्छ । बिर्तामोड नगरपालिकासंग सहकार्य गर्दै सहारा नेपाल (साकोस) बिर्तामोड र बिराटपोखर महिला समूहको संयुक्त आयोजनामा विपन्न समुदायका महिलाहरुलाई लक्षित गर्दै शिविरको आयोजना गरिएको थियो ।

शिविरमा पूर्णटुङ्ग बिर्तासिटी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग रहेको सहारा नेपालका जीवन वरदान कार्यक्रम संयोजक भक्तबहादुर खड्काले बताए । उनले भने– अझै पनि आर्थिक अभाव र अज्ञानताका कारण बिर्तामोड आसपासमा बसोवास गर्ने महिलाहरु रोग लुकाएर बस्न बाध्य छन्, उनीहरुलाई लक्षित गर्दै नगरपालिकाको सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको अयोजना गर्दै औषधि उपचार समेत निःशुल्क गर्दै आएका छौं । नगरपालिकासंगको सहकार्यमा बिर्तामोडका आठ स्थानमा निःशुल्क स्वास्थ्य शिविर गर्दै महिलाहरुमा देखा पर्ने पाठेघर र स्तनको क्यान्सरको परीक्षण गर्दै औषधि उपचार गरिने छ– कार्यक्रम संयोजक खड्काले भने ।

यस अघि पनि सहारा नेपाल साकोसले विभिन्न स्थानमा महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै क्यान्सरको लक्षण देखा परेका र क्यान्सरका १०५ जना रोगीको औषधि उपचार गरेको छ । शनिवार भएको शिविरमा पनि तीन जना महिलामा क्यान्सरको शल्यक्रिया गर्नुपर्ने भेटिएको र तीन जनामा लक्षण देखा परेको सहारा नेपालकी स्वास्थ्य शाखामा कार्यरत कर्मचारी सुशीला बोहोराले बताइन् । क्यान्सरको लक्षण देखा परेका महिलाहरुलाई सजगता अपनाउन चिकित्सकले आग्रह गरेको र थप उपचारका लागि सम्पर्कमा रहन आग्रह गरेको वोहोराले बताइन् ।

शिविरमा आएका महिलाहरुलाई क्यान्सरको जाँचका लागि नेपाल परिवार नियोजन संघले भीआईए परीक्षण गरेको थियो भने चिकित्सकले स्क्रयानिङ्ग गर्दै क्यान्सरको परीक्षण गरेका थिए । क्यान्सरको लक्षण देखिएका र क्यान्सरको रोगीहरुका लागि बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइने बताइएको छ ।

शिविरको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए । बिर्तामोड नगरपालिका वडा नम्बर ३का अध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा अनारमनी स्वास्थ्य चौकीका प्रमुख लीला पौडेलले स्वागत गरेका थिए । । शिविरमा डा. श्रेष्ठसहित नेपाल परिवार नियोजन संघकातर्फबाट कल्पना उप्रेती र सविना सुव्वाले महिलाहरुको स्वास्थ परीक्षण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here